सञ्चारकर्मी हुँदै सांसद : पार्टीले खटाएको क्षेत्रमा गए, एमाले सचिवलाई हराए

एमाले नेता-कार्यकर्ताले 'टुरिस्ट उम्मेदवार'को आरोप लगाउँदा उनी भन्थे- 'म टुरिस्ट उम्मेदवार होइन । भक्तपुरका जनताको पक्षमा काम गर्न आएको हुँ ।'

फाल्गुन २८, २०८२

कान्तिपुर संवाददाता

Mediaperson turned MP: Went to the area assigned by the party, defeated UML secretary

What you should know

काठमाडौँ — टीभीमा सञ्चारकर्म गर्दै आएका राजीव खत्रीलाई जेन-जी आन्दोलनपछि राजनीतिमा होमिन मन लाग्यो । उनलाई सहज पार्टी थियो, राष्ट्रिय स्वतन्त्र पार्टी । रास्वपाका नेताहरूसँगको निकटता र रास्वपा सभापति रवि लामिछानेसँग न्यूज २४ मा हुँदा काम गरेका खत्रीलाई उक्त पार्टी नै सहज लागेको थियो ।

राजीवले निर्वाचन क्षेत्र भने हाल बसोबास गर्दै आएको काठमाडौं-१० रोजेका थिए । तर पार्टीले भने भक्तपुर-२ पठायो । काठमाडौं- १० मा प्रदिप विष्टले टिकट पाए । त्यहाँ पनि रास्वपाले जित्यो र भक्तपुर-२ पनि । 

भक्तपुर- २ राजीवका लागि सहज भने थिएन । कारण, त्यहाँ एमालेका सचिव महेश बस्नेत प्रतिस्पर्धामा थिए । तर, मतपरिणाम भने राजीवको पक्षमा आयो । एमाले अध्यक्ष केपी शर्मा ओलीको नजिक मानिएका नेता बस्नेतलाई भारी मतान्तरले पराजित गर्दै सञ्चारकर्मी छोडेर राजनीतिमा लागेका खत्री अब प्रतिनिधिसभामा सांसद निर्वाचित भएका छन् ।

बस्नेतले १० हजार ९९६ मत ल्याउँदा खत्रीले भने ४२ हजार ३३४ मत प्राप्त गर्दै विजयी भए । यो निर्वाचन क्षेत्रलाई 'बस्नेतको किल्ला' मानिँदै आएको थियो । जहाँ खत्रीले बस्नेतलाई ३१ हजार ३३८ को मतान्तरले पराजित गरे ।

Mediaperson turned MP: Went to the area assigned by the party, defeated UML secretary

जेन-जी आन्दोलनपछि प्रधानमन्त्री पदबाट बहिर्गमन भएका एमाले अध्यक्ष केपी शर्मा ओली बास खोज्दै भक्तपुर-२ को गुण्डु पुगेका थिए । त्यहाँ बस्नेतको राम्रो प्रभाव क्षेत्र भएकाले नै ओली गुण्डु पुगेका थिए । त्यहाँ ओलीको बासोबासको चाँजोपाजो मात्रै नगरी 'ओली कुटी' नै निर्माण भइरहेको छ । ओलीको भक्तपुर बालकोटस्थित घरमा भने भदौ २४ को प्रदर्शनमा आगजनी गरिएको थियो ।

भक्तपुर-२ मा कांग्रेसका कविर राणा तेस्रो भए । २०७९ को निर्वाचनमा यो निर्वाचन क्षेत्रबाट कांग्रेसका दुर्लभ थापाले जितेका थिए । यसपटक भने कांग्रेसका राणाले ८ हजार ४०१ मत मात्रै प्राप्त गरे । उनी पनि पेशाले पत्रकार हुन् । त्यस्तै, भक्तपुरमा राम्रो पकड राख्ने दल मानिँदै आएको नेमकिपाका रमेश वैद्य ३ हजार ७५३ मतसहित चौथो नम्बरमा रहे भने नेकपाका रामप्रसाद सापकोटाले १ हजार ३२३ मत ल्याए । 

देशभरी रास्वपाको लहर भक्तपुरमा पनि पुग्यो । त्यहाँ रास्वपाको संगठनले राजीवलाई साथ दिए । संगठन व्यक्तिका लागि र व्यक्ति संगठनका लागि हो भनेर त्यहाँका रास्वपामा आबद्ध नेताहरूलाई राजीवलाई बोकेर मतदाताकहाँ पुर्‍याए, भोट 'घण्टी'मा हाल्न लगाए ।

यो निर्वाचन क्षेत्रमा कांग्रेस र एमालेले आलोपालो जित्दै आएकोमा यसपटक भने रास्वपाका राजीवले जिते । 

भक्तपुर-२ मा राजीवले रास्वपाको टिकट लिएर जाँदा सुरुमा एमालेका नेता कार्यकर्ताले 'टुरिस्ट उम्मेदवार'को आरोप लगाए । त्यसको जवाफ भने राजीवले जितपछि दिए- म टुरिस्ट उम्मेदवार होइन । भक्तपुरका जनताको पक्षमा काम गर्न आएको हुँ । उनले आफू भक्तपुरमा कसैलाई पराजित गर्न नभई आफू जित्न आएको र जितेको प्रतिक्रिया दिएका छन् । 

Mediaperson turned MP: Went to the area assigned by the party, defeated UML secretary

नेपालका राजनीतिक दलले विगतमा जनतालाई सपना मात्रै देखाएको तर काम नगरेको राजीवको बुझाइ छ । व्यवस्थाले खोजेअनुसार विकास र समृद्धि नभएकाले जनतामा निराशा छाएको उनको भनाइ थियो ।  

खत्रीले सञ्चारकर्मीका रूपमा कार्यक्रम उत्पादन र प्रस्तोता भएर काम गरेका छन् । उनी राजनीतिमा संलग्न हुनुपहिला न्यूज २४ टीभीमा कार्यक्रम उत्पादन र प्रस्तुत गर्दै आएका थिए । त्यसअघि उनले एभिन्यूज टीभीमा काम गरेका थिए भने केही वर्ष रोजगारमञ्च राष्ट्रिय मासिकमा पनि काम गरे ।

रास्वपाले उम्मेदवारको परिचय दिँदा खत्री स्काउट सेवा र भ्रष्टाचारविरुद्ध प्रखर रुपमा लागेको लेखेको छ । खत्रीले कक्षा १२ पास गरेको रास्वपाले राखेको उम्मेदवार परिचयमा उल्लेख छ । 

कान्तिपुर

Link copied successfully