काठमाडौं-३ : कुलमानको 'इन्ट्री'ले तातेको माहोल, कस्तो छ भूगोल ?

कांग्रेस र एमालेले आलोपालो जस्तै गरी जित्दै आएको यस क्षेत्रमा उनेपा अध्यक्ष कुलमान घिसिङ र रास्वपाबाट राजु पाण्डेको उम्मेदवारीले पनि माहोल तातेको छ ।

माघ २०, २०८२

दुर्गा दुलाल

Kathmandu-3: Kulman's 'entry' has heated up the atmosphere, what is the geography like?

What you should know

काठमाडौँ — काठमाडौं-३ यस्तो निर्वाचन क्षेत्र हो,  जहाँका मतदाताले हरेक चुनावमा आफ्नो मत फरक तरिकाले परीक्षण गरिरहेका देखिन्छन् । हरेक निर्वाचनमा काठमाडौं-३ ले प्राय: फरक दलका उम्मेदवारलाई जिताउने गरेको छ । 

कांग्रेस र एमालेले आलोपालो जस्तै गरी जित्दै आएको यस क्षेत्रमा उनेपा अध्यक्ष कुलमान घिसिङ र रास्वपाबाट राजु पाण्डेको उम्मेदवारीले पनि माहोल तातेको छ । 

गोकर्णेश्वर-४ मा पर्ने पुरानो बस्ती ‘देशे’ गाउँमा भेटिए वर्ष ४९ का अष्टलाल मर्हजन यस पटक उम्मेदवार भोट माग्न आइनसेको बताउँछन् । ‘हालसम्म कोही पनि उम्मेदवार भोट माग्न आएका छैनन् । मैदानमा २० भन्दा धेरै उम्मेदवार छन् भन्ने सुनेको छु,’ मर्हजनले भने, ‘विगतमा एमाले र कांग्रेस दुवै दलका उम्मेदवारलाई भोट दिएको हुँ । यस पटक भोट माग्न दलहरू आएपछि निर्णय गर्ने विचारमा छु ।’ जनताका कुरा सुन्ने र काम गर्ने मान्छे नै आफूले रोज्ने उनको भनाइ छ । खानेपानी,ढल र स्थानीय समस्या सुन्ने उम्मेदवार छान्ने मनस्थितिमा रहेकाले पनि आफ्नो भोट खेर नजाने बताउँछन् उनी । 

सुन्दरीजलमा भेटिएकी औषधि पसल चलाउँदै आएकी मीना गुरुङ भने यस पटक प्रत्यक्ष र समानुपातिकमा फरक-फरक दललाई मत दिने सोचमा रहेको बताउँछिन् । ‘अहिलसम्म परिवारमा भोट बाँडेर हाल्ने छलफल चलिरहेको छ । भोट माग्न कोही पनि आइपुगेका छैनन्,’ गुरुङले भनिन् ‘ उम्मेदवारले घरदैलो गरेपछि निर्णय गर्नुपर्छ । तर प्रत्यक्षतर्फको भोट भने यहाँको समस्या सुन्ने उम्मेदवारलाई नै दिइन्छ । ’

Kathmandu-3: Kulman's 'entry' has heated up the atmosphere, what is the geography like?गोकर्णेश्वर-५का बुद्धिप्रसाद पुडासैनी कपडा पसल चलाउँछन् । उनी पनि नयाँ उम्मेदवारले केही गर्छन् कि भन्ने आशमा रहेको बताउँछन् । नयाँपाटीकी जानुका खनाल यस पटक पुराना दललाई भोट नदिने पक्षमा छन् । ‘विगतमा कांग्रेस र एमालेलाई नै मत दिएका हौँ, यस पटक नयाँलाई हेर्ने कि भन्ने सोच छ,’ उनले भनिन् ।

गोकर्णेश्वर-५ का रामजी गिरी भने देशमा अराजकता र बेथिति बढेको बताउँछन् । त्यसैले देशलाई सही मार्गमा हिँडाउन सक्ने दललाई मत दिने उनले बताए । तर हालसम्म कसैले पनि मत नमागेको पनि उनको भनाइ छ ।

कांग्रेस र एमालेले पालैपालो जित्दै आएको यो क्षेत्रले अहिलेसम्म  २०६४ पछि लगातार  दुई पटक कसैले पनि जितेका छैनन् । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा कांग्रेसका चक्रबहादुर ठकुरीले एमाले उम्मेदवार रामेश्वर फुयाँललाई पराजित गरेका थिए । २०७० सालमा फुयाँलले ठकुरीलाई पराजित गरे । ठकुरी र फुयाँल दुवै गाविस अध्यक्ष हुँदै प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका थिए । ठकुरी जोरपाटी गाविसका पूर्वअध्यक्ष थिए भने फुयाँल आलापोटका । 

२०७४ मा एमाले उम्मेदवार कृष्णबहादुर राईले जित हात पारे भने कांग्रेसकी अम्बिका बस्नेत पराजित भइन् । तर प्रदेशसभामा भने बाबुसँग प्रतिस्पर्धा गर्दै आएका फुयाँल विमल ठकुरीसँग प्रतिस्पर्धामा उत्रिए । ठकुरी पराजित भए भने फुयाँल निर्वाचन भए ।

Kathmandu-3: Kulman's 'entry' has heated up the atmosphere, what is the geography like?२०७९ सालको निर्वाचनमा फेरि नतिजा कांग्रेसको पक्षमा आयो । अघिल्लो पटक जितेका एमाले उम्मेदवार कृष्णबहादुर राईले हारे र कांग्रेसका सन्तोष चालिसे विजयी भए । यसरी काठमाडौं निर्वाचन क्षेत्र नम्बर-३ का मतदाताले एमाले र काग्रेंस उम्मेदवारलाई आलोपालो नै गरी संसद्‍मा पठाएको इतिहास छ । 

यस पटक दोहोरिएका उम्मेदवार एमालेका रामेश्वर फुयाँल मात्र हुन् । कांग्रेस , नेकपा र राप्रपाबाट नयाँ अनुहार मैदानमा छन् । निर्वतमान सांसद चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि कांग्रेसले मैदानमा गोकर्णेश्वर-६ का पूर्ववडाध्यक्ष रमेश अर्याललाई उम्मेदवार बनाएको छ । नेकपाले निरज लामालाई उम्मेदवार बनाएको छ । त्यस्तै रास्वपाले भने पूर्व महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई प्रतिस्पर्धामा उतारेको छ । 

रास्वपावाट अलग भएर आफैं उज्यालो नेपाल पार्टी बनाएर राजनीतिमा आएका कुलमान घिसिङ पनि मैदानमा छन् । घिसिङको  गृहजिल्ला रामेछाप हो । तर, उनी बौद्धकै महांकालमा बस्ने भएकाले यस क्षेत्रलाई रोजेको देखिन्छ । त्यस्तै राप्रपाले पनि बौद्धकै उम्मेदवारलाई मैदानमा उठाएको छ।  

कस्तो छ भूगोल ?

काठमाडौं-३मा काठमाडौं महानगरपालिकाको वडा नम्बर ६, गोकर्णेश्वर नगरपालिकाका सबै वडा र कागेश्वरी मनोहरा नगरपालिकाका १ ,२ र ३ वडा पर्छन् । २०४८ सालमा काठमाडौं जिल्लामा ५ वटा निर्वाचन क्षेत्र थिए । जनसंख्या बढ्दै गएपछि २०५६ सालमा क्षेत्र संख्या ७ बनाइयो ।

Kathmandu-3: Kulman's 'entry' has heated up the atmosphere, what is the geography like?२०५८ सालको जनगणनाको नतिजा २०६० सालमा सार्वजनिक भएपछि काठमाडौंको जनसंख्याअनुसार निर्वाचन क्षेत्र थप बढ्यो । ७ बाट काठमाडौंमा १० निर्वाचन क्षेत्र पुगे । त्यसपछि यीनै क्षेत्र अहिले पनि कायमै छन् । १० क्षेत्रलाई आधार मानेर पहिलो पटक २०६४ सालमा निर्वाचन भएको थियो । सुरुमा भएका १ र २ निर्वाचन क्षेत्रलाई अलग गराउँदै काठमाडौं-३ निर्माण भएको थियो । 

पहिलो आमनिर्वाचनमा १ नम्बर क्षेत्र र २०५६ मा २ नम्बर क्षेत्रमा रहेका काठमाडौं महानगरपालिका वडा नम्बर ६, तत्कालीन जोरपाटी गाविस अहिले तीन नम्बरमा पर्छन् । दुईपल्ट तत्कालीन क्षेत्र नम्बर २ मा रहेका बालुवा, गोकर्णेश्वर, नयाँपाटी र सुन्दरीजल पनि यही क्षेत्रमा पर्छ । कुनै समय १ नम्बरमा रहेका भद्रवास र आलापोट क्षेत्र अहिले क्षेत्र नम्बर ३ मा पर्छन् । २०४८ मा २ र २०५६ मा १ नम्बरमा रहेको गागलफेदी पनि अहिले क्षेत्र नम्बर ३ भएको छ। 

१० वटा निर्वाचन क्षेत्र निर्माण हुनुअघि  १ नम्बरमा एमालेको वर्चश्व थियो । २ नम्बरमा पनि कांग्रेसबाट एक पटक दमननाथ ढुंगाना निर्वाचित भएका थिए । उनीबाहेक सधैं एमालेका उम्मेदवार निर्वाचित हुन्थे । 

कुलमानको इन्ट्रीले तातेको माहोल 

उनेपा अध्यक्ष कुलमान घिसिङले रोजेका कारण पनि काठमाडौं-३ चर्चामा रहेको छ । कुनै समय सहकार्य र पछि एउटै दल बनाउने सहमति भए पनि कुलमानले अलग्गै दल बनाए ।

Kathmandu-3: Kulman's 'entry' has heated up the atmosphere, what is the geography like?रास्वपाले कुलमानविरुद्ध पूर्वमहानर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई उठाएको छ । कुलमानले आफूले देशलाई लोडसेडिङ मुक्त गराएको नारा अगाडि सारेका छन् । उम्मेदवारहरू पार्टी प्यालेसदेखि चिया पसलसम्म पुगेर मतदाता रिझाउने काम गरिरहेका छन् । यसैक्रममा माकलबारीमा भेटिए कुलमान । बागमती करिडोरमा कार्यकर्तासँग भेटिएका उनले यस पटक यस क्षेत्रबाट आफू निर्वाचित हुने आधार तय भएको दाबी गरे । 

त्यस्तै एमालेका उम्मेदवार रामेश्वर फुयाँलले पनि आफैंले जित्ने दाबी गरे । थली क्षेत्रमा कार्यकर्तासँगै भेटिएका उनले यस पटक एमालेले जित हात पार्ने निश्चित रहेको तर्क गरे । अघिल्लो पटक प्रदेशसभामा उठेर आफू पराजित भएकाले यस पटक मतदाताले न्याय गर्ने उनको दाबी थियो । 

कांग्रेस उम्मेदवार रमेश अर्याल पनि गोकर्णेश्वर मन्दिर क्षेत्रमा भेटिए । उनी अगुवा कार्यकर्तासँग चुनावी रणनीति बनाइरहेका थिए । कांग्रेसले जितेको क्षेत्र भएको र उनी आफैं पनि पूर्ववडाध्यक्षसमेत भएका कारण उनी निर्वाचन जित्नेमा ढुक्क नै देखिन्छन् । विगतमा आएको मत जोगाउन सकेमात्र पनि आफूले जित हात पार्ने उनको तर्क छ । 

Kathmandu-3: Kulman's 'entry' has heated up the atmosphere, what is the geography like?मतदातामाझ पहिलो पटक पुगेका रास्वपा उम्मेदवार राजु पाण्डे पनि अरु उम्मेदवारजस्तै जित आफ्नै हुने दाबी गर्छन् । नयाँबस्तीको वासुकी पार्टी प्यालेसमा पार्टी प्रवेश कार्यक्रमपछि कान्तिपुरसँग कुरा गर्दै उनले देशभर जसरी रास्वपाको माहोल भएकाले काठमाडौं-३ मा आफैंले जित्ने बताए । विगतमा कसले जिते भन्नेले अर्थ नराख्ने भन्दै अब जनताले बुझेर मात्र मत हाल्ने उनको भनाइ छ । 

नयाँ बस्तीकै 'नयाँ बस्ती युवा क्लब' चोकको चिया पसलमा भेटिए राप्रपाका उम्मेदवार सुन्दरराम बोहोरा । उनी चिया पिउँदै बूढापाका र तन्नेरीसँग गफिँदै थिए । उनले आफ्नो प्रतिस्पर्धा र कांग्रेस र एमालेसँग मात्र हुने बताए । उनले नयाँ र बाहिरबाट आएर उम्मेदवार हुनेहरूलाई काठमाडौं-३ का जनताले नपत्याउने पनि दाबी गरे । 

यस्तो छ २०७९ को परिणाम 

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्ध क्षेत्र पर्छ । २०७९ को स्थानीय चुनावमा यो वडामा कांग्रेसका भुवन लामा ३ हजार ८ सय ७६ मत ल्याएर विजयी भएका थिए भने उनका प्रतिस्पर्धी  एमालेका वसन्त लामा २ हजार ७ सय ३२ मत ल्याएका थिए । यो जनजातिको बाहुल्यता भएको क्षेत्र हो । यसलाई नै घिसिङले आधार क्षेत्र मानेका छन् । पुराना दलहरूले पनि विगतका आफ्ना मतदाता जोगाउन कसरत गरिरहेका छन् । 

Kathmandu-3: Kulman's 'entry' has heated up the atmosphere, what is the geography like?काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा गोकर्णेश्वर नगरपालिका सिंगै पर्छ । स्थानीय चुनाव २०७९ मा गोकर्णेश्वरमा कांग्रेसका दीपक रिसाल मेयरमा निर्वाचित भएका थिए । मेयरमा कांग्रेसले जिते पनि उपमेयर भने नेकपा एमालेकी उम्मेदवार सान्नानी लामा निर्वाचित भएकी थिइन् । 

गोकर्णेश्वरमा प्रमुख हारे पनि उपप्रमुख र ५ वडा एमालेले जितेको छ । एमालेसँग कुल २३ पद थियो भने कांग्रेसले प्रमुख र ३ वडाध्यक्षसहित कुल २१ पद जितेको थियो । वडा नम्बर ४ मा कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारले जित हात पारेका थिए । 

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ भित्र कागेश्वरी मनोहरा नगरपालिकाका १,२ र ३ वडा पर्छन् । स्थानीय चुनावमा कागेश्वरी मनोहराको मेयरमा कांग्रेसका उपेन्द्र  कार्की विजयी भएका थिए । वडामा भने १ र ३ एमालेले जित्दा २ कांग्रेसले जितेको थियो । २०७९ को स्थानीय र प्रदेश चुनावमा रास्वपाले भाग लिएको थिएन ।  प्रदेशसभा निर्वाचनमा भने काठमाडौं ३ का दुवै क्षेत्रमा कांग्रेस विजयी भएको थियो भने दुवै क्षेत्रमा एमाले दोस्रो भएको थियो । 

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं ३ का मतदाताले कांग्रेसका सन्तोष चालिसेलाई जिताएका थिए । उनी १५ हजार १ सय ५८ मतका साथ विजयी भएका थिए । एमालेका कृष्णबहादुर राईले ११ हजार १ सय ९६ मत पाएका थिए । तेस्रो भएका रास्वपा उम्मेदवार दुर्गाविक्रम थापा क्षेत्रीले ५ हजार ८ सय ६५ मत हासिल गरेका थिए ।

Kathmandu-3: Kulman's 'entry' has heated up the atmosphere, what is the geography like?समानुपातिकतर्फ कांग्रेसले १० हजार ६ सय १९, एमालेले ९ हजार ४ सय ४९, रास्वपाले ९ हजार २ सय १८ मत पाएको थियो । यसरी हेर्दा, एमाले–कांग्रेसले पालैपालो जित्दै आएको क्षेत्रमा यसपल्ट रोचक भीडन्त हुने अनुमान गर्न सकिन्छ ।

२०७९ को चुनावमा २३ उम्मेदवार चुनावी मैदानमा थिए । अहिले २२ उम्मेदवार छन् । २०७९ सालको तुलनामा अहिले ६ हजार नयाँ मतदाता थपिएका छन् । काठमाडौं ३ मा अहिले कुल मतदाता संख्या ६४ हजार ४ सय ७९ छ । 

अरु को-को छन् उम्मेदवार ?

कांग्रेस, एमाले, रास्वपा र उज्यालो नेपालबाहेक यहाँ राप्रपाबाट सुन्दरराम बोहरा, जनता समाजवादी पार्टी नेपालबाट प्रनिलध्वज कार्की, नेपाल मजदुर किसान पार्टीबाट मदन श्रेष्ठ, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट शेखर अर्याल, मंगोल नेसनल अर्गनाइजेसनबाट कुलबहादुर लामा, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)बाट बाबुकाजी कार्की, नेसनल रिपब्लिक नेपालबाट प्रेम छिरिङ शेर्पा, श्रम संस्कृति पार्टीबाट सुवास घिसिङ उम्मेदवार छन् ।

यसैगरी, मितेरी पार्टी नेपालबाट जितबहादुर तामाङ, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट शेखरनाथ आचार्य, आमजनता पार्टीबाट रूपसागर देवी, स्वतन्त्रबाट केशव नेपाल, प्रदीप काफ्ले, रामकृष्ण पुजारी, श्रीकृष्ण बराल, सज्जन आचार्य र सुरेशकुमार ढुंगाना उम्मेदबार बनेका छन् । 

दुर्गा दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully