१ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाताका लागि प्रत्यक्षतर्फ २ करोड ३ लाख २३ हजार र समानुपातिकतर्फ २ करोड ८ लाख ३० हजार मतपत्र तयार
What you should know
काठमाडौँ — निर्वाचन आयोगले प्रत्यक्षतर्फ २ करोड ३ लाख २३ हजार र समानुपातिकतर्फ २ करोड ८ लाख ३० हजार मतपत्र छापेको छ । आयोगका अनुसार यस पटक देशभर १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता छन् ।
त्यसमा ९६ लाख ६३ हजार ३ सय ५८ पुरुष र ९२ लाख ४० हजार १ सय ३१ महिला छन् । यस पटक ९ लाख १५ हजार १ सय १९ मतदाता थपिएका छन् ।
आयोगले कुल मतदाताभन्दा ४२ लाख ९३ हजार १ सय १० वटा मतपत्र बढी छापेको जनाएको छ । आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीका अनुसार करिब ७ प्रतिशत बराबर मतपत्र बढी छापिएको जानकारी दिए । आपत्कालीन र भैपरी आउने परिस्थितिलाई ध्यानमा राख्दै हरेक चुनावमा सोही बराबरको बढी मतपत्र छाप्ने गरिएको उनले बताए । ‘कहिलेकाहीं मतपत्र नष्ट हुन सक्ने, निर्वाचन क्षेत्रमा सप्लाई गर्दा फरक मतपत्र पुग्न सक्ने भएकाले बढी छापिन्छ,’ जीसीले भने, ‘कतै मौसमका कारण बिग्रन सक्ने अनि मतदानस्थलमा नष्ट हुने वा बिग्रन सक्ने भएकाले पनि थप मतपत्र छापिन्छ ।’
उनले समानुपातिक मतपत्र प्रत्यक्षभन्दा धेरै छापिएको बताए । समानुपातिकतर्फ मतदान गर्न अस्थायी मतदाता पनि हुने भएकाले बढी छापिएको उनको भनाइ छ । ‘निर्वाचनमा खटिएका सुरक्षाकर्मी, ज्येष्ठ नागरिक, कैदीबन्दी र कर्मचारीसमेतले समानुपातिकतर्फ मतदान गर्न पाउने भएकाले बढी छापिएको हो,’ उनले भने, ‘करिव ५ लाख बढी अस्थायी मतदाता मतदानमा संलग्न हुन सक्ने आकलन गरिएर मतपत्र छापिएको छ ।’
७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका लागि २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ सकेर जिल्ला–जिल्लामा पुर्याउने काम भइरहेको जीसीले जानकारी दिए । २९ माघदेखि कर्णाली प्रदेशबाट मतपत्र ढुवानी सुरु गरी सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा ढुवानी सम्पन्न भइसकेको उनले बताए । मधेश, गण्डकी तथा बागमती प्रदेशमा पठाउने क्रम पनि सुरु भइसकेको र यही साताभित्र सबै निर्वाचन क्षेत्रमा मतपत्र पुगिसक्ने उनले बताए । मतपत्रबाहेकका निर्वाचन सामग्री यसअघि नै ढुवानी भइसकेको आयोगले जनाएको छ ।
पर्यवेक्षणमा स्वदेशी ३७ र विदेशी ४ संस्थाले पाए अनुमतिनिर्वाचन पर्यवेक्षणका लागि स्वदेशी र विदेशी गरी ४१ संस्थाले अनुमति पाएका छन् । त्यसमा ३७ स्वदेशी र ४ विदेशी संस्था छन् । कार्टर सेन्टर, एन्फ्रेल (एसियन नेटवर्क फर फ्रि इलेक्सन), इन्टरनेसनल रिपब्लिकन इस्टिच्युट (आईआरआई) र मल्टिडिसिप्लिनगरी इस्टिच्युट अफ ट्रेनिङ एन्ड लर्निङका गरी चार संस्थाका ३९ जना विदेशीले निर्वाचन पर्यवेक्षणको अनुमति पाएका छन् ।
नेपाली संस्थाहरूबाट ४ हजार २ सय जनाले निर्वाचन पर्यवेक्षण अनुमति पाएको जीसीले बताए । निर्वाचनको पर्यवेक्षण अनुमति पाउने नेपाली संस्थामा गैरसरकारी संस्था महासंघ, नेपाल पत्रकार महासंघ, नेपाल बार एसोसिएसन, राष्ट्रिय मानवअधिकार आयोग, नेपाल कानुन समाज र राष्ट्रिय अपांग महासंघलगायत छन् ।
आयोगले निर्वाचन पर्यवेक्षकका लागि पनि आचारसंहिता तयार पारेको छ । पर्यवेक्षकले निर्वाचन आचारसंहिता २०८२ भित्र रहेर काम गर्नुपर्नेछ । आचारसंहिताअनुसार पर्यवेक्षकले सवारी पासको दुरुपयोग गर्न, कुनै दलको पक्ष वा विपक्षमा लाग्न, मतदानस्थलमा अनावश्यक प्रश्न गरेर मतदान प्रक्रियामा खटिएका कर्मचारीको काममा व्यवधान गर्न र मतदानस्थल छेउमा बसेर कुनै संकेत गर्न पाउने छैनन् ।
निर्वाचनको स्वच्छता प्रवर्धन, पारदर्शिता अभिवृद्धि तथा लोकतान्त्रिक वैधता सुनिश्चित गर्न आयोगले निर्वाचन पर्यवेक्षणलाई महत्त्वका साथ अघि बढाएको सहायक प्रवक्ता जीसीले बताए । अनुमति पाएका संस्थाका तर्फबाट पर्यवेक्षकको नाम प्रविष्ट गर्ने काम सम्पन्न भई आयोगले संस्थाका प्रतिनिधिलाई अभिमुखीकरण गरिसकेको छ ।
