टिकट नपाएपछि नेकपा नेता राय र यादवले पार्टी छाडे

नेकपाका नेता एवं पूर्वमन्त्री रामेश्वर राय यादव तथा नेकपाकै अर्का नेता शिवपुजन रायले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

माघ ५, २०८२

ओमप्रकाश ठाकुर

NCP leaders Raya and Yadav left the party after not getting tickets

सर्लाही — आसन्न प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ताको अघिल्लो दिन नेपाली कम्युनिष्ट पार्टीका दुई नेताले पार्टी छाडेको घोषणा गरेका छन् ।

उम्मेदवारका आकांक्षी रहेका उनीहरुले टिकट नपाएपछि पार्टी परित्यागको घोषणा गरेका हुन्। नेकपाका नेता एवं पूर्वमन्त्री रामेश्वर राय यादव तथा नेकपाकै अर्का नेता शिवपुजन रायले पार्टी परित्यागको घोषणा गरेका हुन्। 

नेकपाले आफ्नो निर्वाचन क्षेत्र सर्लाही–३ बाट नारायणकाजी श्रेष्ठलाई उम्मेदवार बनाएपछि टिकटका दाबेदार रामेश्वरले पार्टी छाडेका हुन् । पार्टीले कार्यकर्ताको भावनानै नबुझी जबर्जस्ती केन्द्रीय कमिटीले निर्णय लाद्ने काम गरेको आरोप लगाउँदै आफु ‘कम्फरटेबल फिल’ नभएपछि पार्टी छाड्न बाध्य भएको गुनासो पोखे ।

स्थानीय स्तरमा दुःख गरेर संगठन बनाउने तर चुनावको समयमा अरुले लाभ लिने कुरा आफुलाई अनुचित लागेको उनले बताए ।   

सर्लाही–३ मा नेकपाबाट नारायणकाजी श्रेष्ठ र नेकपा एमालेबाट निवर्तमान सांसद हरिप्रसाद उप्रेतीले टिकट पाइसकेका छन् । २०७९ को निर्वाचन उप्रेतीले जित्दा २०७४ को चुनाव नेकपा छाडेका रामेश्वरले नै बाजी मारेका थिए।

यता सर्लाही–४ का नेकपाका नेता एवं संविधानसभा सदस्य शिवपुजन रायले पनि पार्टी छाडेको घोषणा गरेका छन्। उनका छोरा अभिनिश यादवलाई उम्मेदवार नबनाई अर्कैलाई टिकट दिएपछि उनले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

यसअघि पनि तत्कालीन माओवादी केन्द्रबाट शिवपुजनले छोरी मधुमलालाई उम्मेदवार बनाई मैदानमा उत्रेका थिए। यस क्षेत्रमा शिवपुजन शक्तिशाली नेताका रुपमा चिनिने गरेका छन् । नेकपाले क्षेत्र ४ मा डा. रजनीश रायलाई उम्मेदवार बनाएको छ ।   

ओमप्रकाश

Link copied successfully