अछामका दुवै क्षेत्रमा कांग्रेसले टुंग्यायो उम्मेदवार

स्वाँर कांग्रेसको विशेष महाविशनको पक्षमा खुलेका थिए भने शाह शेरबहादुर देउवाको पक्षमा थिए।

माघ ५, २०८२

मेनुका ढुंगाना

Congress finalizes candidates in both constituencies of Achham

अछाम — कांग्रेस अछामले उम्मेद्वारको टुंगो लगाएको छ। अछाम-१ मा कांग्रेस अछामका पूर्वजिल्ला सभापति भरतकुमार स्वाँर र क्षेत्र नम्बर २ मा पार्टीका जिल्ला सभापति पुष्पपबहादुर शाह उम्मेदवार तय भएका छन्।

स्वाँर कांग्रेसको विशेष महाविशनको पक्षमा खुलेका थिए भने शाह शेरबहादुर देउवाको पक्षमा खुलेका थिए। सभापति गगन थापा पक्षका स्वाँर र देउवा पक्षका शाह गरी दुवैलाई टिकट दिएपछि अछाममा पार्टी फुटको चरणबाट जोगिएको चर्चा हुन थालेको छ।

२०३३ सालदेखि कांग्रेसको राजनीति सुरु गरेका स्वाँर एक पटक जिल्ला विकास समितिको सभापति र पार्टीको जिल्ला सभापति भइसकेका छन्। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा अछाम-१ बाट उम्मेदवार बनेका स्वाँर तत्कालीन एमालेका उम्मेद्वार भीम रावलसँग पराजित भएका थिए । स्वाँर दोस्रो पटक प्रतिनिधिसभा उम्मेद्वार भएका छन्। 

अछाम-२ मा शाह तेस्रो पटक प्रतिनिधिसभा उम्मेद्वार भएका छन् । २०७४ मा तत्कालीन वाम गठबन्धनका उम्मेदवार यज्ञबहादुर बोगटीसँग पराजित भएका शाहले ०७९ मा भने उनै बोगटीलाई पराजित गरेर संसदीय यात्रा सुरु गरेका थिए । यसपटक पनि एमालेबाट बोटगी र कांग्रेसबाट शाह चुनावी मैदानमा भेटिने भएका छन् ।

अछाम-२ मा शाह, बोगटीसँगै नेपाली कम्युनिस्ट पार्टीबाट शरदसिंह भण्डारी, रास्वपाबाट भूपदेव शाह चुनावी मैदानमा छन् ।

मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully