संयुक्त राष्ट्रसंघीय निकाय युनिसेफमा उच्च तहमा लामो समय कार्यअनुभव सँगालेका उनी केही समयअघि मात्रै राजनीतिमा होमिएका थिए ।
काठमाडौँ — रास्वपाले धादिङ–२ मा बोधनारायण श्रेष्ठलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ । रास्वपा सभापति रवि लामिछानेले शनिबार श्रेष्ठलाई आधिकारिक रूपमा निर्वाचनको टिकट हस्तान्तरण गरेका हुन् ।
धादिङको ज्वालामुखी गाउँपालिका–२, मैदी स्थायी घर भएका श्रेष्ठ रास्वपाको केन्द्रीय संगठन विभाग उपप्रमुख समेत हुन् । संयुक्त राष्ट्रसंघीय निकाय युनिसेफमा उच्च तहमा लामो समय कार्यअनुभव सँगालेका उनी केही समयअघि मात्रै राजनीतिमा होमिएका थिए । सामाजिक सेवामा समेत सक्रिय श्रेष्ठले धादिङका सुक्खाग्रस्त क्षेत्रमा खानेपानी आयोजना सञ्चालन गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
धादिङ–२ मा अन्य दलहरूले पनि उम्मेदवार टुंगो लगाउन थालेका छन् । एमालेले धनबहादुर घलेलाई मैदानमा उतारेको छ भने नेपाली कम्युनिष्ट पार्टीले रामबहादुर भण्डारीलाई उम्मेदवार बनाएको छ । तर नेपाली काँग्रेसले भने उम्मेदवारको टुंगो लागेको छैन ।
