पार्टीका महाधिवेशन प्रतिनिधि रहेका कार्कीलाई कांग्रेसले आसन्न फागुन २१ को चुनावका लागि प्रत्यक्षतर्फको टिकट थमाएको हो ।
सोलुखुम्बु — नेपाली कांग्रेसले सोलुखुम्बुमा प्रकाशसिंह कार्कीलाई प्रतिनिधिसभाको टिकट दिएको छ ।
पार्टीका महाधिवेशन प्रतिनिधि रहेका कार्कीलाई कांग्रेसले आसन्न फागुन २१ को चुनावका लागि प्रत्यक्षतर्फको टिकट थमाएको हो । पार्टीको आन्तरिक चुनावमा लोकप्रिय मतसहित महाधिवेशन प्रतिनिधिसभा जितेका कार्कीले पार्टीभित्रका प्रतिस्पर्धीहरूलाई उछिन्दै कांग्रेसको उम्मेदवार बन्न सफल भएका हुन् ।
२०४८ सालदेखि लगातार चुनाव लड्दै आएका पूर्वमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीले यो चुनाव नलड्ने घोषणासँगै दोस्रो तहका नेताहरू चुनावी दौडमा थिए । टिकटका लागि पार्टी नेताहरू आङ्गेलु शेर्पा, विनोद बस्नेत र कार्की मुख्य दाबेदार थिए । पार्टी सभापति गगन थापाले अन्तिम समयमा आएर कार्कीलाई टिकट दिएका हुन् ।
अघिल्लो निर्वाचनमा सोलुखुम्बुबाट नेकपा एमालेका नेता मानवीर राई निर्वाचित भएर रक्षामन्त्री बनेका थिए ।
