रास्वपाको समानुपातिक सूचीमा जेन–जी आन्दोलनका घाइते प्रकाश बोहोरा

निर्वाचन आयोगले सार्वजनिक गरेको रास्वपाको समानुपातिकतर्फ खस–आर्य क्लस्टरको चौथो सूचीमा बोहोराको नाम समावेश छ ।यसअघि उनको नाम यही क्लस्टरको दुई नम्बरमा थियो ।

माघ ५, २०८२

कान्तिपुर संवाददाता

Prakash Bohora, the injured member of the Gen-G movement, is on the RSVP's proportional list.

What you should know

काठमाडौँ — जेन–जी आन्दोलनका क्रममा घाइते भएका प्रकाश बोहोरा रास्वपाको समानुपातिक उम्मेदवार सूचीमा परेका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको रास्वपाको समानुपातिकतर्फ खस–आर्य क्लस्टरको चौथो सूचीमा बोहोराको नाम समावेश छ ।यसअघि उनको नाम यही क्लस्टरको दुई नम्बरमा थियो । 

जेन–जी आन्दोलनका क्रममा देब्रे खुट्टामा चोट लागेका बोहोरा हाल पनि ट्रमा अस्पतालमा उपचाररत छन् ।

भदौ २३ गते भएको आन्दोलनका क्रममा बोहोराको खुट्टाबाट छुटेको जुत्ता जेन–जी आन्दोलनको प्रतीक बनेको थियो । रक्ताम्य अवस्थामा देखिएको उक्त जुत्ताको तस्वीर सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएको थियो । समानुपातिक सूचीमा समेटिएपछि बोहोराले समय र परिस्थितिले आफूलाई राजनीतिमा ल्याइपुर्‍याएको बताए । ‘म यसरी राजनीतिमै आउँछु भन्ने लागेको थिएन । तर कुनै पनि ठाउँ पाएँ भने करप्ट सिस्टम सुधार्ने काम गर्छु भन्ने भावना सधैं थियो,’ उनले कान्तिपुरसँग भने ।

बालेनसँगको भेटपछि सिफारिस
बोहोराको नाम बालेन शाहको टिममार्फत सिफारिस भएको हो । यसअघि रास्वपाले सार्वजनिक गरेको समानुपातिक सूची केही नामका कारण विवादमा परेको थियो । त्यस क्रममा जेन–जी आन्दोलनका घाइतेहरू सूचीमा नसमेटिएको भन्दै बोहोराले असन्तुष्टि जनाएका थिए । त्यसपछि उनले कुपण्डोलमा बालेनसँग भेट गरी गुनासो राखेका थिए । ‘तपाईंहरूले सधैं कर्णालीलाई पछि राख्नुभयो । २३ र २४ गतेको घटनामा पनि धेरै घाइते कर्णालीकै छन्, तर उनीहरू समेटिन सकेनन्,’ उनले भेटमा भनेका थिए ।

‘उहाँहरूले हतार र समयको अभावका कारण गल्ती भएको स्वीकार गर्नुभयो,’ बोहोरा भन्छन् । सौहार्दपूर्ण छलफलपछि बालेनको टिमले सम्पर्क राख्दै समन्वय अघि बढाएको बोहोराको भनाइ छ । ‘म नै पर्नुपर्छ भन्ने थिएन । जेन–जीका घाइतेमध्ये जो समेटिए पनि हुन्थ्यो । तर आफू परेकोमा खुसी छु । सिक्दै गएर केही न केही योगदान गर्छु भन्ने छ,’ उनले भने ।

कान्तिपुर संवाददाता

Link copied successfully