कोशी प्रदेशमा कांग्रेसको इज्जत जोगाउने सन्तोष सुब्बा को हुन् ?

संगठनात्मक क्षमता र सक्रियताकै आधारमा उनी कांग्रेसको १३औं महाधिवेशनबाट जिल्ला सचिवमा निर्वाचित भए ।

फाल्गुन २४, २०८२

पर्वत पोर्तेल

Who is Santosh Subba, who saved the honor of the Congress in Koshi Province?

काठमाडौँ — नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुव्बाले तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदै संघीय संसद्को बाटो तय गरेका छन् । रास्वपाको चुनावी तुफानले दिग्गज नेताहरु वडारिँदा  कोशी प्रदेशमा कांग्रेसको इज्जत राखे । 

२०७९ को प्रदेशसभामा तेह्रथुम १ (१) मा एमालेका  किशोरचन्द्र दुलालसँग झिनो मतले पराजित उनले  प्रतिनिधिसभा निर्वाचनमा एमालेका सचिव भानुभक्त ढकाललाई पराजित गर्दै पहिलो पटक संघीय संसद्को यात्रा तय गरेका हुन् । 

सुब्बाले ११ हजार ५ सय ६१ मत प्राप्त गर्दा ढकालले १० हजार ६ सय ८२ मत पाए । यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र कार्कीले ७ हजार ७ सय ३७ मत ल्याउँदै तेस्रो स्थान हासिल गरे ।

श्रम संस्कृति पार्टीका सुविन्द्र कुमार लिम्बु ५ हजार २ सय सहित चौथो वने । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा भने यही क्षेत्रबाट कांग्रेसकै सीता गुरुङ विजयी भएकी थिइन् ।  त्यसअघि यो क्षेत्र एमालेको ‘लालकिल्ला’ मानिन्थ्यो । कांग्रेस बलियो प्रतिस्पर्धी मात्रै थियो ।  २०७९ यता भने कांग्रेसले एमालेको उक्त किल्ला भत्काउन सफल भएको छ । 

एमाले सचिव ढकाल राजनीतिक पुनरागमन गर्ने उद्देश्यसहित यसपटक गृहजिल्ला तेह्रथुमबाट चुनावी मैदानमा उत्रिएका थिए । तर, उनको योजनालाई सुव्वाले विफल तुल्याइदिए । 

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट सांसद बनेका ढकाल २०७४ को प्रतिनिधिसभा निर्वाचनमा मोरङ–३ बाट निर्वाचित भई मन्त्रीसमेत बनेका थिए । तर, २०७९ को निर्वाचनमा उनी मोरङ–३ मै कांग्रेसका डा. सुनिल शर्मासँग २२ हजारभन्दा बढी मतान्तरले पराजित हुन पुगे । यसपटक पहाड उक्लिएका ढकाल उनी सुब्बासँग पराजित भए । 

४८ वर्षीय सुब्बा करिब तीन दशकदेखि राजनीतिमा सक्रिय छन् ।  २०५२ सालदेखि उनी कांग्रेसका क्रियाशील सदस्य हुन् ।  राजनीतिमा प्रवेश गर्नुअघि उनी सामाजिक गतिविधिमा सक्रिय थिए । २०६२/६३ को जनआन्दोलनको उभारले उनको राजनीतिक चेत खुल्यो  र सक्रियता समेत वढायो । 

सुब्बा शुरुमा कांग्रेसका भ्रातृ संगठन नेपाल तरुण दलमा आवद्ध भए ।  त्यहाँ उनले दुई कार्यकाल नेतृत्व गरे । त्यसपछि बल्ल पार्टीको मूल प्रवाहमा मिसिदै कांग्रेस तेह्रथुमको निर्वाचित कोषाध्यक्ष बने । 

संगठनात्मक क्षमता र सक्रियताकै आधारमा उनी कांग्रेसको १३औं महाधिवेशनबाट जिल्ला सचिवमा निर्वाचित भए । त्यसपछि १४औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बने । यसपटक प्रतिनिधिसभामा कांग्रेसका थोरै सांसदमध्ये उनी पनि हुनेछन् । 

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully