हुम्लामा ८ वर्षपछि कांग्रेसको विरासत फर्काउने रोकाया

‘हुम्लालाई मूलधारको राजनीतिसँग जोड्दै यहाँका भौगोलिक, सामाजिक, आर्थिक समस्या समाधानका लागि मेरो पहल हुनेछ,’ उनले भने, ‘भावनात्मक राजनीति होइन, परिणाम देखिने गरी काम गर्न संसद‍्मा क्रियाशील हुनेछु ।’

फाल्गुन २४, २०८२

कृष्णप्रसाद गौतम

Rokaya to restore Congress legacy in Humla after 8 years

सुर्खेत — हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा ८ हजार ७ सय ९७ मतसहित नेपाली कांग्रेसका उम्मेदवार जयपति रोकाया विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार दीपेन्द्र रोकायालाई १ हजार ५ सय ५४ मतान्तरले पराजित गरेका हुन् ।

नेकपा उम्मेदवार रोकायाले ७ हजार २ सय ४३ मत ल्याएका छन् । उनको जितसँगै कांग्रेसले ८ वर्षपछि आफ्नो विरासत फर्काएको छ । 

विजयी रोकाया कांग्रेसका पूर्वजिल्ला सभापति हुन् । उनले प्रत्यक्षतर्फ पहिलोपल्ट प्रतिनिधिसभाका लागि प्रतिस्पर्धा गरेका थिए । नेपाल विद्यार्थी संघ र तरुण दल हुम्लाको अध्यक्ष हुँदै उनी दुई कार्यकाल हुम्लाको पार्टी सभापति बनेका थिए । २०४० सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका उनी अहिले पार्टीको कर्णाली प्रदेश कार्यसमितिका सदस्य हुन् । २०७४ र २०७९ सालको प्रतिनिधिसभा सदस्यका लागि उनी समानुपातिक सूचीमा थिए । तर सांसद बन्ने अवसर पाएनन् ।

२०३५ सालमा जन्मिएका ४७ वर्षीय रोकाया सिमकोट गाउँपालिकास्थित तल्लोगाउँका बासिन्दा हुन् । उनले एसएलसीसम्मको अध्ययन पूरा गरेका छन् । गत प्रतिनिधिसभा निर्वाचनमा पूर्वमाओवादीका छिरिङ डम्डुल लामा (भोटे) विजयी भएका थिए भने २०७४ को निर्वाचनमा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामाले निर्वाचन जितेका थिए । पछि उनी माओवादी केन्द्रमा प्रवेश गरे । दोस्रो संविधानसभाको निर्वाचनमा क्षेत्र नं १ बाट कांग्रेसका जीवनबहादुर शाही निर्वाचित भएका थिए । त्यसयता हुम्लामा प्रतिनिधिसभा सदस्यमा कांग्रेस उम्मेदवार विजयी हुन सकेका थिएनन् । 

यस पटक विजयी भएसँगै रोकायाले पिछडिएको जिल्लाको आवाज संसद‍्सम्म पुर्‍याउने र जिल्लालाई समृद्ध बनाउन आफूले पहल गर्ने बताए । ‘हुम्लालाई मूलधारको राजनीतिसँग जोड्दै यहाँका भौगोलिक, सामाजिक, आर्थिक समस्या समाधानका लागि मेरो पहल हुनेछ,’ उनले भने, ‘भावनात्मक राजनीति होइन, परिणाम देखिने गरी काम गर्न संसद‍्मा क्रियाशील हुनेछु ।’

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully