राप्रपाबाट मकवानपुर-१ मा सिंह र २ मा थोकरको उम्मेद्वारी तोकियो

मकवानपुर–१ बाट पूर्वसांसद दीपकबहादुर सिंह र क्षेत्र नम्बर–२ बाट रामबहादुर थोकर उम्मेदवार बन्ने भएका छन्।

माघ ५, २०८२

प्रताप विष्ट

Singh and Thokar nominated as candidates from Makawanpur-1 and 2 respectively from RPP

हेटौंडा — फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि राप्रपाले मकवानपुरका दुई वटै क्षेत्रमा उम्मेदवार टुंग्याएको छ।

मकवानपुर–१ बाट पूर्वसांसद दीपकबहादुर सिंह र क्षेत्र नम्बर–२ बाट रामबहादुर थोकर उम्मेदवार बन्ने भएका छन्।

सिंह २०७९ को निर्वाचनमा मकवानपुर–१ बाट विजयी भएका थिए । उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी महालक्ष्मी (डिना) उपाध्याय रहेकी थिइन् । सिंहले २७ हजार ८१६ मत ल्याएर विजयी भएका थिए भने डिनाले २५ हजार ४२३ मत ल्याएकी थिइन् । 

आगामी निर्वाचनमा मकवानपुर–१ मा एमालेले रामेश्वर रानालाई उम्मेदवार बनाएको छ । कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीले उम्मेदवारको टुंगो लगाइसकेको छैन । 

मकवानपुर–२ मा एमालेले पूर्वसांसद महेश बर्तौलालाई टिकट दिएको छ भने नेकपाबाट सो क्षेत्रमा थाहा नगरपालिकाका पूर्वमेयर लवशेर विष्ट उम्मेदवार बन्ने पक्का भएको छ । 

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully