०७४ मा वडाध्यक्ष पराजित धनेन्द्रको ८२ मा संसद् यात्रा

राष्ट्रिय स्वतन्त्र पार्टीबाट सिन्धुली क्षेत्र नं १ मा १६ हजार ६५९ मत ल्याएर विजयी बन्दै उनले सदनको यात्रा तय गरेका हुन् ।

फाल्गुन २४, २०८२

राजकुमार कार्की

Dhanendra defeated as ward chairman in 2074, travels to parliament in 2082

काठमाडौँ — २०७४ सालमा तीनपाटन गाउँपालिकाबाट वडाध्यक्षमा चुनावमा प्रतिस्पर्धा गरेर पराजित भएका धनेन्द्र कार्की २०८२ मा संसद्‌मा प्रवेश गरेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट सिन्धुली क्षेत्र नं १ मा १६ हजार ६५९ मत ल्याएर विजयी बन्दै उनले सदनको यात्रा तय गरेका हुन् । 

तत्कालीन नेकपा माओवादीबाट वडाध्यक्षमा चुनाव लडेका कार्कीले त्यतिखेर २०० मत पाएका थिए । २०४४ सालमा जन्मिएका कार्कीले बीएसम्मको अध्यापन गरेका छन् । गाउँबाटै दश जोड दुई सकेर अध्ययनको लागि काठमाडौं हानिएका कार्की यातायात व्यवसायी बने । 

रोजगारीको लागि कतारमा एक वर्ष बिताएका कार्की फर्किएपछि यातायात व्यवसायी बनेर गाउँघर डुल्ने गर्दथे । जग्गाको समेत कारोबारी रहेका कार्कीले ०७४ सालको पराजयबाट पाठ सिक्दै र विदेशिएका दाजुभाईलाई स्वदेशमै उद्यमी तथा रोजगार बनाउने भन्दै अभियान थालेका थिए । ३८ वर्षीय कार्की अविवाहित हुन् ।

शिक्षा, स्वास्थ्य, रोजगारीलाई प्राथमिकतामा राखेर काम गर्ने कार्कीको उद्देश्य छ । विदेशिएकालाई कसरी स्वदेश फर्काउन सकिन्छ भनेर काम थालिहाल्ने कार्की बताउँछन् । कार्कीका निकटतम प्रतिस्पर्धी एमाले उमेद्वार प्रदीप कटुवालले विजयीको शुभकामना दिँदै जनताका आवश्यक्ता अनुसार काम गर्न सुझाव दिएका छन् । लोकतन्त्रमा जनमतको कदर गर्नुपर्ने बताएका कटुवालले १५ हजार ८७५ मत पाएका थिए ।

राजकुमार कार्की कान्तिपुरका सिन्धुली संवाददाता हुन् ।

Link copied successfully