प्रत्यक्षतर्फ ५ सिटसहित पहिलो बनेको कांग्रेसले समानुपातिकमा पनि उक्त स्थान कायम गरेको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार कांग्रेसले १ लाख ४१ हजार २ सय ३३ मत प्राप्त गरेको छ ।
सुर्खेत — प्रतिनिधिसभा सदस्य निर्वाचनमा कर्णालीमा प्रत्यक्षतर्फ ५ सिटसहित पहिलो बनेको कांग्रेसले समानुपातिकमा पनि उक्त स्थान कायम गरेको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार कांग्रेसले १ लाख ४१ हजार २ सय ३३ मत प्राप्त गरेको छ ।
त्यस्तै प्रत्यक्षतर्फ एक स्थानमा विजयी भएको रास्वपा समानुपातिकतर्फ १ लाख ३३ हजार ७ सय ४० मतसहित दोस्रो भएको छ ।
कार्यालयका अनुसार एमालेले एक लाख २० हजार ८ सय ६३, नेकपाले एक लाख ७ हजार १ सय १ र राप्रपाले १५ हजार ७ सय ५५ मत पाएको छ । त्यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीले ८ हजार ५ सय ३७, नेपाल मजदुर किसान पार्टीले ५ हजार १ सय ३० र श्रम संस्कृति पार्टीले ४ हजार ६ सय ७५ मत प्राप्त गरेको छ ।
कांग्रेसले सबैभन्दा बढी सुर्खेतमा ३७ हजार ७ सय ४३ र सबैभन्दा कम डोल्पामा २ हजार ५ सय ९५ मत प्राप्त गरेको छ । त्यस्तै रास्वपाले सबैभन्दा बढी मत सुर्खेतमा ५४ हजार २ सय २६ र सबैभन्दा कम हुम्लामा २ हजार ३५ मत प्राप्त गरेको छ । कांग्रेसले प्रत्यक्षतर्फ दैलेख–१, सुर्खेत–२, जाजरकोट, हुम्ला र मुगुमा जीत हात पारेको थियो भने रास्वपा सुर्खेत–२ मा विजयी भएको थियो ।
एमालेले सबैभन्दा बढी सुर्खेतमा २८ हजार ९ सय १४ र सबैभन्दा कम डोल्पामा ४ हजार ९ सय ४४ मत प्राप्त गरेको छ भने नेकपाले सल्यानमा सबैभन्दा बढी २० हजार ३ सय ३९ र कम मुगुमा ४ हजार ६ सय ५० मत प्राप्त गरेको छ । एमालेले दैलेख–२ मा जित निकालेको थियो भने नेकपा सल्यान, कालीकोट, रुकुम पश्चिम र डोल्पामा प्रत्यक्षतर्फ विजयी भएको थियो । कर्णालीमा समानुपातिकतर्फ ५ लाख ७७ हजार ६ सय १ मत खसेको थियो । जसमध्ये ४३ हजार ५ सय १ मत बदर भएको थियो ।
