दाहाल कांग्रेससँग गठबन्धन गरेर २०७४ र २०७९ सालको स्थानीय तह निर्वाचनमा भरतपुरको मेयरमा विजयी भएकी हुन्।
What you should know
चितवन — चितवन-३ मा प्रतिनिधिसभा सदस्यको उम्मेद्वारी दिन रेनु दाहालले भरतपुर महानगरपालिकाको मेयर पदबाट मंगलबार राजीनामा दिन लागेकी छन्।
उपमेयर चित्रसेन अधिकारीसमेत उपस्थित पत्रकार सम्मेलनमा मेयर दाहालले मंगलबार कार्यपालिका बैठक राखेर मेयर पदबाट राजीनामा दिने जानकारी दिइन्।
दाहाल कांग्रेससँग गठबन्धन गरेर २०७४ र २०७९ सालको स्थानीय तह निर्वाचनमा भरतपुरको मेयरमा विजयी भएकी हुन्। तत्कालीन माओवादी केन्द्रको उम्मेद्वार रहेकी दाहाल मेयर हुँदा भरतपुरमा दुवै पटक कांग्रेसबाट उपमेयर चुनिएका छन्।
माओवादी केन्द्र, नेकपा एसलगायतका पार्टीहरू एकीकरण भएर बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रेनुलाई चितवन-३ मा उम्मेद्वार बनाउँदै छ । यो पटक कुनै गठबन्धन विना उनी चुनावमा होमिँदै छिन् ।
'मेयरको पदबाट राजीनामा दिँदै गर्दा घर छाडेर जान लागेझैं भएको छ । तर सधैं महानगरमा बसेर काम गर्न संविधानले पनि दिँदैन। जनताको सेवा गर्ने हो। यसका लागि राजनीति भन्दा अरू केही नगरेका कारण चुनाव आएपछि उठ्नै पर्ने भयो,' दाहालले भनिन् ।
देशको परिस्थितीले २०८४ को चुनाव ८२ मै हुने भएपछि रहरले भन्दा पनि बाध्य भएर मेयर छाडेर उठ्नु परेको उनको भनाइ थियो । पहिलो पटक समानुपातिकबाट संविधानसभा सदस्य भएको, दोस्रो पटक संविधानसभा सदस्यका लागि निर्वाचन हुँदा काठमाडौंमा हेभिवेट उम्मेद्वार प्रकाशमान सिंहसँग प्रतिस्पर्धा गरेको र मेयर भएर विभिन्न कानुन र कार्यविधि बनाएको अनुभवका कारण निर्वाचनमा उठ्दा तरंगित हुने बानी नभएको उनले सुनाइन्।
'मान्छेले चर्चा गरेको सुन्छु रेनु विकास निर्माणमा अब्बल हो नीति निर्माणमा सक्दैन भन्छन् । म त संविधानसभा सदस्य भए । मेयर भएर ऐन र कार्यविधि बनाए । कानुन बनाउने विषयमा पनि अब्बल हो रेनु दाहाल,' उनले भनिन्।
पूर्वप्रधानमन्त्री तथा नेकपा संयोजक पुष्पकमल दाहालको छोरी हो भन्ने टीका टिप्पणीलाई आफुले कामबाट जवाफ दिएको उनले सुनाइन् । 'प्रचण्डको छोरीको हैसियतले उठेकी हो । यो फुच्ची केटीले के गर्ली भनेर धेरैले कम आँकेका हुन् । यसले पनि मलाई काम गरेर देखाउनु पर्छ भन्ने हुटहुटी जाग्यो । दुईचोटी मेयर हुँदा जे जे गरेँ त्यसको तस्बिर र प्रमाणपत्र लिएर अब चुनावमा जाँदै छु,' दाहालले भनिन् । उनले देशलाई ईमान्दार जनप्रतिनिधिको खाँचो रहेको र त्यो आफुले पूरा गर्ने बताइन् । 'कोही भन्छन् जान्नेलाई छान्ने म भन्छु गर्नेलाई छानौं । यसको हेक्का यहाँका मतदाताले गर्नु हुन्छ,' दाहालले भनिन् ।
दाहाल उठ्न लागेको चितवन-३ मा भरतपुर महानगरपालिकाको पश्चिम भेग र माडी नगरपालिका पर्छ । तीन निर्वाचन क्षेत्र भएको चितवनमा सवैभन्दा धेरै मतदाता भएको क्षेत्र चितवन-३ हो । यहाँबाट २०७९ को प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का विक्रम पाण्डे विजयी हुँदा तत्कालीन माओवादी केन्द्रका उम्मेद्वार निकटतम प्रतिस्पर्धी रहेका थिए ।
समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सबैभन्दा धेरै मत आउँदा माओवादी तेस्रो स्थानमा थियो । यहाँ राप्रपाले विक्रम पाण्डेलाई नै फेरि उम्मेद्वार बनाउँदै छ । रास्वपाबाट सोविता गौतम उठ्ने भएकी छन् । एमालेले शंकर थपलियालाई उम्मेद्वार बनाउँदै छ। कांग्रेसले उम्मेद्वारको नाम टुङ्ग्याएको छैन ।
