डोटीमा कांग्रेसले भने साेमबार दिउँसाेसम्म उम्मेद्वारकाे टुंगो लगाएकाे छैन ।
डाेटी — फागुन २१ काे प्रतिनिधिसभा निर्वाचनका लागि डोटीमा कांग्रेसबाहेक सबै दलले उम्मेद्वारी टुंग्याएका छन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री त्रिलोचन भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
भट्ट २०७४ मा माओवादी केन्द्रबाट डोटी प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’ बाट निर्वाचित भई पाँच वर्षसम्म सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। २०७९ को निर्वाचनमा उम्मेदवार नबनेका उनी यस पटक प्रतिनिधि सभाको निर्वाचनमा पुनः उम्मेदवार बन्ने भएका हुन्।
एमालेले डोटी प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट दीपक धामीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। शनिबार सम्पन्न एमाले केन्द्रीय सचिवालय बैठकले धामीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
शिखर नगरपालिका–१० निवासी धामी हाल एमाले निकट अनेरास्ववियुका केन्द्रीय अध्यक्ष हुन्। स्वास्थ्य शिक्षा पृष्ठभूमिका धामी लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय छन्।
राष्ट्रिय जनमोर्चाले प्रतिनिधि सभा निर्वाचनका लागि मनोज भट्टलाई उम्मेदवार बनाउने भएको छ। पार्टीका महासचिवसमेत रहेका भट्टलाई सिफारिस गरिएको जनमोर्चा डोटीका अध्यक्ष डबल बोगटीले जानकारी दिए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नरेन्द्रबहादुर खड्का उम्मेदवार बन्ने भएका छन्। खड्का २०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधिसभा निर्वाचनमा सहभागी भई प्रेमबहादुर आले मगरसँग पराजित भएका थिए। व्यवसायी खड्का डोटी उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत हुन्। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट खड्ग अग्रवाल उम्मेदवार बनेका छन् ।
कांग्रेसले भने साेमबार दिउँसाेसम्म उम्मेद्वारकाे टुंगो लगाएकाे छैन ।
