बैतडीमा प्रत्येक निर्वाचनमा उम्मेदवारका उस्तै आश्वासन, मतदाताका उही समस्या

प्रत्येक निर्वाचनमा झुलाघाट नाकामा मोटरेबल पुल निर्माणको आश्वासन दिएर बैतडीबाट चुनाव जित्दै आएका उम्मेदवारले यस वर्ष पनि पुलकै कुरा गरिरहेका छन् । मतदाता भने आफूले सोधेका प्रश्नको चित्तबुझ्दो जवाफ दिने उम्मेदवारलाई मात्र मतदान गर्ने योजना बनाएको बताउँछन् ।

माघ २०, २०८२

मोहन चन्द

In every election in Baitadi, candidates make the same promises, voters face the same problems.

What you should know

बैतडी — मेलौलीकी जन्तरा भट्ट यसअघि निर्वाचन जित्ने जनप्रतिनिधिसित सन्तुष्ट छैनन् । प्रचार गर्न दैलोमा आउने तर जितेर गएपछि समस्या सुन्न नआउने नेताको बानीले दिक्क बनेको बताइन् ।

‘पुराना नेताले हाम्रा समस्या नसुन्ने भएकाले युवापुस्ताको आन्दोलन स्वाभाविक थियो,’ उनले भनिन्, ‘त्यसैले अब कसैले फकाएर भन्दा सोचेर मात्र भोट  दिनु पर्छ ।’ 

मेलौलीमा वर्षौंदेखि खानेपानी समस्या जस्ताको त्यस्तै रहेको छ । बजारका होटल व्यवसायी ट्यांकरमा पानी मगाएर काम चलाइरहेका छन् भने गाउँमा टाढाबाट बोकेर ल्याउनु पर्ने बाध्यता छ । 

वर्षौं पुरानो एक संस्थाले निर्माण गरिदिएको खानेपानीको धारामा कहिलेकाँहीमात्र पानी आउने गर्छ । पानी आएको दिन धारामा पालो कुर्नुपर्ने हुन्छ । पालो कुर्दा पनि पानीकै लागि आपसमा झगडा समेत हुने गरेको भट्टले सुनाइन् ।

In every election in Baitadi, candidates make the same promises, voters face the same problems.

प्रदेश र संघको निर्वाचनमा सधैं खानेपानीको मुद्दा उठ्ने भए पनि निर्वाचन सम्पन्न भएपछि त्यो मुद्दा हराउने गरेको उनले बताइन् । अहिले पनि मेलौली बजार क्षेत्र र वरपरका बस्तीमा पानीको हाहाकार रहेको उनले बताइन् । गत वर्षदेखि प्रदेश सरकार अन्तरगत ढणौन–मेलौली खानेपानी योजना संचालन भए पनि बजेटको समस्याले कछुवा गतिमा काम भइरहेको मेलौली–९ का वडाध्यक्ष लोकराज भट्टले बताए । करोडौं खर्च लाग्ने योजनामा गत वर्ष १० लाख र चालु आर्थिक वर्षमा २० लाख बजेट आएको उनले बताए ।

जिल्ला सदरमुकाम गोठलापानीकी तारा भट्टले मुलुक बचाउनेलाई आफूले भोट हाल्ने बताइन् । ‘नयाँ–पुराना भन्दिनँ देशको सार्वभौम भगौलिक अखण्डतालाई रक्षा गर्ने नेतृत्वको देशलाई आवश्यकता छ,’ उनले भनिन्, ‘उम्मेदवाहरूका उनै पुराना प्रतिबद्धता त होलान्, पूरा त कहिल्यै हुँदैनन् ।’ 

देशमा धेरै पटक नयाँ नेतृत्व गर्ने पार्टी र उम्मेदवार आएर पनि काम केही गर्न नसकेको उनको गुनासो छ । आगामी निर्वाचनमा देशको समृद्धि र शान्तिका लागि योग्य देशभक्त उम्मेदवारलाई आफ्नो मत रहेको उनले बताइन् । 

जिल्लाको एक मात्र दशरथचन्द नगरपालिकामा रहेको जुलाघाट नाकामा सदियौं पुरानो जीर्ण झोलुंगे पुल छ । प्रत्येक निर्वाचनमा जुलाघाटमा मोटरेबल पुल निर्माणको आश्वासन दिएर बैतडीबाट निर्वाचन जित्दै आएका उम्मेदवारले यो वर्ष पनि पुलकै कुरा गरिरहेका छन् । मतदाता भने यो वर्ष यो कुरामा रत्तिभर पनि विश्वस्त छैनन् ।

In every election in Baitadi, candidates make the same promises, voters face the same problems.

सदरमुकाम गोठलापानीमै अत्याधुनिक भवन भएको जिल्ला अस्पताल छ । अस्पतालमा दरबन्दीका चिकित्सक नभएर जिल्लाका विरामी उपचारका लागि भारत या धनगढी नै जानुपर्ने बाध्यता छ । 

पञ्चेश्वरका ७९ वर्षीय करबीर चन्दलाई पञ्चायतदेखि लोकतान्त्रिक गणतन्त्रसम्मका निर्वाचनमा मतदान गरेको अनुभव छ । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि उनी मत दिने तयारीमा छन् । अरु निर्वाचनको जस्तै यो निर्वाचनमा भन्ने बित्तिकै उनलाई नै मत दिने पक्षमा आफु नरहेको उनले बताए । ‘म सधैं रेडियो सुन्ने गर्छु हरेक दिन फरक-फरक पार्टीका नेताका बहस सुन्ने गर्छु,’ उनले भने, ‘भोट माग्न आउँदा हामीले भनेका हरेक काम गर्छौं भन्छन्, जितेर गएपछि सबै बाचा भुलेर सत्ताकै लुछाचुँडीमा लाग्छन् ।’

यस्तै शिवनाथ गाउँपालिका मदन साउँदले उम्मेदवारले ठूला आश्वासन भन्दा पनि स्थानीय जनताको समस्या र नेतृत्वको आचरणलाई मुख्य प्राथमिकतामा राखेर काम गर्न सक्ने उम्मेदवारलाई बुझेर मात्र मतदान गर्ने उनले बताए ।

पञ्चेश्वर र शिवनाथ गाउँपालिकाका बासिन्दा जोखिम मोलेर डुंगाबाट महाकाली नदी तरेर दैनिक उपभोग्य सामानदेखि औषधि उपचारका लागि समेत भारत जाने गरेको साउँदले बताए । ‘यहाँका जनताको पन्चेश्वर परियोजना निर्माण भन्दा पनि मुख्य माग नै महाकाली नदीमा झोलुंगे पुल निर्माणको हुन्छ,’ उनले भने,’ प्रत्येक निर्वाचनमा महाकालीमा झोलुंगे पुल निर्माणको आश्वासन दिए पनि अहिलेसम्म बनाउन सकेका छनैन् ।’ 
दार्चुलामा प्रत्येक वर्ष एक या दुई ठाउँमा महाकाली नदीमाथि झोलुंगे पुल निर्माण गरिन्छ तर बैतडीमा भने निर्वाचनको नारामा मात्रै सीमित हुने गरेको उनको गुनासो छ । 

निर्वाचनको चहलपहल सँगै पाटन नगरपालिका–८ का दीप पन्त (सतीश) पनि यो निर्वाचनमा पहिलो पटक मतदान गर्न आत्तुर देखिन्छन् । आफु जेन–जी पुस्ताको भए पनि मतदान गर्नु अगाडि राम्रोसँग सोचविचार गरेरमात्र मतदान गर्ने उनी बताउँछन् । ‘जिल्लाको उम्मेदवार कस्तो र उसको क्षमता योग्यता र हिजोको दिनमा उसले जिल्ला र देशका लागि गरेको योगदान के छ भन्ने हामीलाई थाहा नै हुन्छ,’ उनले भने, ‘हामी जानीजानी पनि नातावाद र बुबाबाजे आवद्ध भएको दल भनेर उनैलाई मतदान गर्छौं त्यसैको परिणाम स्वरुप हामीले नै दुख भोग्नु पर्छ ।’ जिल्ला र देशको लागि राम्रो भिजन भएको र आफ्नो भन्दा पनि सामूहिक स्वार्थ हेर्नेलाई मतदान गर्ने उनले बताए ।

पन्तको नगरपालिकामै पर्नै पाटन बजार देशकै दसौं नमुना सहर घोषणा भएको पनि वर्षौं भयो । आफुले सानै हँदा सुनेको दसौं नमुना सहर अहिलेसम्म पनि नमुना बन्न नसकेको उनको गुनासो छ । नमुना सहरको काम अलपत्र अवस्थामै छ । नमुना सहरको नाममा बनेको बसपार्क पनि प्रयोगमा नआइकनै जीर्ण हुन लागेको उनले बताए । बनेको एक विमानस्थल पनि जहाज नआएर टिकटक बनाउने स्थल बनेको उनले बताए । निर्वाचनमा विमानस्थल र नमुना सहरको एजेन्डा उठ्ने भए पनि निर्वाचन पछि सेलाएर जाने पन्तले गुनासो गरे । 

In every election in Baitadi, candidates make the same promises, voters face the same problems.

दशरथचन्द नगरपालिकाका–५ गोठलापनीका बिरा पन्त प्रतिनिधिसभा निर्वाचनमा आफुले सोधेका प्रश्नको चित्त बुझ्ने जवाफ दिने उम्मेदवारलाई मात्र मतदान गर्ने योजना बनाएको बताउँछन् । उनले उम्मेदवारलाई परिर्वतन र सुशासन कायम गर्ने सम्बन्धी प्रश्न सोध्ने बताएका छन् । ‘अहिलेसम्म हामीले उम्मेदवारसँग जवाफ नमागेरै एकोहोरो मत दिएको परिणाम अहिले देश र हामीले भोगिरहेका छौं,’ उनले भने, ‘अब मत दिने हो तर पहिलै उम्मेदवारलाई हिजोको र अबको बारे खुलेर प्रश्न गर्ने हो ।’ 

जिल्लाका विद्यालय र क्याम्पसहरूमा विद्यार्थी छैनन् । जिल्लामा रोजगारीका अवसर छैनन् । मजदुरी गर्न पनि भारत जानुपर्ने बाध्यता रहको छ । जिल्लाको बसाइँसराइको दर उच्च रहेको र बेरोजगारको  संख्या उच्च रहेको उनले बताए । प्रत्यक वर्ष उम्मेदवारहरूले जिल्लाका यीनै विषय घोषणापत्रमा उल्लेख गर्ने भए पनि निर्वाचन जितेपछि एक प्रतिशत पनि पूरा गर्न नसकेको उनले गुनासो गरे ।

गत निर्वाचनमा ३३ हजार ६ सय ११ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका एमाले नेता दामोदर भण्डारी चौथोपल्ट उम्मेदवार भएका छन् । भण्डारीले २०७० को दोस्रो संविधानसभा, २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचन जितेका थिए । उनी एक पटक अर्थ राज्यमन्त्री र तीन पटक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भइसकेका छन् । अरु सबै उम्मेदवार पहिलो पटक निर्वाचन लडिरहेका छन् । बैतडीका माग, मुद्दा, विकास र समृद्धिका लक्ष्य पूरा गर्न स्पष्ट नीतिहरू लिएर फेरि पनि उम्मेदवारी दिएको भण्डारीले बताए ।

यस्तै कांग्रेसबाट नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द उम्मेदवार छन् । उनले पनि जिल्लाको समग्र विकासका लागि आफुले उम्मेदवारी दिएको बताए । नेपाली कम्युनिष्ट पार्टीबाट पूर्वजिल्ला विकास समिति सभापति परमानन्द भट्टले पनि जिल्लाको सुशासन र समृद्धिको लागि आफ्नो उम्मेदवारी रहेको बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा भूपेनबहादुर चन्द र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट हरिमोहन भण्डारी उम्मेदवार छन् । 

यस्तै नेकपा माओवादीबाट रामसिंह कुँवर, जनता समाजवादी पार्टी नेपालबाट आनसिंह भण्डारी, नेपाल मजदुर किसान पार्टीबाट नवराज कोइराला, आमजनता पार्टीबाट विसनसिंह बोहरा, श्रम संस्कृति पार्टीबाट गजेन्द्रराज पाण्डेय र स्वतन्त्रबाट जयप्रकास पन्त रहेका छन् ।

एकमात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा अगामी प्रतिनिधिसभा निर्वाचनका लागि १ सय २९ मतदानस्थल र २ सय १४ मतदान केन्द्र र १ लाख ५६ हजार ३ सय ७२ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालय बैतडीले जानकारी दिएको छ । 

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully