उम्मेदवाहरुलाई गिज्याइरहेको कटारी-घुर्मी सडक

खाल्डाखुल्डीका कारण यात्रु र सवारी चालकलाई सास्ती हुने गरेको छ । धुलोका कारण स्थानीयको स्वास्थ्यमा समेत गम्भीर असर परेको छ ।

फाल्गुन ११, २०८२

राकेश नेपाली

The winding road that is bedeviling the candidates

What you should know

उदयपुर — उदयपुरको कटारीदेखी घुर्मीसम्म ४६ किलोमिटर सडकको कालोपत्र भत्किएर एक दशकदेखि वर्षामा हिलो र हिउँदमा धुलोको कारण स्थानीय र यात्रुले सास्ती भोग्नु परेको छ ।

खाल्डाखुल्डीका कारण यात्रु र सवारी चालकलाई सास्ती हुने गरेको छ । धुलोका कारण स्थानीयको स्वास्थ्यमा समेत गम्भीर असर परेको छ । उदयपुर क्षेत्र नम्बर २ मा पर्ने यो लोकमार्ग भत्किएर जीर्ण भएको दशकौं भए पनि सरकारको हालसम्म नजर नपरेको पट्नाभञ्ज्याङका लिलबहादुर खत्रीले बताए । ‘चुनावका लागि भोट माग्न नेताहरु गाउँ आउन थालिसके तर, सडकको अवस्था देख्दा उहााहरुलाई लाज लाग्नुपर्ने हो,’ उनी भन्छन् । 

निर्वाचनका समयमा नेताहरुले यो सडकलाई भोट माग्ने अस्त्र बनाउने गरेको र चुनाव पछि नेताहरुले बेवास्ता गर्ने गरेको स्थानीयको आरोप छ । 

यस क्षेत्रबाट २०६४ को निर्वाचनमा माओवादीका मोहनबहादुर खत्री, २०७० सालमा कांग्रेसका नारायणबहादुर कार्की, २०७४ मा माओवादीका सुरेशकुमार राई र २०७९ मा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित भएका थिए । 

चुनाव जितेर गएपछि कुनै पनि सासंदको पालामा लोकमार्ग स्तरोन्नति हुन नसकेको भन्दै यसक्षेत्रका मतदाता उम्मेद्वारहरुसँग रुष्ट छन् । बारम्बार उम्मेद्वारका आश्वासनले आजित भइसकेकाले कसैसँग विश्वास नरहेको कटारी नगरपालिका–८ पट्नाभञ्ज्याङका बसन्तबहादुर थापाले बताए । ‘दैनिक सयौं सवारीसाधन गुड्ने यो सडकमा धुलोका कारण वरिपरीका बस्तीलाई गम्भीर असर पुर्‍याएको छ, धुलोले सागसब्जी, अन्नबाली, तरकारी माटैमाटो हुन्छन्, खानलायक हुँदैनन्, गाई बाख्रा, घासपात सबै धुलैमाटो हुँदा पशुचौपाय पनि रोगी छन्,’ उनले भने । 

धुलो र धुँवाका कारण गाउँका धेरैजसो मानिस बिरामी पर्ने गरेको भए पनि चुनावमा भोट माग्न आउने उम्मेद्वारहरुले त्यसप्रति खासै चासो नखाएको उनीहरुको गुनासो छ । 

सडक किनारामा घरभएकी गंगाकुमारी थापाले धुलो र धुँवाका कारण फोक्सो र पेट सम्बन्धी समस्या कारण उपचारका लागि ५ वर्षदेखि विराटनगर र काठमाडौं धाइरहेको बताइन् । ‘औषधि उपचार गरेर आयो, घर अगाडि धुलो उस्तै छ, कहाँ जाउँ, के गरौं ? समस्या बुझ्दिने कोही छैनन्,’ उनी गुनासो पोख्छिन् । 

कटारी–घुर्मी हुँदै चल्ने सवारीका चालकहरु सरकार र नेताहरुको लापरवाहीले हालसम्म यो सडक स्तरोन्नति हुन नसकेको बताउँछन् । ‘नहिँडौं भने काम पर्छ, ज्याला मजदुरी गरेर पेट पाल्नुपरेको छ, हिँडौं भने सडकको अवस्था यस्तो छ, रुन मात्रै सकिन्न,’ कटारीका बोलेरो चालक जिवन कार्कीले भने, ‘धुलोले बाटो राम्रो देख्न सकिदैन, अनुमानका आधारमा गाडी चलाउँदा जोखिम धेरै हुन्छ, खाल्डाखुल्डी र ढुङ्गाले सवारी संचालनमा जोखिम बढाएको छ,’ उनले भने ।

दैनिक सयौं सवारी आवातजावत गर्ने सिद्धिचरण लोकमार्ग अन्र्तगत कटारी घुर्मी सडकखण्ड स्तरोन्नतिको माग राख्दै स्थानीयले पटकपटक सडक बन्द समेत गर्ने गरेका छन् । 

कालोपत्र भत्किएर जीर्ण भएको सडक १२ वर्षसम्म पनि स्तरोन्नति नहुँदा कटारी हुँदै खोटाङ, ओखलढुंगा, सोलुखुम्बु र उदयपुरका बिभिन्न स्थान पुग्ने यात्रुले सास्ती भोग्नुपरेको छ । हिउँदमा धुलो र वर्षातमा हिलोका कारण सर्वसाधारणले सास्ती भोग्नु परेको भन्दै चुनावमा भोट माग्न आउने उम्मेदवारलाई त्यस क्षेत्रका नागरिकहरुले आक्रोश पोख्ने गरेका छन् । ‘सडक जीर्ण भएका कारण यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्, चुनाव जितेर गएका नेताले सडक स्तरोन्नति गर्न कुनै काम गरेनन्, यसपाली मतदान गर्ने बेला सोच्नैपर्ने भएको छ,’ ताप्ली गाउँपालिका–५ कटहरेका सुवास ठकुरीले भने । 

निर्वाचनका बेला उम्मेदवारले सिद्धिचरण लोकमार्ग कालोपत्र योजना आफ्नो पहिलो प्राथमिकता हुने भन्दै आश्वासन दिने गरेको भए पनि चुनावपछि सबैले वेवास्ता गर्ने गरेको उनको गुनासो छ । 

कटारी–घुर्मी खण्डमा दर्जनौं ठाउँमा खाल्डाखुल्डी परेका छन्, कालोपत्र उक्किएर सवारीसाधन चलाउन कठिन भएको चालकहरु गुनासो पोख्छन् । ‘धेरै वर्षअघि गरिएको कालोपत्र भत्किएर सडक बेहाल बनेको छ,’ कटारी–घुर्मी खण्डमा जिप सञ्चालन गर्दै आएका व्यवसायी नवराज ठकुरी भन्छन्, ‘खाल्डाखुल्डीको कुरै नगरौं, वान मिस्टेक गेम ओभर हो ।’

कटारी–घुर्मी ४६ किलोमिटर सडकखण्ड पार गर्न मालवाहक ट्रक तथा ठूला यात्रुवाहक बसलाई पाँच घण्टाभन्दा बढी लाग्ने गरेको छ । कटारी–मिर्चैया सडकखण्डमा मारुती र कसमस सिमेन्ट उद्योगका चुनढुंगा बोक्ने टिपरका कारण जीर्ण बनेको स्थानीयको भनाई छ ।

सिद्धिचरण लोकमार्ग अन्तरगत कटारी–घुर्मी सडक कालोपत्रका लागि आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ९ करोड बजेट विनियोजन भए पनि त्यो वर्ष ठेक्का लाग्न सकेन । उदयपुर क्षेत्र नम्बर २ का निवर्तमान सासंद अम्बरबहादुर रायमाझीले वन तथा वातावरण मन्त्रालयले समयमै वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) रिपोर्ट नबुझाउँदा अर्थ मन्त्रालयले स्रोत सुनिस्चित गर्न नपाएर ठेक्का लाग्न नसकेको बताए । ‘यो आर्थिक वर्षमा ठेक्का लाग्ने सम्भावना भए पनि जेन–जी आन्दोलनका कारण जलेका सरकारी संरचना निमार्णका लागि रकामान्तर हुने सम्भावना देखिएकाले सबैले खबरदारी गर्न आवश्यक छ,’ उनले भने । २०५८ सालदेखि संचालनमा आएको कटारी–घुर्मी सडकले हिमाल, पहाड र तराईलाई जोडेको छ ।

राकेश नेपाली राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully