केन्द्रीय स्तरमा उदाएका दुई नेतामध्ये खड्का र अर्को विपरित धारको नेतृत्व गर्ने हृदयराम थानी जिल्लाका परम्परागत प्रतिद्वन्द्वी हुन् । उनीहरूको दुई गुटगत राजनीतिले कार्यकर्ता विभाजित छन् । यसपटक दुवै उम्मेदवार नहुँदा त्यसको लाभ नयाँ उम्मेदवारलाई मिलेको छ ।
What you should know
सुर्खेत — कांग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काका साइला भाइ विष्णुबहादुर खड्का प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुर्खेत-१ बाट उम्मेदवार छन् । ०४८ सालदेखि (०६४ मा समानुपातिकबाहेक) निरन्तर चुनाव लड्दै आएका खड्का कांग्रेस विशेष महाधिवेशन र त्यसले गरेको नेतृत्व परिवर्तनको मुद्दामा असहमत हुँदै उम्मेदवार भएनन् । उनको ठाउँमा भाई चुनावी मैदानमा होमिएका छन् । तर, खड्का भने अहिलेसम्म जिल्ला आएका छैनन् ।
कांग्रेसका स्थानीय नेताहरूले खड्कालाई जिल्ला आइदिन बारम्बार आग्रह गरिरहेका छन् । तर, खड्काले आफूमाथि नैतिक दबाब देखाएर भौतिक रुपमा उपस्थिति हुन मानिरहेका छैनन् । विशेष महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति चयन अवैधानिक भन्दै तत्कालीन पार्टी सभापति शेरबहादुर देउवा र खड्काले सर्वोच्च अदालतमा दायर गरेको रिट अहिले विचाराधीन अवस्थामा छ । मुद्दा विचाराधीन रहेको अवस्थाबीच नैतिक कारण देखाएर उम्मेदवार हुन नखोजेका खड्का स्थानीय नेता तथा कार्यकर्ताको आग्रहलाई समेत मानिरहेका छैनन् । भौतिक रुपमा उपस्थित भएर सुर्खेतमा कांग्रेसको चुनावी सभामा उपस्थित हुन चाहिरहेका छैनन् ।
उनी उम्मेदवार नहुने भएपछि यातायात व्यवसायी समेत रहेका भाइलाई कांग्रेसले उम्मेदवार बनाएको थियो । आफू उम्मेदवार नभए पनि भाइलाई अघि सारेको भन्दै विपक्षीहरूले खड्कामाथि नातावादको आरोप पनि लगाइरहेका छन् । तर, विष्णुबहादुर विपक्षीहरूको आरोप खण्डन गर्दै भन्छन्- ‘उम्मेदवार बनाउने सवालमा दाइको कुनै पनि भूमिका छैन । सुर्खेतमा मैले गरेको योगदानलाई मुल्याकंन गरेर स्थानीय नेता तथा कार्यकर्ताहरूले मलाइ अघि सार्नु भएको हो ।’
केन्द्रीय स्तरमा उदाएका दुई नेतामध्ये खड्का र अर्को विपरित धारको नेतृत्व गर्ने हृदयराम थानी जिल्लाका परम्परागत प्रतिद्वन्द्वी हुन् । उनीहरूको दुई गुटगत राजनीतिले कार्यकर्ता विभाजित छन् । तर, यसपटक दुवै उम्मेदवार नहुँदा त्यसको लाभ नयाँ उम्मेदवारलाई भएको छ । नेता थानी शेखर कोइराला पक्षका हुन् । तर, अन्तिम समयमा विशेष महाधिवेशनको पक्षमा खुलेका थिए । विशेष महाधिवेशन चलिरहेकै बेला उनले चुनाव नलड्ने घोषणा गरेका थिए । खड्काले भाइलाई अघि सार्दा थानीले भने आफ्ना विश्वासपात्र नारायण कोइरालालाई अघि बढाएका थिए । आफैले अघि सारेका उम्मेदवारलाई जिताउन थानी जिल्ला सदरमुकाम नै आएर बसेका छन् । तर, खड्का आफ्नै भाइले बोलाउदा समेत आएका छैनन् ।
यत्रो लामो संघर्ष र विरासत जोडिएको दाइलाई किन बोलाउनु भएन ? भन्ने प्रश्नमा विष्णुबहादुर खड्काले भने, ‘मैले आउँदा राम्रो हुन्थ्यो भनेर फोन गरें । तर, दाइले आउँछु र आउँदिन केही भन्नुभएको छैन । तिमीहरू आफ्नो तयारीमा लाग, तयारी राम्रो गर भन्नुभएको छ, सम्भवतः भोट हाल्न आउनुहोला । तर, कार्यक्रमहरूमा आउनु हुन्न जस्तो लाग्छ । उहाँ किन आउनु भएन भन्ने कुरा सुर्खेतका नेता तथा कार्यकर्ता सबैलाई जानकारी छ । अर्कोतर्फ उहाँ नआए पनि टेलिफोन र भिडियो कलबाट गर्नुपर्ने कामहरू गरिरहनु भएकै छ ।’
