काठमाडौंमा दैनिक रूपमा उखु किसान र मिटरब्याज पीडितको आन्दोलन चलिरहेको स्मरण गराउँदै आफू प्रधानमन्त्री बने ती समस्या समाधान गर्ने दाबी पनि गरे।
काठमाडौँ — रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहले जनकपुर पुगेर मैथिली भाषामा सम्बोधन गरेका छन्। ‘कि केना है त ?’ भन्दै उनले विश्वकै सबैभन्दा प्रसिद्ध विवाह जनकपुरधाममै हुँदै गर्दा डेस्टिनेशन वेडिङका लागि बाहिर किन जाने ? भनेर आक्रोश व्यक्त गरे।
बालेनले मधेशमा पहिलोपटक सबै जात–समुदायका मानिसहरू एकै ठाउँमा जुटेको उल्लेख गर्दै देशको विकास भनेको सबै जात र समुदायको समान विकास हुनुपर्ने बताए। उनले प्रदेशलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिए।
उनले भने, ‘अधिकार माग्न काठमाडौं जानु पर्दैन, पशुपति र स्वयम्भु घुम्न जानुस।’ काठमाडौंमा दैनिक रूपमा उखु किसान र मिटरब्याज पीडितको आन्दोलन चलिरहेको स्मरण गराउँदै आफू प्रधानमन्त्री बने ती समस्या समाधान गर्ने दाबी पनि गरे।
समाजवादको व्याख्या गर्दै बालेनले भने, विद्यार्थीले कलेजमा निःशुल्क पढ्न पाउनु, अस्पतालमा निःशुल्क उपचार पाउनु नै समाजवाद हो। यस्तो व्यवस्था सबै प्रदेश र पालिकामा आवश्यक रहेको उनको भनाइ थियो।
आफ्नो राजनीतिक अवस्थाबारे खुल्दै उनले भने, ‘पहिलोपटक भाषण यसकारण दिँदैछु कि अब म मेयरबाट राजीनामा दिएर फुर्सदमा छु। मधेशी प्रधानमन्त्री बन्नकै लागि होइन, सही सरकार बनाउन मत आवश्यक छ।’
बालेनले आफू काम गर्ने मानिस भएको उल्लेख गर्दै काम गर्न मौका दिन आग्रह गरे।
