खानेपानीले हर्क बढाएका हर्क

धरानवासी पानी लिन सिटी सफारी, टेम्पो चढेरसमेत २/३ किलोमिटर टाढा जान बाध्य थिए । धेरैले महिनामा ५/६ पटक ट्यांकरको पानी किन्थे ।  ‘तिर्खाएको धरानलाई पानी देऊ’ भन्दै अभियान चलाएका हर्क साम्पाङले मेयर बनेको करिब ४ महिनामै धरानमा पानी ल्याए, त्यो पनि श्रमदानका भरमा ।

फाल्गुन ४, २०८२

गौरव पोखरेल, एलिना राई

Hark increased by drinking water

What you should know

धरान र  काठमाडौं — एकातिर कांग्रेस, एमाले उम्मेदवारका पछाडि सयौं कार्यकर्ताको भीड हुन्थ्यो, अर्कातिर एक स्वतन्त्र उम्मेदवार श्रोताविहीन सडकमा एकोहोरो भाषण गरिरहन्थे । सेतो सर्ट, कालो पाइन्ट अनि स्पोर्ट्स जुत्तामा कहिले मोटरसाइकल त कहिले सिटी सफारी लिएर उनी गाउँ–टोल डुलिराख्थे ।

खाली सडकमा उभिएर प्रश्न गर्थे, ‘पार्टी...पार्टी... भन्छन्, के हो पार्टी भनेको ? तपाईंको पार्टीको परिभाषा र सिद्धान्त थाहा छ ?’ 

झन्डा बोकेको भरमा १५ वर्षदेखि ‘ठुटे’ नेताहरूलाई जिताएकै कारण धराने जनताले खानेपानी पिउन नपाएको तर्क गर्थे । पार्टी मात्र होइन, त्यसका सिद्धान्त र एजेन्डा बुझ्न उनी सुझाउँथे । आफ्नो आवाज कसैले सुनेको छ/छैन भन्नेमा उनलाई मतलब थिएन । हर्क बोलिरहन्थे ।

‘खानेपानी त पाएको छैन, अरू कुरा के पाउनु ?’ धरानका अरू समस्या थप्दै उनी भन्थे, ‘मेयर बन्ने आकांक्षी उम्मेदवारमध्ये म तपाईंको चोकमा बोलिरहने व्यक्ति, जसले खानेपानी, स्वास्थ्य, शिक्षा, बिजुली, सडक, महँगी नियन्त्रण, एमसीसीजस्ता कुरा उठाएर हिँड्यो, त्यो व्यक्ति हर्क साम्पाङ पनि यसपालि चुनावमा भाग लिँदै छ ।’

१८ वैशाख २०७९ मा हर्क कांग्रेस उम्मेदवार किशोर राई र एमाले उम्मेदवार मञ्जु भण्डारी सुवेदीसँगै आफू पनि उम्मेदवार भएको स्मरण गराइरहेका थिए । ‘तपाईंहरूले किशोर राई, मञ्जु भण्डारीलगायतका मान्छेसँग मलाई पनि उभ्याउनुपर्छ अनि तपाईंको चाहना बुझ्ने को हो भन्ने छान्नुपर्छ,’ हर्क भन्थे, ‘अहिले पानी खुवाउने पैसाले पिकनिक खुवाइरहेका छन्, चुनाव भनेको पिकनिक खान जाने समय होइन, ५ वर्षमा कस्तो मान्छे चुन्छौं भन्ने जाँच दिने समय हो । चुनाव परीक्षा हो ।’

Hark increased by drinking waterएक्लै भाषण गरिहिँडेको यो दृश्य उनले ‘हर्क साम्पाङ अ रिभोलुसन’ नामक युट्युब च्यानलमा राखेका छन् । हर्क यसैगरी ६ वर्ष पहिले भएको उपनिर्वाचनमा पनि उम्मेदवार बनेका थिए । तर, ४ सय २२ मत मात्र ल्याए, एमालेको गण मानिने धरानमा कांग्रेसका तिलक राई मेयर बने । उपनिर्वाचनमा मतदाताले आफूतिर ध्यान नदिएको भन्ने बुझेरै होला, उनी २०७९ को निर्वाचनमा भने आफूलाई अरू उम्मेदवारसँगै उभ्याइदिन भनिरहेका थिए । र, मतदातासँग उनको मूलतः एउटै प्रतिबद्धता हुन्थ्यो, ‘वर्षौंदेखि काकाकुल धरानलाई घरघरको धारामा पानी आउने अवस्था बनाउँछु ।’

वर्षौंदेखि धरानका उम्मेदवारले यही एजेन्डा उठाउँदै आएका थिए । तर, कसैले समस्या समाधानमा उत्ति साह्रो ध्यान दिएनन् । मेयरमा उम्मेदवारी दिनुअघि हर्कले भने अभियन्ताका रूपमा 

आफ्नो अलग छवि बनाइसकेका थिए । त्यही कारण हुन सक्छ, चुनावी अभियानमा एक्लै देखिएका उनले मतपरिणाम आउँदा बाजी मारे । हर्कले आफूलाई कांग्रेस र एमाले उम्मेदवारसँगै उभ्याइदिनू भनेका थिए, परम्परागत दलका वर्षौंदेखिका आश्वासनबाट आजित मतदाताले २० हजार ८ सय २१ मत दिएर हर्कलाई मेयर चुने । त्यति बेला सत्ता गठबन्धन (कांग्रेस–माओवादी) का किशोरले १६ हजार ५९ र एमालेकी मञ्जुले १२ हजार ८ सय २५ मत ल्याए । 

राजनीतिमा प्रवेश गर्नुअघिबाटै सामाजिक सञ्जालमा सक्रिय हर्कले मेयरको शपथ लिएलगत्तै ‘पानी नआउने, लाइन नआउने समस्या, बेथिति र अनियमितता भएको अवस्थामा मलाई सिधा सम्पर्क गर्नू’ भन्दै आफ्नो मोबाइल नम्बर सार्वजनिक गरेका थिए । ‘मलाई बधाई र जस दिइरहनु पर्दैन, यी सब धराने जनताले गरेर देखाएका हुन्,’ उनले लेखेका थिए, ‘असली बधाईको हकदार म होइन, बधाई दिनै छ भने धराने जनतालाई दिनू ।’ 

Hark increased by drinking waterनिर्वाचित भएलगत्तै उनले दिवंगत कृष्णनारायण पालिखेलाई सम्झिइरहेको लेखेका थिए । कृष्णनारायण धरानका पूर्वउपप्रमुख हुन्, जो भ्रष्टाचारविरुद्ध उठाएको आवाजका कारण धरानमा चर्चित थिए । उनले उपप्रमुख छँदा भ्रष्टाचारकै विषयलाई लिएर राजीनामा दिएका थिए, पछि पनि भ्रष्टाचारविरोधी अभियन्ताका रूपमा सक्रिय भएका थिए । कृष्णनारायणले जनसरोकार मञ्चमार्फत चलाएको अभियानमा हर्क निरन्तर रूपमा सहभागी हुन्थे । २०७६ मा कृष्णनारायणको निधन भएपछि त्यस अभियानलाई हर्कले नै निरन्तरता दिएका थिए । 

सिंगो देशले लौरो चुनाव चिह्नबाट स्वतन्त्र रूपमा मेयर निर्वाचित भएपछि चिने पनि धरानमा हर्क एक दशकअघिबाटै विकृति, विसंगतिविरुद्ध खरो आवाज उठाइरहने अभियन्ता थिए । २०७२ मा मदन भण्डारी राजमार्ग विस्तारका क्रममा धनकुटे सडकमा धेरैको घर भत्किने भएपछि हर्कको नेतृत्वमा विरोध प्रदर्शन भएको थियो । त्यस अभियानलाई धेरैले साथ दिएका थिए र उनलाई धरानभरि चिनाउने माध्यम पनि त्यही बन्यो । महेन्द्र बहुमुखी क्याम्पसको जग्गा भूमाफियाले हडप्न गरेको चलखेलविरुद्ध धर्नादेखि धनकुटे सडकमा भएको खाल्डाखुल्डी नपुरिएको प्रति विरोध जनाउँदै सडकमै फूल रोपेर हर्कले विरोध गरेका थिए । 

हर्कले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर भारतले नयाँ नक्सा जारी गरेपछि २७ पुस २०७८ मा धरानमा विरोध प्रदर्शन गरेका थिए । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइँदा उनको पक्षमा समेत प्रदर्शन गरे । कुलमानका पक्षमा हर्कसहितको समूहले चलाएको अभियानको नारा नै थियो, ‘तीन करोड नेपालीको चाहना कुलमानलाई राख त्यही पदमा ।’ सचेत स्वतन्त्र धरान अभियानअन्तर्गत उनी यस्ता अभियान चलाउँथे । 

Hark increased by drinking waterहर्कले सबैभन्दा लामो समयदेखि चलाउँदै आएको अर्को अभियान खानेपानी समस्या समाधानसम्बन्धी हो । पालिकाको कार्यालय अगाडि खानेपानीका अभावविरुद्ध समेत उनले निरन्तर आवाज उठाउँदै आएका थिए । खानेपानीको समस्या लिएर पालिका कार्यालय जाँदा एक पटक अपमानजनक रूपमा निकालिएका पनि थिए । दीर्घकालीन खानेपानी व्यवस्थापन संघर्ष समिति नै गठन गरेर अघि बढेका उनी अनेक अपमानका बाबजुद पनि कहिल्यै रोकिएनन् । ‘हामी बर्सेनि खानेपानीको देउसीभैली खेल्दै आएका छौं, खेलिरहने छौं,’ १७ वैशाख २०७६ मा भानुचोकमा हस्ताक्षर अभियानपछि उनले भनेका थिए । 

धरानमा खानेपानी समस्या समाधानका लागि एसियाली विकास बैंक (एडीबी) को सहयोगमा २ अर्ब १९ करोड रुपैयाँ बराबरको परियोजना अघि बढाइएको थियो । त्यसमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्‍यो । भ्रष्टाचारको छानबिनको माग राख्दै प्रदर्शन गर्ने क्रममा हर्कले खानेपानीको मुहान तोडफोडसमेत गरे । जसका कारण २० साउन २०७७ मा पक्राउ परे । सार्वजनिक शान्तिविरुद्धको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरेर उनलाई १५ दिन हिरासत राखियो । धरौटीमा छुटेपछि समर्थकले उनलाई खादा, मालासहित स्वागत गरे । भ्रष्टाचार र बेथितिविरुद्ध बोल्ने साहस गरेकाले आफूलाई गिरफ्तार गरिएको उनको भनाइ थियो । ‘मुद्दा अझै टुंगो लागेको छैन । तर धराने जनताले बुझिसकेका छन्– सत्य के हो, न्याय के हो,’ उनले भनेका थिए । 

Hark increased by drinking waterहर्क मेयर भएपछि अरू जनप्रतिनिधिजस्तो प्रशासनिक काममा मात्र अल्झिएर कार्यालयमा बसिरहेनन् । जनताको तिर्खा मेटाउन श्रमदान अभियान चलाउन थाले । हरेक शनिबार आफैं ढुंगा बोकिरहेको देखिन थाल्यो । ‘कति दिन त मेरो हातमा ठेला हुन्थे, तर त्यो देख्दा मलाई ढुंगाको मान्छे हुँ कि जस्तो लाग्थ्यो,’ हर्क स्वयं कान्तिपुरसँग भन्छन्, ‘पानी माग्दै सिंहदरबार पुगें, अनेकतिर धाएँ । तर सहयोग नभएपछि स्थानीय स्रोतबाट व्यवस्थापन गर्न लागिपरें ।’ 

हर्कले धरान–२० मा पर्ने कोकाहा खोलाको पानी बराहक्षेत्र नगरपालिका हुँदै घना जंगलबाट धरानसम्म ल्याउने प्रयास थाले । ‘तिर्खाएको धरानलाई पानी देऊ’ भन्दै अभियान चलाएका उनले मेयर बनेको करिब चार महिनामै धरान बजारमा पानी ल्याए । मेयर निर्वाचित भएलगत्तै घरदैलोमा जाँदा गरेको वाचा पूरा गर्न कस्सिएका हर्कले श्रमदानमार्फत खर्दु र निसाने खोलाको पानी धरान ल्याए । पानी आएपछि उनले सामाजिक सञ्जालमा भिडियो राख्दै भनेका थिए, ‘खर्दु र निसानेलाई मात्रै जोडेका छौं, सर्दु जोड्न बाँकी छ । सर्दु पनि जोडेपछि झन् ठूलो आउनेछ फोहरा ।’ त्यति बेलाको भिडियोमा हर्क धरानवासीसँगै पानीको फोहरामा भिज्दै गरेको देखिन्छ । पानी ल्याउन ९९ दिनसम्म चलेको जनश्रमदानमा उनी आफैं पनि खटिएका थिए । 

हर्क मेयर निर्वाचित हुनुअघि धरानवासी पानी लिन सिटी सफारी, टेम्पो चढेरसमेत २/३ किलोमिटर टाढा जानुपर्थ्यो । धेरैले महिनामा ५/६ पटक ट्यांकरको पानी किन्नुपर्थ्यो । ‘अरू नेताले चुनावको बेला यो गर्छु, त्यो गर्छु भन्थे तर कहिल्यै पूरा गर्थेनन् । तर उहाँले जे भन्नुभयो, पूरा गरिछाड्नुभयो,’ धरानका ६८ वर्षीय राधे कार्की भन्छन्, ‘त्यति बेला टाढाबाट पानी ल्याउनुपर्थ्यो, अहिले धारामै पानी आउँछ ।’ 

Hark increased by drinking waterकोकाहा खोला खानेपानी श्रमदान अभियानका प्रोजेक्ट म्यानेजर दत्त लिम्बूका अनुसार नागरिक सहभागिता, चन्दा र पालिकाको बजेटसमेत गरी ६ करोड ७८ लाख लागतमा करिब ४० किलोमिटर टाढाबाट धरानमा खानेपानी भित्र्याइएको हो । 

४० किलोमिटर जंगल क्षेत्रबाट प्लास्टिकको पाइपमा पानी ल्याइएकाले दीर्घकालीन नहुने हो कि भन्ने कतिपयको शंका छ । जंगल क्षेत्रमा खुला रूपमा पाइपबाट पानी ल्याउँदा पाइप फुस्कने, आगलागी र बाढीपहिरो आउँदा पाइपमा क्षति पुग्ने भएकाले दीर्घकालीन व्यवस्थापन गर्नुपर्नेमा कतिपय जोड दिन्छन् । धरानमा पानी ल्याइएयता डढेलोका कारण दुई पटक पाइपमा क्षति पुगेको थियो । ‘विभिन्न खोलाबाट पानी त ल्याइएको छ तर प्राविधिक रूपमा अझै व्यवस्थित गर्ने ठाउँहरू देखिन्छन्,’ महेन्द्र बहुमुखी क्याम्पसका पूर्वप्राध्यापक एवं विश्लेषक राजेन्द्र शर्मा भन्छन् ।

हर्कले धरानमा बारअनुसार सचेतनामुलक अभियान सुरु गरेका थिए । उनले बिहीबार ‘सरसफाई डे’, शुक्रबार ‘से नो टु ड्रग्स डे’ र शनिबार ‘श्रमदान डे’ भनेर छुट्याएका थिए । प्रत्येक शनिबार हुने बृहत् श्रमदानमा आसपासका जिल्ला र भारतका सिक्किम, दार्जिलिङबाट समेत मानिस श्रमदान गर्न आए । 

हर्कले ३ वर्षको कार्यकालमा धरान–१३ स्थित ओसो पार्कमा नगरपालिकाको लगानी, दाताको सहयोग र श्रमदानबाट पार्क बनाए र त्यसलाई श्रम संस्कृति पार्क नामकरण गरे । पार्क निर्माणपछि त्यसबाट आएको आम्दानी नगरपालिकालाई नै दिने भनिए पनि त्यो कार्यान्वयन नहुँदा विवाद भएको थियो । डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) तयार नगरी र सुरक्षा उपाय नअपनाई निर्माण गरिएकाले पार्कमा बाढीले क्षति पुर्‍यायो । 

Hark increased by drinking waterमेयर भएपछि हर्क एक पटक धरानमा विमानस्थल बनाउने भन्दै कस्सिएका थिए । तर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट साथ पाएनन् । अनेक पटक सिंहदरबार धाउँदा पनि सकारात्मक जवाफ नआएपछि उनी फर्किएका थिए । धरानबाट ५५ किलोमिटरको दूरीमा रहेको विराटनगरमै विमानस्थल हुँदाहुँदै अर्को विमानस्थल थप्नु व्यावहारिक नहुने सिंहदरबारको जवाफ थियो । ‘उहाँले हाम्रा लागि धेरै प्रयास गर्नुभएको छ,’ सडक व्यवसायी मणिकुमार राउत भन्छन्, ‘उहाँसँग जनता खुसी छन् ।’ 

चुनावअघि रोजगारीका लागि आफ्नै उद्योग चलाउने बताएका हर्कले धरान–२०, विष्णुपादुकामा माया धराने बेसार उद्योग सञ्चालनमा ल्याए । बेसार उद्योगको भवन निर्माणमा उपमहानगरपालिकाबाट १६ लाख ५० हजार र उपभोक्ताबाट २ लाख ८ हजार ६ सय ११ रुपैयाँ लगानी छ । उद्योगबाट आएको नाफाको ३४ प्रतिशत नगरपालिकालाई दिने सम्झौता रहेको उद्योग सचिव ओमसुच्चा राई बताउँछन् ।

हर्कले धरान उपमहानगरमा गरेका कतिपय काम भने विवादित छन् । मेयर बनेपछि सुरुमा माओवादीबाट निर्वाचित उपप्रमुख अइन्द्रविक्रम बेघाले राम्रै साथ दिइरहेको देखिन्थ्यो । तर बिस्तारै हर्क र अइन्द्रबीचमा श्रमदान रकम भुक्तानीसम्बन्धी विवाद देखिन थाल्यो । यो विवाद यति चर्कियो कि एक पटक मेयरको कार्यकक्षमा पुगेका बेघालाई हर्कका समर्थकले झन्डै हातपात गरे । वडा नं १६ मा रहेको बहुभाषिक पाठशालामा श्रमदानबाट गरिएको कामको जबर्जस्ती भुक्तानीका लागि दबाब दिइएको उपप्रमुख अइन्द्र पक्षको भनाइ थियो । उपमहानगरपालिकाको डोजर, एक्स्काभेटरलगायतको चाबी उपप्रमुखले दिन नमानेको हर्क पक्षले बताएको थियो । 

यस्तै, पश्चिम सर्दु रोकथाम समितिले नगरपालिकासँग भुक्तानी माग गर्दा पनि विवाद भयो । १७ लाख ४० हजार २ सय ९४ रुपैयाँ बराबरको श्रमदान गरेकामा नगरपालिकाबाट ७ लाख ४१ हजार भुक्तानी माग गरेपछि उपप्रमुख अइन्द्रले कानुनविपरीत भएको काममा समर्थन नगर्ने भन्दै भुक्तानी रोके । त्यसपछि हर्कले अइन्द्रप्रति यति इगो साधे कि मंसिर २०८१ मा बेलायत भ्रमणमा जाँदा वडाध्यक्ष लोकेन्द्र फागोलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिए ।

जबकि, स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय तहका प्रमुख वा अध्यक्ष ७ दिनभन्दा बढी कार्यालयमा अनुपस्थित हुनुपरे उपप्रमुख वा उपाध्यक्षलाई कार्यवाहक दिनुपर्ने व्यवस्था छ । उपप्रमुख अइन्द्रले अदालतमै मुद्दा हालेका थिए ।

पछि उच्च अदालत विराटनगरले उपप्रमुखकै पक्षमा आदेश दिँदै निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । पछि हर्कले अर्को सन्दर्भमा पत्रकार सम्मेलन गर्दा अनौठो तर्क गरेका थिए, ‘उपमेयरले शुभयात्रा भन्यो ?’ ‘ऐनले त उपमेयरलाई जिम्मेवारी दिनुपर्छ भनेर लेखेको छ नि ?’ भन्ने प्रश्नमा हर्कले आफू ऐन नै नमान्ने बताएका थिए । ‘त्यस्ता नाथे ऐन त हामी बनाउँछौं, जनताद्वारा निर्वाचित हुँ म,’ उनले थपे । 

२०७७ मा अभियन्ताका रूपमा हर्कले तत्कालीन मेयर तथा खानेपानी बोर्डका अध्यक्ष तिलक राईलाई ज्ञापनपत्र बुझाउँदै खानेपानीको शुल्क घटाउन माग गरेका थिए । आफू मेयर बनेपछि भने हर्कले १ साउन २०८१ देखि लागू हुने एकै पटक अत्यधिक शुल्क बढाए । शुल्क वृद्धिविरुद्ध धरानका १० राजनीतिक दलले चरणबद्ध आन्दोलनको घोषणसमेत गरे । खानेपानी व्यवस्थापन बोर्डमा ज्ञापनपत्र बुझाउँदै राजनीतिक दलले ७२ घण्टाभित्र महसुलको वृद्धिको निर्णय फिर्ता लिन आग्रह गरे । तर महसुलमा संशोधन नभएपछि स्थानीय, राजनीतिक दल र विद्यार्थीले नगरपालिका घेराउ गरे । झडपका कारण नगरपालिकाको गेटमा रहेको बोर्ड च्यातिएको थियो । 

धरान–१६ मा बहुभाषिक पाठशाला निर्माण गर्ने भन्दै हर्कले २९ साउन २०८० मा शिलान्यास गरेका थिए । २ करोड ६५ लाख ३५ हजार १ सय ८४ रुपैयाँ ४२ पैसाको लागतमा विभिन्न भाषा र लिपिको संरक्षण गर्ने हर्कको योजना थियो । तर विवाद बढेपछि काम अघि बढ्न सकेन । 

बहुभाषिक पाठशाला बन्नुभन्दा अघि नै निर्माण सुरु भएको प्रहरी चौकी त्यहीं बन्नुपर्ने अडान स्थानीय र वडाध्यक्ष मुरारी भट्टराईको थियो । प्रदेश सरकारबाट विनियोजन भएको बजेटबाट काम सुरु हुँदा तत्कालीन मेयर हर्कले काम रोक्का गरिदिन मन्त्रालयमै पत्राचार गरेपछि स्थानीय र वडाध्यक्ष आक्रोशित भएका थिए । वडाध्यक्ष भट्टराईले चौकी जसरी पनि त्यही ठाउँमा बनाउने भनेका थिए । तर हर्क अडानबाट पछि हटेनन् । 

Hark increased by drinking waterहर्कले अघि सारेको माया धराने साबुन उद्योगको योजना पनि उस्तै कारणले अलपत्र छ । यो उद्योग राख्न धरान–२० को जलकन्या सामुदायिक वनको जग्गा सम्याउने क्रममा जिल्ला वन कार्यालयले आफ्नो क्षेत्राधिकारको जग्गामा डोजर चलाइएको भन्दै विरोध जनाएको थियो । कार्यालयका कर्मचारी काम भइरहेकै ठाउँमा पुगेर कुरा राखेपछि हर्कले भनेका थिए, ‘धरानभित्रको जग्गा नगरको हो, नगरले निर्णय गरेपछि तपाईंको बोल्ने काम छैन ।’ 

वन कार्यालयले मंसिर २०७९ मा वातावरणीय प्रभाव मूल्यांकनबिनै आफ्नो जग्गामा उद्योग खोल्न लागिएको भन्दै उच्च अदालत, विराटनगरमा रिट दायर गर्‍यो । बदलामा हर्कले धरानको तीनकुनेमा बन्दै गरेको प्रदेश वन निर्देशनालय भवनको नक्सा पास नभएको भन्दै निर्माण रोक्न लगाए । पछि नक्सा पास नभएको विषय यत्तिकै सेलायो, अदालतले पनि साबुन उद्योग खोल्न अनुमति दियो र अहिले सञ्चालनको तयारीमा छ । 

हर्कले अघि सारेको श्रमदान अभियानको पारदर्शिताप्रति प्रश्न उठाउने पनि धेरै छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) धरानका संयोजक उद्धव लिम्बू हर्कले जनताबाट उठाएको चन्दा रकमबारे अहिलेसम्म स्पष्ट र पारदर्शी विवरण सार्वजनिक नगरेको बताउँछन् । ‘यो हजार वा लाख रुपैयाँको कुरा होइन, करोडौं उठाइएको छ । तर त्यसबारे उहाँले कहिल्यै स्पष्ट, विश्वसनीय रूपमा हिसाबकिताब सार्वजनिक गर्नुभएको छैन,’ उनी भन्छन् ।

अधिकांश चन्दा विदेशमा रहेका नेपालीबाट उठाइएको थियो । यसरी पैसा ल्याउँदा कतैबाट अनुमति नलिएको आरोपसमेत लाग्ने गर्छ । हर्क र उनको समूहले विभिन्न परियोजनाका नाममा उठाएको रकम अहिलेसम्म कहाँ–कहाँ खर्च भयो र अहिलेसम्म कति रकम संकलन भयो भन्ने विवरण स्पष्ट देखिँदैन । हर्क भने अभियानका लागि भनेर आएको रकममध्ये एक पैसा पनि आफूले नछोएको बताउँछन् । 

हर्कले धरान–२०, चिन्डेडाँडास्थित तामाङ समुदायको पुरानो बस्ती वरपर डाँडामा राई जातिले सृष्टिकर्ताका रूपमा पुज्ने सुम्निमा–पारुहाङको मूर्ति निर्माणका लागि संसारभरका नेपालीसँग रकम उठाइरहेका छन् । हर्कले मूर्ति निर्माणको प्रस्ताव कार्यपालिका बैठकमा लगेका थिए । बैठकले हर्ककै संयोजकत्वमा पाँच सदस्यीय अध्ययन समिति बनाएको थियो । तर समितिले अध्ययन गरेन । बरु हर्कले आफैं अध्यक्ष बनेर सुम्निमा–पारुहाङ प्रतिष्ठान नेपाल नामको संस्था दर्ता गराए । 

चिन्डेडाँडाभन्दा केही माथि बाघखोप भन्ने डाँडामा उपमहानगर मातहतकै खाली जमिन छ । स्थानीय बासिन्दाले त्यस ठाउँमा मूर्ति र पार्क बनाउँदा जग्गा किन्नु नपर्ने सुझाव दिए पनि हर्कले सुनेनन् । करोडौं खर्च हुने चिन्डेडाँडामै मूर्ति र पार्क बनाउन खोज्नुको प्रमुख कारण जग्गा कारोबारसँग जोडिएको आरोपसमेत लागेको थियो । प्रतिमा निर्माणका लागि भन्दै चन्दा संकलन गरिरहेका व्यक्तिहरूकै संलग्नतामा चिन्डेडाँडानजिकै जग्गा प्लटिङ भइरहेका कारण आशंका उत्पन्न भएको थियो । देश–विदेशमा विभिन्न समूह बनाएर अझै पैसा संकलन भइरहेको छ । 

Hark increased by drinking waterमूर्ति निर्माणकै नाममा धरानमा दुई पटक सांगीतिक कार्यक्रम गरेर १ करोड ५० लाख ७० हजार ५ सय उठाइएको कार्यक्रम संयोजक मीना सिंघकले सार्वजनिक गरेकी थिइन् । चन्दा उठाउन हर्क बेलायत पुगेका थिए । हङकङसमेत जान खोजेका थिए । तर, सिधै चन्दा दिने कि नदिने भन्नेमा विवाद भएपछि उनले अन्तिममा फेसबुकमार्फत नै त्यहाँ नजाने बताएका थिए । 

हर्कले चिन्डेडाँडामा सुम्निमा पारुहाङको विशाल प्रतिमा निर्माण गर्ने अभियान सुरु गरेपछि उनका सहयोगी दत्त लिम्बूले लेखेको एउटा फेसबुक स्टाटस चर्चाको विषय बनेको थियो । उनले स्टाटसमा निर्माणस्थलदेखि करिब पाँच सय मिटर दूरीमा रहेको दुई बिघा जग्गा प्लटिङ गरिएको र त्यसको कित्ताकाट नक्सासहित बिक्री खुला गरिएको भन्दै सूचना सार्वजनिक गरेका थिए । यसपछि उनको पोस्टले स्थानीय बासिन्दा र सामाजिक सञ्जालमा धेरै प्रश्न र आलोचना निम्त्याएको थियो । स्थानीय निशा तामाङ भन्छिन्, ‘जग्गा प्लटिङ गरेर सुम्निमा–पारुहाङका नाममा महँगो मूल्यमा बिक्री भएको छ । त्यसमा पूर्वमेयरका नजिकका व्यक्ति हुनुले प्रश्न गर्ने ठाउँ छ ।’ 

उपमहानगरमा नातेदारलाई कर्मचारी बनाएको आरोप पनि लाग्ने गर्छ । उमेर हदको कारण देखाउँदै चौकीदार धरान–२ का राजा लिम्बू र माली धरान–१४ का प्रकाश राईलाई साउन २०८० मा अवकाश दिइएको थियो । उनीहरूलाई जिम्मेवारीबाट हटाएर हर्कले ज्वाइँ अभिषेक राई र आफूनिकटका अनुज भुजेललाई नियुक्ति दिएको भन्दै विवाद भएको थियो । चौकीदारका रूपमा रहेका लिम्बू घण्टाघर निर्माण अवधिदेखि नै करारमा कार्यरत थिए, राई ८ वर्षदेखि काम गर्दै आएका थिए । 

***

धरान उपमहानगरको मेयरमा ५ वर्षका लागि चुनिएका हर्क जेन–जी आन्दोलनपछि उत्पन्न विषम परिस्थितिमा नेपाली सेनाले सहजीकरण गरिरहेका बेला काठमाडौं आएका थिए । २६ भदौमा जंगीअड्डा पुगेर उनले प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट गरेका थिए । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नागरिक सरकारको प्रमुखका रूपमा जेन–जी अभियन्ताले सिफारिस गरेको खबर सार्वजनिक हुँदा उनका समर्थकले जंगीअड्डाबाहिर प्रदर्शन गरेका थिए । 

पछि उनले कार्की सरकारमा गृहमन्त्रीको समेत दाबी गरेका थिए । तर कार्कीले आफ्नो विश्वासपात्र ओमप्रकाश अर्याललाई रोजिन् । त्यसयता उनले देशमा माटो सुहाउँदो छुट्टै शक्ति चाहिएको भन्दै श्रम संस्कृति पार्टी गठन गरे । उनले १ कात्तिकमा निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका थिए । काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका कुलमान घिसिङबीच वैकल्पिक शक्ति एक ठाउँ आउनेबारे छलफल हुँदा भने हर्क छुटे । 

Hark increased by drinking waterखासमा हर्क काठमाडौंका मेयर बालेन्द्रविरुद्ध केही पहिलेदेखि सामाजिक सञ्जालमा खरो रूपमा प्रस्तुत हुँदै आएका थिए । एक पटक आफूलाई आलोचना गर्दै हर्कले लेखेको पोस्टमा बालेन्द्रले ‘आई लभ यु’ भन्दै प्रतिक्रिया लेखेका थिए । हर्कचाहिँ त्यसलाई बालेन्द्रको ‘पराजित मानसिकता’ भन्दै जवाफ दिन्छन् । एउटै चिह्नबाट चुनाव लडेर कुनै बेला बालेन्द्रलाई भेट्न काठमाडौं पुगेका हर्क अहिले झापा–५ मा उनलाई आफ्नो उम्मेदवारले हराउने दाबी गरिरहेका छन् ।  

***

श्रम संस्कृति पार्टी खोलेर आफू प्रधानमन्त्री बन्ने भन्दै चुनावी दौडमा रहेका हर्कमाथि कुनै बेला नक्कली माओवादी बनेको आरोप पनि लागेको थियो । यसबारे धरानका पत्रकार गोपाल दाहालले खोज पत्रकारिता केन्द्रका लागि समाचार लेख्दा हर्कले दाहाल र पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईको पत्रकारिता अन्त्य गरिदिने धम्की दिएका थिए । 

साम्पाङले समाचारको एउटा अंशलाई मात्र लिएर सामाजिक सञ्जालमा धम्कीपूर्ण सन्देश लेखेका थिए । नक्कली माओवादीको प्रसंग के हो त ? जति बेला माओवादीका नाममा चन्दा माग्ने समूहबारे खोजी गर्न पार्टीले टोली खटाएको थियो । त्यस क्रममा हर्कलाई वाईसीएलले समातेर धरान–१५ मा रहेको शिविरमा पुर्‍याएको पुष्टि गर्न खोज पत्रकारिता केन्द्रले तत्कालीन इन्चार्ज प्रवेशसँग पनि कुरा गरेको थियो ।

हर्कले मोटरसाइकलमा वाणिज्य बैंक अगाडि गएको स्वीकार गरे तर चन्दा उठाउने कार्यमा संलग्नता इन्कार गरेका थिए । ‘सम्पूर्ण राई र इन्द्र राईले साथीको नाताले मोटरसाइकल माग्नुहुन्थ्यो, म लानू न त भन्थें । बिहान लगेको मोटरसाइकल बेलुकी मात्र ल्याउने हुँदा तेल पनि सकिन्थ्यो,’ हर्कले भनेका छन्, ‘एक दिन बाइक माग्ने कुरा आउँदा मै पुर्‍याइदिन्छु भनेर वाणिज्य बैंकमा गएको थिएँ ।’

त्यस बेला आफ्नै जनसरकार चलाउने माओवादीले आफूहरूमाथि दुर्व्यवहार गरेको उनको भनाइ थियो । आफूले लगाएको ‘फुल हेलमेट’ खोल्दा अर्कै रहेको चाल पाएपछि गल्ती भएको भनेको हर्कले जिकिर गरेका छन् । 

***

हर्क खोटाङको कोपिलासगढी। खार्ताम्छामा २०३९ मा जन्मिएका हुन् । त्यहींको कुहुडाँडा माविबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेर उनी २०५६ तिर धरान झरेको त्यस बेलादेखिकै उनका साथी मित्रकुमार राई बताउँछन् । ‘उहाँको बुबा ब्रिटिस आर्मीमा हुनुहुन्थ्यो, प्राथमिक तह र एसएलसीपछि उच्च शिक्षा धरानमै पढ्नुभएको हो,’ उनले भने, ‘स्कुल पढ्दा उहाँ जोक सुनाइरहने, साथीभाइलाई हँसाउने, हिन्दी फिल्मको कहानी सुनाउने, रमाइलो गर्ने स्वभावको हुनुहुन्थ्यो ।’ 

कुहुडाँडा माविका पूर्वप्रधानाध्यापक टेकबहादुर क्षेत्रीका अनुसार हर्क कक्षामा मध्यम खालका भए पनि हक्की स्वभावका थिए । शिक्षक ढिलो आए प्रश्न गरिहाल्ने उनको स्वभाव थियो । कहिलेकाहीँ शिक्षक नआउँदा आफैं पढाउनसमेत अघि सर्थे उनी । 

Hark increased by drinking waterहर्क अहिले धरान–१८, बुद्धचोकमा बस्छन् । धरानकै महेन्द्र बहुमुखी क्याम्पसबाट मानविकी संकायमा स्नातक तह पूरा गरे । उनी पहिलेदेखि नै सांगीतिक क्षेत्रमा पनि रुचि राख्थे । अहिले पनि अनेक विषयमा व्यंग्य गर्दै गीत तयार पारेर सामाजिक सञ्जालमा राख्छन् । हर्कले कुनै बेला धरानमा ‘द पर्फेक्ट इङ्लिस ल्याङ्वेज एन्ड कम्प्युटर सेन्टर’ चलाएका थिए । त्यहाँ उनी ट्युसन पढाउने र कम्प्युटर सिकाउने गर्थे । पछि रोजगारीका क्रममा झन्डै ६ वर्ष इराक र अफगानिस्तानमा बिताए । विदेशबाट फर्केपछि केही अटो किनेर भाडामा चलाउन दिएका थिए । उनले आफू अध्यक्ष बसेर ‘एकता टेम्पो यातायात व्यवसाय’ स्थापना गरेका थिए । 

हर्कको रुखो शब्द/शैलीका कारण उनका समर्थक कहिलेकाहीँ रिसाउँछन् । उनी स्वयं भने आफू कडा नभई यथार्थ बोल्ने बताउँछन् । ‘सत्य कुरा बोल्न मलाई डर लाग्दैन, हिचकिचाहट पनि लाग्दैन, लाज पनि लाग्दैन,’ उनी भन्छन्, ‘त्यसैले कतिपयलाई मेरो बोली अलिकति कडाजस्तो लाग्छ ।’ हक्की स्वभाव भएकैले उनले आफ्नो उपनाम ‘क्रान्ति’ राखेका छन्, त्यसैले फेसबुकमा समेत लेखेका छन्, ‘हर्क साम्पाङ – अ रिभोलुसन ।’

-(खोटाङबाट डम्बरसिंह राईको सहयोगमा)

गौरव पोखरेल गौरव कान्तिपुरका पत्रकार हुन् । उनी सुरक्षा मामिला र सुशासनका विषयमा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

एलिना राई एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully