डोल्पामा कांग्रेसबाहेकका उम्मेदवार टुंगिए

कांग्रेसले विशेष महाधिवेशनबाट निर्वाचित सहमहामन्त्री कर्ण बुढालाई जिल्लाबाट एकल सिफारिस गरे पनि उम्मेदवारी टुंगो लागेको छैन।

माघ ५, २०८२

रामचन्द्र न्यौपाने

Candidates other than Congress finalized in Dolpa

डोल्पा — हिमाली जिल्ला डोल्पामा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कम्युनिष्ट पार्टी, एमाले, रास्वपा, प्रगतिशील लोकतान्त्रिक पार्टी र उज्यालो नेपाल पार्टीले उम्मेदवार टुंग्याएका छन् ।

यता कांग्रेसले भने उम्मेदवारको नाम सार्वजनिक भएको छैन। कांग्रेसले जिल्लाबाट विशेष महाधिवेशनबाट निर्वाचित सहमहामन्त्री कर्ण बुढालाई एकल सिफारिस गरिएको थियो।  

नेपाली कम्युनिष्ट पार्टीबाट धनबहादुर बुढाले टिकट पाएका छन् । उनी तीन पटक प्रतिनिधिसभा सदस्य र दुई पटक मन्त्री भइसकेका छन् । उनी २०७०, २०७४ र २०७९ को निर्वाचनमा विजयी भएका थिए। यसअघि राप्रपा, एमाले, एकीकृत समाजवादी हुँदै हाल नेपाली कम्युनिष्ट पार्टीमा आवद्ध छन् ।

एमालेबाट लंकबहादुर रोकाय पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा होमिन लागेका हुन् । लगातार दुई पटक गाउँपालिका अध्यक्ष पदमा पराजित भएका उनी यसपाली संसदीय निर्वाचनमा उम्मेदवार बन्न लागेका हुन्। 

प्रगतिशील लोकतान्त्रिक पार्टीले भने युवा विकास बुढालाई उम्मेदवार बनाएको छ। उनी यसअघि माओवादी केन्द्रमा आवद्ध थिए। जनार्दन शर्मा अलग भएसँगै उनी पनि शर्माको पार्टीमा लागेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट देवसिंह ऐडी उम्मेदवार चयन भएको रास्वपा कर्णाली प्रदेश कार्यसमितिले जनाएको छ ।

कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट दिलबहादुर बिष्टले टिकट पाएका छन्। दुई दिनअघि नै आफुले टिकट लिएर उम्मेदवारी दर्ताकालागि गृहजिल्ला पुगेको बिष्टले बताए। 

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully