बारा एमालेबाट प्रतिनिधिसभा उम्मेद्वारमा पुरानै अनुहार

चार वटा संघीय निर्वाचन क्षेत्र भएको बारामा सबै पुरानै अनुहारलाई उम्मद्ववार बनाउन अघि सारिएको छ।

माघ ५, २०८२

लक्ष्मी साह

Old faces among Bara UML candidates for House of Representatives

बारा — प्रतिनिधिसभा सदस्यका लागि एमालेले बारामा पुरानै अनुहारलाई टिकट दिएको छ।

चार वटा संघीय निर्वाचन क्षेत्र भएको जिल्लामा निर्वाचन क्षेत्र नम्बर १ मा अच्युत मैनालीलाई उम्मेदवार बनाएको छ। उनले २०७९ मा यस क्षेत्रबाट कांग्रेसका तत्कालीन सहमहामन्त्री तथा पूर्वमन्त्री उमाकान्त चौधरीलाई झन्डै दोब्बर मतले पराजित गरेका थिए।

क्षेत्र नम्बर २ बाट बलबीर चौधरीले टिकट पाएका छन्। उनी २०७९ मा यस क्षेत्रबाट पराजित भएका थिए।

निर्वाचन क्षेत्र ३ मा पूर्वमन्त्री ज्वालाकुमारी साह उम्मेदवार बनेकी छिन् । केन्द्रीय सदस्य रहेकी उनी यसअघि मन्त्री पनि भइसकेकी छिन्। माओवादी पृष्ठभूमिकी उनी नेकपा फुटेपछि उनी एमालेमै बसिन्। 

उनी २०७४ मा प्रदेशसभा सदस्य र २०७९ मा यस क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित भएकी थिइन्। क्षेत्रीय कमिटिबाट सिफारिसमा नपरेपछि उनलाई जिल्लाले क्षेत्र नतोकी सिफारिस गरेको थियो। 

क्षेत्र नम्बर ४ बाट केन्द्रीय सदस्य किसानकुमार श्रेष्ठले टिकट हात पारेका छन्। उनी यसअघि २०७९ मा यस क्षेत्रबाट तत्कालीन एकीकृत समाजवादीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनी व्यवसायिक घरानाका हुन् । एकीकृत समाजवादी र माओवादीसहितका दलले नेपाली कम्युनिष्ट पार्टी बनाएपछि उनी रामकुमारी झाक्रीसँगै एमालेमा फर्किएका थिए ।

लक्ष्मी साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Link copied successfully