पर्सा जिल्ला अदालतमा रहेको सहकारी ठगी मुद्दा प्रक्रियाका कारण मंगलबार उनलाई निर्वाचन अधिकृतको कार्यालय आउन सम्भव नभएको हो ।
चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सभापति रवि लामिछानेले प्रतिनिधि सभा सदस्य पदका लागि मंगलबार वारेस मार्फत चितवन-२ बाट उम्मेद्वारी दर्ता गराएका छन् ।
उनको वारेसनामा मार्फत उम्मेदवारी दर्ता भएको चितवन-२ का सहायक निर्वाचन अधिकृत देवीराम भण्डारीले जानकारी दिए। पर्सा जिल्ला अदालतमा रहेको सहकारी ठगी मुद्दा प्रक्रियाका कारण मंगलबार उनलाई निर्वाचन अधिकृतको कार्यालय आउन सम्भव नभएको हो ।
उनी २०७९ को निर्वाचनमा पहिलो पटक यही क्षेत्रबाट सांसद निर्वाचित भएका थिए । यो क्षेत्रमा उपचुनाव हुँदा लामिछाने नै उम्मेदवार बनेर विजयी भएका थिए । चितवन-२ बाट लामिछानेको यो तीन वर्षको अन्तरालमा तेस्रो उम्मेदवारी हो ।
२०७९ सालको निर्वाचनमा लामिछाने ४९ हजार ३ सय मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ र तेस्रो स्थानमा रहेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए । त्यतिबेला निर्वाचित भएसँगै लामिछाने गृहमन्त्रीसमेत भए।
अमेरिकी नागरिकता त्यागेर फेरि नेपाली नागरिकता लिँदा प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले २०७९ को माघमा लामिछानेको सांसद पद खारेज गरेको थियो । त्यसपछि चितवन-२ मा उपचुनाव भएको थियो । प्रक्रिया पूरा गरेर नागरिकता लिएपछि उपनिर्वाचनमा पनि लामिछाने नै उम्मेदवार भए ।
२०८० वैशाखमा भएको उपचुनावमा लामिछाने ५४ हजार १७६ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी रहेका कांग्रेसका जीतनारायण श्रेष्ठको ११ हजार २१४ र तेस्रो स्थानमा रहेका एमालेका रामप्रसाद न्यौपानेको १० हजार ९३६ मत आएको थियो । त्यसपछि २०८१ पुस ७ मा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धीकरण मुद्दा दर्ता भएपछि लामिछानेको पद निलम्बनमा परेको थियो ।
लामिछानेविरूद्धको संगठित अपराध र सम्पत्ति सुद्धीकरण अभियोग फिर्ता लिन महान्यायाधिवक्ताको कार्यालयले सम्बन्धित जिल्लाका सरकारी वकिल कार्यालयलाई हालै स्वीकृति दिएको छ । यसविरूद्ध पनि सर्वोच्च अदालतमा रिट परेको छ ।
