धनकुटाका उम्मेदवारले छुट्टै बैंक खाता नखोल्दा आचारसंहिता अनुगमन समितिको चासो

निर्वाचन आचारसंहितामा उल्लेख भएअनुसार निर्वाचन प्रयोजनको छुट्टै बैंक खाता नखोलेपछि आचारसंहिता अनुगमन समितिले चासो देखाएको छ ।

माघ २०, २०८२

विनोद घिमिरे

Code of Conduct Monitoring Committee concerned as Dhankuta candidate fails to open separate bank account

What you should know

धनकुटा — धनकुटामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका १७ मध्ये १२ जना उम्मेदवारले निर्वाचन प्रयोजनका लागि अनिवार्य गरिएको छुट्टै बैंक खाता खोल्न आनाकानी गरिरहेका छन् ।

निर्वाचन आचारसंहितामा उल्लेख भएअनुसार निर्वाचन प्रयोजनको छुट्टै बैंक खाता नखोलेपछि आचारसंहिता अनुगमन समितिले चासो देखाएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार दल र स्वतन्त्रबाट उम्मेदवारी दिएका १७ मध्ये हालसम्म ५ वटा राजनीतिक दलका उम्मेदवारले मात्रै निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्न सिफारिस लिएका छन् ।

दल र स्वतन्त्र गरी बााकी १२ उम्मेदवारले छुट्टै बैंक खाता खोल्न आलटाल गरिरहेको आचारसंहिता अनुगमन समितिले जनाएको छ । हालसम्म कांग्रेस, एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र आम जनता पार्टीका उम्मेदवारले मात्रै निर्वाचन प्रयोजनको छुट्टै खाता संचालनका लागि निर्वाचन कार्यालयबाट सिफारिस लिएको जिल्ला निर्वाचन अधिकारी माधवकुमार अधिकारीले जानकारी दिए । 

निर्वाचन आयोगले उम्मेदवारले गर्ने सम्पूर्ण आम्दानी तथा खर्च पारदर्शी बनाउन निर्वाचन प्रयोजनका लागि अनिवार्य रूपमा नयाा बैंक खाता खोल्नु पर्ने व्यवस्था गरेको छ । उक्त खाताबाट मात्रै निर्वाचन सम्बन्धी सबै आर्थिक कारोबार गर्नुपर्ने प्रावधान रहेको अधिकारीले बताए ।

निर्वाचन कार्यालयले छुट्टै खाताले खर्च पारदर्शी हुने, आयोगले तोकेको खर्चको सीमा उल्लंघन नहुने भएकाले सबै उम्मेदवारलाई नयाा खाता अनिवार्य गर्न भनिएको जनाएको छ । 

छुट्टै खाता नखोल्ने र खर्चको विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई आचारसंहिता उल्लंघन गरेको विषयमा स्पष्टीकरण सोधिने, एक लाख रुपैयाँसम्म जरिवाना वा उम्मेदवारी खारेजीसम्मको कारबाही हुने उनले जनाए।

आचारसंहिता उल्लंघन भएको ठहर भएमा आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिमको कारबाही हुने अधिकारीले बताए । धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले सर्वदलीय बैठकमा सबै दल र स्वतन्त्र उम्मेदवारलाई चाँडै खाता खोलेर सबै कारोबार बैंक खाता मार्फतमात्रै गर्न निर्देशन दिएको जनाए । 

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully