‘उम्मेदवारी कायम गर्न जाँदा बाजागाजा लगायतका तडकभडक हुन्छ । यो पूर्ण रुपमा कानुनले निषेध गरेको छ । आचारसंहिताले निषेध गरेको छ । '– निर्वाचन आयोगका प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारी
काठमाडौँ — निर्वाचन आयोगका प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजालगायत तडकभडक नगर्न चेतावनी दिएका छन् ।
सञ्चारकर्मीहरुसँग सोमबार आयोगमा कुराकानी गर्दै उनले उम्मेदवारी कायम गर्न जाँदा बाजागाजा लगायतका तडकभडक नगर्न चेतावनी दिएका हुन् । तडकभडकलाई कानूनले पूर्ण रुपमा निषेध गरेको र आचारसंहिताले पनि निषेध गरेकाले त्यस्ता गतिविधिहरु नगर्न सचेत गराए । आचारसंहिता उल्लंघन गर्नेविरुद्ध आयोगले कठोर निर्णय लिने चेतावनी दिए । निष्ठापूर्वक आचारसंहितालाई परिपालन गर्दै मनोनयन पत्र दाखिल गर्न आग्रह गरे । प्रमुख कार्यवाहक निर्वाचन आयुक्त भण्डारीले अब हुने निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयमुक्त वातावरणमा हुने दाबी गरे । निर्वाचन हुँदैन कि भन्ने शंका नगर्न पनि आग्रह गरे ।
‘उम्मेदवारी कायम गर्न जाँदा बाजागाजा लगायतका तडकभडक हुन्छ । यो पूर्ण रुपमा कानुनले निषेध गरेको छ । आचारसंहिताले निषेध गरेको छ,' उनले भने, 'आचारसंहिताले निषेध गरेका कामहरु प्रयोग नगरिकन निष्ठापूर्वक आचारसंहितालाई परिपालन गर्दै मनोनयन पत्र दाखिल गर्न जानुभयो भने सबै सरोकारवालालगायत मतदाताहरुको र त्यसलाई टड्कारो रुपमा हेरिरहनुभएका विदेशमा रहेका, नेपालको निर्वाचनप्रति चासो र सरोकार राख्ने व्यक्तिहरुको बीचमा पनि अब हुने निर्वाचन, स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयमुक्त वातावरणमा निर्वाचन हुँदैछ । यो निर्वाचनमा कुनै शंका, उपशंका गर्नुपर्दैन ।’
उनले अब हुने निर्वाचन समयमै जसरी पनि हुनैपर्ने निर्वाचन भएकाले निर्वाचनको विकल्प भनेकै निर्वाचन भएको बताए ।
