आसन्न निर्वाचन सुरक्षामा करीब सवा ३ लाख सुरक्षाकर्मी तैनाथ गर्ने निर्णय केन्द्रीय सुरक्षा समितिले निर्णय गरिसकेको छ ।
काठमाडौँ — मतदानको एकमहिना अघिबाट नेपाली सेना निर्वाचन सुरक्षामा खटिने भएको छ । २१ फागुनका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षार्थ सेनालाई माघ तेस्रो सातादेखि फिल्डमा तैनाथ गर्न लागिएको हो ।
करीब ८० हजार सेना, करीब ३५ हजार सशस्त्र प्रहरी, करीब ७१ हजार नेपाल प्रहरी र १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी परिचालन हुँदैछन् । नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षासम्बन्धी एकीकृत कार्ययोजनाअनुसार मतदानको एक महिना अघिबाट सेनाको टोली फिल्डमा तैनाथ हुने जानकारी दिए ।
आसन्न निर्वाचन सुरक्षामा करीब सवा ३ लाख सुरक्षाकर्मी तैनाथ गर्ने निर्णय केन्द्रीय सुरक्षा समितिले निर्णय गरिसकेको छ । जसमा करीब ८० हजार सेना, करीब ३५ हजार सशस्त्र प्रहरी, करीब ७१ हजार नेपाल प्रहरी र १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी परिचालन हुँदैछन् । निर्वाचन प्रहरी भर्ना प्रक्रिया ५ माघ (सोमबार)बाटै सुरु भइसकेको छ । २५ पुसबाट आबेदन खुलाइएकामा ३ माघसम्ममा १ लाख ९६ हजार बढीले निर्वाचन प्रहरी भर्नामा आबेदन दिएकामा अब तोकिएको कोटाअनुसार हरेक जिल्लाबाट छनौट सुरु भएको छ ।
सरकारले मतदानस्थल र मतदान केन्द्रको सुरक्षामा नेपाल प्रहरीलाई खटाउँदै छ । मतदानस्थलको बाहिरी घेरामा निर्वाचन प्रहरी खटिने छन् । सशस्त्र प्रहरी र नेपाली सेना सुरक्षा चुनौती अनुसार काममा दोहोरोपन नहुने गरी बाहिरी सुरक्षा घेरामा परिचालन गर्ने तयारी छ । जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडाको क्षेत्रलाई सुरक्षा विश्लेषणका आधारमा सेना र सशस्त्रले आवश्यक सुरक्षा व्यवस्था गर्नेछन् भने प्रहरी मतदानस्थल र केन्द्रमा खटिने छ । सेनाका प्रवक्ता बस्नेतले सुरक्षाका सबै तयारी पुरा भइसकेको र अब फिल्डमा खटिन बाकी रहेको जानकारी दिए । त्यसका लागि सैनिक मुख्यालय जंगीअड्डादेखि जिल्ला तहका युनिटसम्मले तहगत रुपमा आवश्यक तयारी पूरा गरिसकेको उनको भनाई छ । राष्ट्रिय सुरक्षा परिषदको सिफारिस र मन्त्रिपरिषदको निर्णयका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले ११ मंसिरमै आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षामा सेना परिचालन गर्न स्वीकृति दिइसकेका छन् ।

आसन्न निर्वाचनबाट प्रतिनिधि सभाका लागि समानुपातिक तर्फ ११० र प्रत्यक्षतर्फ १६५ सदस्य गरी कूल २७५ सदस्यको निर्वाचन हुँदै छ । निर्वाचन आयोगका अनुसार १ करोड ९० लाख ५ हजार मतदाता मतदान सूचीमा समेटेको छ ।
निर्वाचनमा ११ हजार ९ सय १ मतदान केन्द्र र २२ हजार बढी मतदान स्थल तय गरेको छ । मतदान केन्द्रलाई सुरक्षा जोखिमका आधारमा बर्गीकरण गरेकामा ४ हजार ६ सय १४ अति संवेदनशील, ४ हजार ४ सय ४२ संवेदनशिल र २ हजार ८ सय ४५ सामान्य सुरक्षा अवस्थाका मतदान केन्द्रमा समेटिएको छ ।
सुरक्षा चुनौतीका आधारमा बर्गीकरण गरिएका ठाउलाई सोहीअनुसार सेना र सशस्त्रले आवश्यक सुरक्षा प्रवन्ध गर्ने छन् । सशस्त्रलाई जिल्लास्थित मुख्य निर्वाचन अधिकृत कार्यालय र निर्वाचन अधिकृत कार्यालय सुरक्षामा पनि खटाइएको छ । मतपत्र छपाइ सुरक्षामा सेना खटिएको छ । यो पटक विभिन्न कारागार सुरक्षामा सेनालाई खटाएर त्यहाँ कार्यरत प्रहरी र सशस्त्रलाई निर्वाचन सुरक्षामा केन्द्रीत गर्न लागिएको छ । यसबाहेक चुनाव सम्पन्न नभएसम्मका लागि महत्वपूर्ण सरकारी/सार्बजनिक भौतिक संरचना सुरक्षामा पनि सेना परिचान गर्न लागिएको छ । प्रहरी र सशस्त्रले आवश्यक प्रक्रिया पुर्याएर आफू कार्यरत महत्वपूर्ण भवन/संरचना सुरक्षाको जिम्मेवारी सेनालाई हस्तान्तरण गरेर फिल्डमा तैनाथ हुने तयारी गरेका छन् ।
