हिमाली जिल्लामा हिमपात भएको खण्डमा दोस्रो चरणमा निर्वाचन हुनसक्ने : प्रधानमन्त्री कार्की

उनले भनिन्, ‘अत्यधिक चिसोले सक्दै नसक्ने अवस्था आइहाल्यो भने मात्रै हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छ ।’

माघ २०, २०८२

नारायण शर्मा

Second phase of elections possible if snowfall occurs in Himalayan districts: Prime Minister Karki

What you should know

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ को निर्वाचनमा हिमाली जिल्लामा अत्यधिक चिसो बढेमा दोस्रो चरणमा निर्वाचन गरिने बताएकी छन् ।

पूर्वी नवलपरासीको हात्तिखोरस्थित नेपाली सेनाको ब्यारेकमा राष्ट्रिय सेवादल (एनसिसी) द्वारा आयोजित विद्यार्थीहरूको तालिम समापन समारोहमा आएकी प्रधानमन्त्री कार्कीले कान्तिपुरसँगको कुराकानीमा यस्तो बताएकी हुन् ।

प्रधानमन्त्री कार्कीले यतिबेला आफूहरूको पूरा ध्यान निर्वाचनमा मात्र केन्द्रित भएको बताउँदै निर्वाचन शान्तिपूर्ण र उत्साहजनक रूपमा हुने बताइन् । उनले सरकारले हिमाली जिल्लामा सहज तरिकाले निर्वाचन सम्पन्न गराउन गरिरहेको तयारीबारे पनि बताइन् । उनले हिमालका जिल्लामा गाडी आउजाउ गर्ने ठाउँमा गाडीबाट मतदाता ओसारेर भए पनि निर्वाचन गर्नेबारे सरकारले सोचिरहेको बताइन् । उनले भनिन्, ‘अत्यधिक चिसोले सक्दै नसक्ने अवस्था आइहाल्यो भने दोस्रो चरणमा हुन्छ ।’

उनले अहिले विशेष अवस्थामा निर्वाचन हुन लागेको बताउँदै निर्वाचनमा करिब ३० देखि ३२ अर्ब खर्च हुने पनि बताइन् । भनिन्, ‘देशमा स्थायित्व र शान्ति कायम गर्न यो निर्वाचन कोसेढुंगा हुनेछ ।’ प्रधानमन्त्री कार्कीले आफूलाई आजसम्म कसैले पनि निर्वाचन सार्ने विषयमा कुरा समेत नगरेको बताउँदै अब निर्वाचन सर्ने विषय हटिसकेको बताइन् । उनले भनिन्, ‘सर्दै सर्दैन । निर्वाचन तोकिएकै समयमा हुन्छ ।’

उनले यसअघि यो पाइन् र त्यो पाइने भन्ने समूहहरू पनि निर्वाचनमा भाग लिएको बताउँदै भनिन्, ‘यो निर्वाचनमा सबैको शान्तिपूर्ण र उत्साहजनक सहभागिताका लागि सरकार प्रतिबद्ध छ ।’

हेलिकप्टरबाट आएकी प्रधानमन्त्री दिउँसो नै काठमाडौं फर्किएकी छन् ।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully