पहिलो प्रयासमै राजनीतिका बलियो खेलाडी ढाल्ने दीपककुमार

प्रत्यक्ष राजनीतिक अनुभव नभए पनि स्थापित राजनीतिक शक्ति संरचनासँग प्रतिस्पर्धा गरेर पहिलो प्रयासमै जित निकाल्दै युवा पुस्ताबीच दीपककुमार साह उदाहरणीय बनेका छन् ।

फाल्गुन २४, २०८२

विकास आर्या

Deepak Kumar, who became a strong political player in his first attempt

काठमाडौँ — महोत्तरी-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपककुमार साह प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित भएका छन् । उनी ३२ हजार ७२२ मत ल्याएर निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका उम्मेदवार शरतसिंह भण्डारीलाई २० हजारभन्दा बढी मतान्तरणले हराएका छन् । भण्डारीले १० हजार १९८ मत ल्याएका छन् । भण्डारी पछिल्लो दुई निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएर प्रतिनिधिसभामा पुगेका थिए ।
स्वास्थ्य सेवा सुधार, युवा स्वरोजगार र भ्रष्टाचारमुक्त प्रशासनलाई मुख्य प्राथमिकता दिँदै चुनावी प्रचारमा उत्रिएका साहलाई महोत्तरी-२ का मतदाताले पत्याएका छन् ।
१० चैत २०४७ मा महोत्तरीमा जन्मिएका साहको यहाँका स्थायी बासिन्दा पनि हुन् । आफ्नै जन्मस्थान र जिल्लाका सामाजिक तथा विकाससम्बन्धी समस्यालाई नजिकबाट बुझ्दै आएका साहलाई स्थानीय माटोसँग जोडिएको उम्मेदवारका रूपमा मतदाताले स्वीकार गरेका छन् ।
साहको पृष्ठभूमि शैक्षिक र व्यावसायिक रूपमा सबल छ । उनले जनस्वास्थ्य विषयमा स्नातकोत्तरसम्म अध्ययन गरेका छन् । अध्ययनको क्रममा उनले बेलायतको प्रतिष्ठित शिक्षण संस्था लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिन तथा त्रिभुवन विश्वविद्यालयअन्तर्गतको चिकित्साशास्त्र अध्ययन संस्थानबाट शिक्षा हासिल गरेका छन् । 
राजनीतिमा पूर्ण रूपमा सक्रिय हुनुअघि साहले स्वास्थ्य र विकासका क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको अनुभव पनि सँगालेका छन् । उनले विश्व स्वास्थ्य संगठन तथा एफएचआई ३६० जस्ता संस्थाहरूमा काम गर्दै सार्वजनिक स्वास्थ्य र विकाससम्बन्धी कार्यक्रमहरूमा योगदान पुर्याउनु भएको छन् ।
रास्वपाबाट निर्वाचित साहले विशेषगरी स्वास्थ्य सेवामा सुधार, युवा स्वरोजगारको अवसर विस्तार र भ्रष्टाचारमुक्त प्रशासन निर्माणलाई चुनावी प्रचारको क्रममा प्रमुख एजेन्डा बनाएका थियो । दक्ष र विषयविज्ञ व्यक्तिहरू राजनीतिमा आउनुपर्छ भन्ने मान्यतालाई उनले आत्मसात गर्दै परिवर्तन र सुशासनको पक्षमा उभिएको उम्मेदवारका रूपमा आफूलाई प्रस्तुत गरेका थिए । 
प्रत्यक्ष राजनीतिक अनुभव नभए पनि स्थापित राजनीतिक शक्ति संरचनासँग प्रतिस्पर्धा गरेर पहिलो प्रयासमै जित निकाल्दै युवा पुस्ताबीच दीपकुमार उदाहरणीय बनेका छन् ।

प्रतिनिधिसभा निर्वाचन २०८२यी हुन् १६५ सांसद

विकास उनी कान्तिपुर टेलिभिजनमा महोत्तरी संवाददाता हुन् ।

Link copied successfully