उम्मेदवारी मनोनयनको मिति सर्दैन, आचारसंहिता बाहिर गतिविधि नगर्नू : कावा प्रमुख निर्वाचन आयुक्त भण्डारी

'तोकिएकै समयमा मनोनयन पत्र दाखिल हुन्छ र निर्वाचन सम्पन्न हुन्छ'– निर्वाचन आयोगका प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारी

माघ ५, २०८२

कान्तिपुर संवाददाता

Candidate nomination date will not be postponed, do not engage in activities outside the code of conduct: Acting Chief Election Commissioner Bhandari

काठमाडौँ — निर्वाचन आयोगका प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारी मनोनयनको मिति नसर्ने स्पष्ट पारेका छन् ।

उनले निर्वाचन आयोगले ४ महिनाअघि प्रकाशित कार्यतालिकाअनुसार नै निर्वाचन सम्पन्न हुने र मनोनयन पनि माघ ६ गते नै हुने बताए । सोमबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले माघ ६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दाखिल गर्नसक्ने बताए । निर्वाचन आयोगले निर्वाचन प्रयोजनार्थ माघ ४ गते राति १२ बजेबाट नै लागू भइसकेको बताउँदै आचारसंहिताले नदिएका कार्यहरु नगर्न सचेत गराए । अब कुनैपनि विषयवस्तुलाई पर सार्ने, संशोधन गर्ने, थप्ने, घटाउने लगायतका कामहरु निर्वाचन आयोगबाट नहुने बताए । तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नु सबैको निष्ठा र दायित्व भएको बताए । 

‘अब भोलि माघको ६ गते जो-जो चुनिन चाहनुहुन्छ, उहाँहरुको मनोनयन पत्र दाखिल गर्ने समय हो बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म । त्यो प्रयोजनका लागि निर्वाचन आयोगले माघ ४ गते राति १२ बजेबाट आचारसंहिता लागू गर्ने भनेर आचारसंहितासमेत लागू भइसकेको अवस्था हो । अब सबै कार्यक्रम प्रकाशित भएर चार महिनाअघि प्रकाशित कार्यतालिकाअनुसार कार्य सम्पादन भएको र अब कुनैपनि विषयवस्तुलाई पर सार्ने, संशोधन गर्ने, थप्ने, घटाउने लगायत विषयवस्तु सकिसकेको हुनाले तोकिएकै समयमा चुनिन चाहने दलका स्वतन्त्र उम्मेदवारहरुले भोलि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन पत्र दाखिल गर्नुहुन्छ,' उहाँले भने, 'तोकिएकै समयमा मनोनयन पत्र दाखिल हुन्छ र निर्वाचन सम्पन्न हुन्छ । आयोगले निर्धारण गरेको समयभित्र मनोनयन पत्र दाखिल हुनुपर्छ । दाखिल भइसकेपछि जाँचबुझ गर्ने प्रक्रिया आफ्नो ठाउँमा रहन्छन् । परिवर्तन हुँदैन । तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नु सबैको निष्ठा र दायित्व हो ।’

लोकतन्त्रको सुन्दर पक्ष भनेको नै चुन्ने र चुनिने अधिकार भएको बताए । निर्वाचन सुसम्पन्न गर्न सबै सरोकारवालाहरुको भुमिका महत्वपूर्ण रहेको बताए ।

कान्तिपुर

Link copied successfully