नेताले गाउँ सम्झिएनन् भन्दै भक्कानिन्छन् मतदाता 

पाल्पा-२ का मतदाता भन्छन् : चुनाव आएपछि सबै राजनीतिक दलका उम्मेदवार भोट माग्न आउँछन्, अरुबेला कहाँ जान्छन् थाहा हुन्न । जनताको अवस्था बुझ्ने काम नै हुँदैन ।

फाल्गुन ११, २०८२

माधव अर्याल

Voters complain that leaders don't remember their villages

What you should know

पाल्पा — तिनाउ गाउँपालिका-१, कचलफाँटका ८४ वर्षीय कृष्णबहादुर छहरी मगरले धेरै चुनाव देखेका छन् । पञ्चायतमात्र होइन, २०४६ सालको आन्दोलन, २०६२/६३ लगायत सबै घटनाक्रम भोगेका छन् । उनी रैनादेवी छहरा–४, छहरा आर्यफानबाट कचल झरेका हुन् । कचलफाँट ‘गोठ अर्थात् पाई’ राख्ने स्थान थियो ।

एक खेती गर्ने र त्यसको उब्जनी लेकमा लगेर खाने प्रचलन थियो । साविक फेक गाउँपञ्चायतमा पर्ने कचलफाँटमा तत्कालीन स्वर्गीय लालसिं बुचाले ठूलो फाँटमा सिँचाइ गर्ने योजना बनाए । 

‘राजासँग नै पुगेर बिन्ती चढाएको मलाई थाहा छ,’ उनले भने, ‘२०३९ सालमै तत्कालीन राजाको हुकुमबाट साढे ३ करोडको योजना परेको थियो ।’ रामपुर, चापाकोटको सिँचाइ जस्तै कचलफाँटमा पनि योजना परेको थियो । चापाकोट र रामपुरमा मुहानबाट काम भयो सफल भयो । कचलफाँटमा तल्लो क्षेत्रबाट काम भयो । खोला, खोल्सीको पानी ल्याएर बदमासी गरेको उनको अनुभव छ । तर पछिल्लो समय पूर्वसांसद हरिप्रसाद नेपाल र उनको श्रीमती सीता नेपालको पहलमा साढे १३ करोड परेपछि भने सही ढंगले काम भएको उनले बताए । ‘फाँटमा पानी राम्रोसँग कुलो चलेको तीन वर्ष भइसक्यो,’ उनले भने, ‘तर यहाँको विषयमा कुनै पनि योजना बनेको छैन ।’

यतिबेला फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको रौनक चलेकै समयमा फाँटमा भेटिएका छहरी मगरले चुनावी रौनक नआएको दुःखेसो गरे । ‘म पनि नेपाली नागरिक हो,’ उनले भने, ‘जनताको जीवनस्तर उकास्ने नेतालाई जिताउने प्रचलन छैन । सचेत नागरिक छैनन् । विपन्न जनताका लागि काम गरेका को हुन् ? नेपाली जनताले चिन्दैनन् ।’ उनका अनुसार ‘भोटबैंक’ बनाउने प्रचलनले नेपालको विकास हुन नसकेको हो । 

कुराकानीका क्रम भक्कानिएका उनले भारतमा ३५ वर्ष बिताएको बताए । अपमान सहजनुपर्ने, कुत्ता साला जस्ता गाली खाएको सम्झँदै उनले भने, ‘सगरमाथाको देश, देश विदेशमा नाम कमाएको मुलुकका जनता अझै पनि विपन्न र सचेत नभएकामा दुःख लागेको छ ।’ लामो समय गुजाराका लागि भारतमा बिताएको सम्झँदै पछिल्ला तीन/चार पटकको चुनाव राम्रै देखेका छन् । जिन्दगीमा धेरै पटक मतदान गरेको भए पनि यस पटकको चुनावलाई लिएर खासै उत्साहित भने देखिएनन् । ‘मतदान गर्न पनि मन नै लागेको छैन,’ आँखाबाट बर्बरी आँसु खसाल्दै उनले भने, ‘नेता भनेका सबै उस्तै हुन्, हामी नेपालीले देश विकास गर्ने, विपन्नको जीवनस्तर फेर्नेलाई चिन्दैनौँ ।’

Voters complain that leaders don't remember their villagesकचलका छहरी मगर मात्र होइन, रिब्दीकोट गाउँपालिका-२, का कृष्णप्रसाद ढकालको पनि गुनासो उस्तै छ । धेरै वर्षदेखि एउटै पार्टीलाई मत दिएको बताउने उनले विपन्न जनताको जीवनस्तर उस्तै रहेको गुनासो गरे । ‘नेतालाई धेरै वर्षदेखि भोट हालेर जिताइयो,’ उनले भने, ‘नेताहरू तानसेन, बुटवल, काठमाडौं पुगेर आफ्ना जीवनस्तर सुधारे । हामी गाउँमा बस्नेलाई कसले हेर्छ र ?'

खेतीपाती गर्नेलाई जीवनस्तर धान्न समस्या भएको उनले बताए । कुनै पनि सहयोग/अनुदान आफ्ना आफन्त, नेताका नजिक हुनेका लागि आउने गरेको उनको गुनासो छ । गाउँनजिकै उद्योग खुल्यो । तर सडक गाउँ भएर गएपछि धुलोबाहेक अरु केही पाउन सकिएन । ‘कसैले पनि हामीले भनेको सुन्दैन,’ उनले भने, ‘मतदान गरेर के गर्नु ? मुलुकको अवस्था कहाँ छ अनि मतदाताको अवस्था के छ त्यो राम्रोसँग बुझ्नुपर्छ ।’ 

गाउँका पाकापुस्ता गफिने चियापसलमा पनि विगतमा जस्तो रौनक नदेखिएको उनले बताए । नागरिकमा विगतमा नेताले आयआर्जन र रोजगारका साथै जनचाहना अनुसारको विकास निर्माणका काम नगर्दा राजनीतिप्रति वितृष्णा बढेको उनले बताए । ‘अबको निर्वाचनमा गाउँका नागरिकमा आगामी निर्वाचनमा कसैको दबाबमा नपरी मतदान गर्ने चेत पलाएको छ,’ उनले भने, ‘यो अवस्था हाम्रै नेताबाट ल्याइएको हो ।’ 

अचेल गाउँमा युवाहरू त्यति भेटिँदैनन्, पाको पुस्ता मात्रै छ । यो पुस्ता पनि राजनीति दलका नेताहरू व्यक्तिगत, पारिवारिक स्वार्थमा लागेको भन्दै निराशा व्यक्त गर्दछन् । आफूहरूले गाउँमा विकास, रोजगारी, कृषि क्षेत्रमा परिवर्तन चाहे पनि नेताहरू आफ्नै स्वार्थमा रमाएकाले निराश देखिएको रिब्दीकोट गाउँपालिका–२, देउरालीकै ज्वाला गौतमले बताइन् । उनका अनुसार पुराना दलका नेताहरू सच्चिनुपर्ने अपेक्षा राखेका छन् । ग्रामीण भेगका मतदाताले नयाँ दलका अनुहारलाई पनि झट्टै विश्वास गरिहाल्ने अवस्था नदेखेको उनको बुझाइ छ । 

पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेहरूमध्ये सबैभन्दा धेरै ग्रामीण भेगकै छन् । जिल्ला प्रशासन कार्यालय पाल्पाका अनुसार झन्डै ३९ हजार युवा पाल्पाबाट वैदेशिक रोजगारमा छन् । यो भन्दा धेरै जनसंख्या भारतमा रोजगारका लागि पुगेका छन् । आफ्नै गाउँठाउँमा रोजगारको अवसर नभएपछि र जीवन चलाउने अरू उपाय नभेटेपछि नागरिकले वैदेशिक रोजगारीलाई विकल्प बनाएको गौतमले बताइन् । तरकारी खेती, बाख्रापालन, बंगुरपालन गर्ने युवाहरूका लागि बजार व्यवस्थापन भएको छैन । अकबरे खुर्सानीको लहर आएको छ तर त्यसको बजार व्यवस्थापन स्थानीय तह चुकेको छ । देउरालीकै अम्मरबहादुर थापाका अनुसार विपन्न जनताको जीवनस्तर सुधार्ने, गाउँमै रोजगारको व्यवस्था गर्ने, उद्यम, व्यवसायका लागि पहल गर्ने हो भने बल्ल युवा गाउँमै बस्थे । ‘चुनाव आएपछि सबै राजनीतिक दलका उम्मेदवार भोट माग्न आउने गर्छन्,’ उनले भने, ‘अन्य समयमा कहाँ जान्छन् थाहा हुन्न । जनताको अवस्था बुझ्ने काम नै हुँदैन ।’ 

यस पटक पनि उम्मेदवारले रोजगारीको एजेन्डा ल्याएका छैनन् । जनताको चाहना रोजगारको एजेन्डा ल्याउनेलाई नै दिने भन्ने रहेको ठिमुरेका युवा विपिन ठडराईको छ । पाल्पा क्षेत्र नम्बर २ विगतदेखि नै चुनावमा नयाँ पुराना अनुहार उम्मेदवार हुने क्षेत्र हो । कांग्रेसले साविक क्षेत्र नम्बर ३ [हाल २] मा २०४८ र ५१ मा हरिप्रसाद नेपाललाई उम्मेदवार बनायो । २०४८ मा नेपालले जिते । २०५१ मा भने नेकपा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले निर्वाचन जितेका हुन् । २०५६ मा कांग्रेसले पुराना नेता भगवतीध्वज राजलवटलाई उम्मेदवार बनाएको थियो । एमालेले उम्मेदवार बनाएको यादवबहादुर रायमाझीले चुनाव जिते । २०६४ सालमा कांग्रेसले हरिप्रसाद नेपाल, एमालेले कुलप्रसाद नेपाललाई उम्मेदवार बनाएको थियो । एमालेबाट उम्मेदवार बनेका कुलप्रसादले चुनाव जिते । 

Voters complain that leaders don't remember their villages

२०७० सालमा भने एमालेबाट कुलप्रसाद र कांग्रेसबाट हरिप्रसाद उम्मेदवार बन्दा कांग्रेसले निर्वाचन जितेको थियो । २०७४ मा एमालेले सोमप्रसाद पाण्डेय र कांग्रेसका हरिप्रसाद नेपाल नै उम्मेदवार बने । वाम गठबन्धनका उम्मेदवार सोमप्रसाद विजयी भए । २०७९ मा भने एमालेबाट ठाकुरप्रसाद गैरे साथै गठबन्धन गरेकाले नेकपा एकीकृत समाजवादीबाट पाण्डेय उम्मेदवार बनेकामा गैरे निर्वाचित भए । २०६४ मा एमाले, कांग्रेस र माओवादीबीच झिनो मतान्तरमा एमालेका कुलप्रसाद नेपाल विजयी भएका थिए । बाँकी चुनावमा भने एमाले र कांग्रेस बीचमा प्रतिस्पर्धा भइरहेको छ । यस क्षेत्रमा यसपालि भने नेपाली कम्युनिस्ट पार्टीबाट सोमप्रसाद र राष्ट्रिय स्वतन्त्र पार्टी पनि प्रतिस्पर्धीका रूपमा देखिएका छन् । 

एमालेमा गत मंसिरमा सकिएको महाधिवेशनबाट पार्टी केन्द्रीय सचिवमा पराजित तथा केन्द्रीय सदस्य जितेका गैरे उम्मेदवार बनेका छन् । यसपटक गैरेको टिकटमै रस्साकस्सी बनेको थियो । जिल्लाबाट सिफारिसमै पहिलो नम्बरमा २०५१ मा चुनाव जितेका एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नाम पहिलो नम्बरमा सिफारिस थियो । पहिला एमाले सचिवालयले पौडेललाई टिकट थियो । पौडेल आफ्नै क्षेत्रमा फिर्ता भएपछि पुनः क्षेत्र २ कै एमाले नेता रामबहादुर राउतले टिकट पाएको समाचार बाहिरियो । मनोनयन गर्ने दिन माघ ६ गते बिहान एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले गैरेको टिकट बोकेर आएपछि पहिलो नम्बरमै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दर्ता गरेका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले १ बजेलाई समय दिए पनि एकाएक पहिलो नम्बरमै गएर उम्मेदवारी दर्ता गराएका थिए । 

कांग्रेसले जिल्ला सभापति हिमालदत्त श्रेष्ठलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेसका पूर्व जिल्ला सदस्य रहेका माधवबहादुर थापालाई उम्मेदवार बनाएको छ । पुराना नेताहरूले कुरा मात्रै गरेर गरेकाले अब नयाँ रोज्ने मनस्थितिमा मतदाता पुग्ने हुन् कि भन्ने चिन्ता भने उम्मेदवारमा छ । पछिल्लो समयमा आम मतदाताहरूको मन भने फरक हुँदै गएको छ ।

Voters complain that leaders don't remember their villagesपुराना नेताहरूले नगरेका पुरानै कामको फेहरिस्त मतदाताले तयार पारेकाले पनि डर सबैमा छ । विपन्न नागरिकको जीवनस्धर सुधारको एजेन्डा बोकेर आउने नेता नै आफ्नो रोजाइमा पर्ने मतदाता बताउँछन् । ‘विगतमा मत दिएर जिताएका नेता एक दिन हाम्रा घरमा आएनन्,’ रैनादेवी छहरा गाउँपालिका–३, की सरिस्मा कुमालले भनिन्, ‘कहिल्यै हामीलाई सम्झेनन् । सडकबाहेक विपन्नको रोजगार, समुन्नतिका क्षेत्रमा अपेक्षित काम पनि गर्न सकेनन् ।’ 

पाल्पा–२ बाट यसअघि २०७९ को निर्वाचनमा नेकपा एमालेबाट उम्‍मेदवार भएका गैरे प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको साझा नेकपा एकीकृत समाजवादीका उम्‍मेदवार सोमप्रसाद पाण्डेलाई ठाकुर गैरेले पराजित गरेका थिए । गैरेले २७ हजार ८१७ मत पाएका थिए भने पाण्डेले २३ हजार ८५१ मत ल्‍याएका थिए । उनीहरुको मतान्तर ३ हजार ९६६ थियो ।

त्यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्‍मेदवार सोमप्रसाद गेरै (सुमन) ले ५ हजार १८० मत ल्याएका थिए । यसअघिको निर्वाचनमा अन्य दल तथा स्वतन्त्र उम्मेदवारसमेत चुनावी मैदानमा थिए । विगतका निर्वाचनको मत परिणाम हेर्दा मुख्यतः एमाले, कांग्रेस, नेकपा र रास्वपाबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय तानसेन पाल्पाका अनुसार क्षेत्र नं. २ मा १४ राजनीतिक दल र २ स्वतन्त्र गरी १६ उम्मेदवार कायम छन् । क्षेत्र नम्बर २ मा १ लाख ९ हजार ५३ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully