प्रविणता प्रमाणपत्र तहसम्म अध्ययन गरेका बरहथवा नगरपालिका-११ हिरापुर निवासी साह २०७९ को निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवार थिए ।
काठमाडौँ — सर्लाही क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका नरेन्द्र साह कलवार प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
५३ वर्षीय कलवारले ४६ हजार ८ सय ९० मत प्राप्त गरे । उनका प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार एवम् पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले ३३ हजार ५५२ मत प्राप्त गरे ।
प्रविणता प्रमाणपत्र तहसम्म अध्ययन गरेका बरहथवा नगरपालिका-११ हिरापुर निवासी साह २०७९ को निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवार थिए ।
त्यसबेला उनी नेकपा एमालेका हरिप्रसाद उप्रेतीसँग ७ सय ७० मतको झिनो अन्तरले पराजित भएका थिए । यसपटक उप्रेतीले ५ हजार ७ सय ७६ मत ल्याए ।
०७४ सालमा उनले सर्लाही-३ मा स्वतन्त्र उम्मेदवारी दिएका थिए । त्यसबेला १२ हजारभन्दा धेरै मत ल्याएपनि विजयी हुन सकेनन् ।
०७० सालमा तत्कालीन महेन्द्र राय यादव नेतृत्वको तराइ मधेस सदभावना पार्टीबाट उनी समानुपातिक तर्फबाट संविधान सभा सदस्य बनेका थिए ।
व्यापारी पृष्ठभुमिका साह मनोनयन दर्ताको केही दिनअघि मात्र उनी रास्वपामा प्रवेश गरेका थिए ।
देशभर रास्वपाप्रति जनलहर र यस क्षेत्रमा सामाजिक पहिचान बनाएका कारण कलवारले पहिलोपटक प्रत्यक्ष निर्वाचन जितेका हुन् ।
विजयी भएपछि उनले आफ्नो जितलाई जनताको परिवर्तनसँग जोडेका छन् । उनले देश विकास र सुशासनका लागि काम गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
