सुशासनका पाइला पर्खिरहेको जुत्ता

देशमा बेरोजगारीले पिल्सिएर रुसी सेनामा भर्ती भएका युवाले ज्यानको बाजी लगाएर कमाएको पैसाबाट किनेको जुत्ता अहिले नेपालको जेन–जी आन्दोलनको ‘आइकन’ बनेको छ।

आश्विन ९, २०८२

समर्पण श्री, विवेक पोख्रेल, दया दुदराज

Shoes waiting for good governance

काठमाडौँ — जेन–जी आन्दोलनको बलमा सत्ता बदलिएको दुई साता भइसक्यो तर त्यस आन्दोलनका अनेक दृश्य सामाजिक सञ्जालमा अझै घुमिरहेका छन् । तिनमा सर्वाधिक चर्चा र चासो बनेको दृश्य हो, रगतले लतपतिएको सेतो जुत्ता । जेन–जी विद्रोहको आइकन बनेको यो जुत्ताबारे सामाजिक सञ्जालमा अनेकन अड्कलबाजी भेटिन्छन् ।

आखिर यो जुत्ता थियो कसको ? कसको रक्ताम्य खुट्टाबाट छुटेको थियो यो जुत्ता ? कान्तिपुरले खोजबिन गर्दा थाहा भयो– यो जुत्ता २८ वर्षीय प्रकाश बोहराको हो । दैलेख, नारायण नगरपालिका–८ स्थायी घर भएका प्रकाश अहिले ट्रमा सेन्टरमा उपचाररत छन् ।

आन्दोलनको पहिलो दिन २३ भदौमा ११ बजेतिरै प्रकाश साथीभाइसँग माइतीघर पुगेका थिए । उनी आफ्नो पुस्ताको आवाज घन्काउँदै बानेश्वरतिर लम्किए । प्रहरीले अश्रुग्यास प्रहार गर्दा पनि पर्वाह गरेनन्, संसद् भवनको पर्खालनेरै पुगे । केही प्रदर्शनकारीले संसद् भवन बाहिरको पर्खाल भत्काउन सुरु गरिसकेका थिए ।

‘त्यहीँ मिसिएर मैले फलामे बार तान्दै गर्दा देब्रे खुट्टामा गोली लाग्यो । म लत्रक्कै परें,’ अस्पतालको बेडमा रहेका प्रकाशले सुनाए । गोली लाग्दै गर्दा सँगै गएका उनको सालो पर्ने विप्लव थापाले भिडियो खिचिरहेका थिए । भिडियोमा प्रकाशको सेतो जुत्ता प्रस्टै देखिन्छ । उनलाई गोली लागेपछि भने आन्दोलनकारी तितरबितर भएको भिडियोमा देखिन्छ । 

गोली लागेपछि खुट्टा रक्ताम्य भएको र साथीहरूले एम्बुलेन्समा चढाएको प्रकाशलाई याद छ । ‘मेरो खुट्टा लत्रिरहेको थियो । एम्बुलेन्समा हाल्ने बेला कसैले जुत्ता खोल्दे भनेको सुनेको थिएँ । खुट्टाबाट कसैले जुत्ता खोलिदिएको पनि सम्झना छ,’ उनले सुनाए, ‘त्यसपछि मलाई यहाँ (ट्रमा सेन्टर) ल्याइएछ । दाहिने खुट्टाको जुत्ता यहीँ आएपछि स्वास्थ्यकर्मीले खोलिदिएछन् ।’ ट्रमा सेन्टरमा उनको खुट्टाको शल्यक्रिया गरिएको थियो । आईसीयूमा उपचार चलिरहेका बेला प्रकाशले कसैको रक्ताम्य जुत्ताको फोटो भाइरल भएको सुनेका थिए । तर त्यो आफ्नै हो भन्नेमा उनलाई थाहा थिएन । आन्दोलनपछिको नवौं दिन विप्लवले सुनाए, ‘भिनाजु तपाईंको जुत्ता पूरै भाइरल छ त ।’

सुरुमा त उनले यसलाई सामान्य रूपमा लिए । दुई दिनपछि आईसीयूमा नर्सहरूसँग मोबाइल मागेर भाइरल भएको त्यो फोटो नियालेर हेरे । उनले सुनाए, ‘त्यसपछि म निश्चित भएँ, त्यो मेरै जुत्ता हो । त्यो जुत्तासँगै फेरि म आन्दोलनको सम्झनामा पुगेँ ।’ 

प्रकाशले विवरण सुनाएपछि कान्तिपुरले उनको दाहिने जुत्ताबारे अस्पतालको इमर्जेन्सी कक्षमा बुझ्यो । इमर्जेन्सीमा कार्यरत सरसफाइकर्मीले उनको खुट्टामा भएको दाहिने जुत्ता अस्पतालमा खोलिएको र जोडा नभएका कारण त्यसलाई फोहोर व्यवस्थापन गर्दा फालिएको बताए । 

Shoes waiting for good governanceजेन-जी आन्दोलनमा गोली लागेर घाइते भएका दैलेख नारायण-८ निवासी २८ वर्षीय  प्रकाश बोहरा १७ दिनदेखि राष्ट्रिय ट्रमा सेन्टरमा। तस्बिर : अंगद ढकाल/कान्तिपुर

यो जुत्ताको कथा यतिमै सीमित छैन । यससँग प्रकाशको संघर्षपूर्ण विगत पनि जोडिएको छ । २०७३ मा हेल्थ असिस्टेन्ट (एचए) पास गरेपछि प्रकाश लोक सेवा आयोगको परीक्षाको तयारीमा जुटेका थिए । भनेजस्तो नभएपछि उनले केही समय विभिन्न परियोजनामा काम गरे ।

केही समय दैलेख कारागारको स्वास्थ्य सेवा शाखामा पनि काम गरे । घरको सानो किराना पसल र सामान्य खेतीपातीबाट हुने आम्दानीका भरमा घर खर्च नचल्ने भएपछि प्रकाश आत्तिएका थिए । भूकम्पले भत्काएको घर बनाउँदा ऋण लागेको थियो । ऋण बढ्दै गएपछि उनले विभिन्न विकल्प खोजे, धेरैमा असफल भए । उनको छटपटी बढिरहेका बेला रुस–युक्रेन युद्ध सुरु भयो । साथीभाइको सल्लाहमा उनले रुसी सेनामा भर्ती हुन जाने निर्णय लिए । 

दुई वर्षअघि प्रकाश रुसी सेनामा भर्ती पनि भए, युक्रेनविरुद्धको लडाइँमा होमिए । यसरी रुसी सेनामा भर्ती भएका करिब ७३ नेपालीको मृत्यु भएको पुष्टि भइसकेको छ । ५० जनाको डीएनए रिपोर्ट आउन बाँकी छ । ८ जना युक्रेनमा बन्धक छन्, कयौं घाइते र सम्पर्कविहीन छन् । तर संयोगले प्रकाश भने पाँच महिनाअघि सकुशल नेपाल फर्किन पाए । 

लडाइँका क्रममा युक्रेनको दोनेत्स्कसम्म पुगेका उनले भने, ‘मसँगै तालिम लिएका साथीहरू मारिए । म बालबाल बाँचेर फर्किएँ । तर आफ्नै देशको हितका लागि सडकमा ओर्लिंदा गोली खाएँ ।’ रुसी सेनाको कमाइबाट उनले बाइक किने । घर फर्किंदै गर्दा नेपालगन्जको एक पसलमा उनले सेलमा राखिएका दुई जोर जुत्ता पनि किने । त्यसमा एक जोर थियो– अहिले भाइरल बनेको सेतो जुत्ता । साम्बा ब्रान्डको त्यो जुत्ता उनले १५ सय रुपैयाँमा किनेका थिए । 

जुत्ता किनेपछि प्रकाशले श्रीमती राधिका खड्का बोहरालाई ह्वाट्सएपमार्फत फोटो पनि पठाएका रहेछन् । त्यही ह्वाट्सएपको अर्काइभ हेर्दा पनि उनकै जुत्ता थियो भन्ने पुष्टि हुन्छ । अर्काइभ खोल्दै उनले सुनाए, ‘मे ८ (२५ वैशाख) मा किनेको रहेछु ।’ 

जुत्ता किन्नुअघि प्रकाशले पत्नी राधिकालाई पनि सोधेका थिए । ‘उहाँले एकदम मनपर्‍यो भन्नुभएको थियो, मैले किन्नुस् न भनेकी थिएँ । उहाँले त्यो सेतो धेरै लगाउनुभएकै थिएन । सायद धेरै दुःखको कमाइले किनेकाले होला, एक दिन लगायो भने धोएर राखिहाल्नुहुन्थ्यो,’ उनले भनिन् । 

रुसी सेनाबाट फर्केपछि प्रकाश कतार प्रहरीमा जाने योजनामा थिए । त्यसैका लागि प्रक्रिया अघि बढाउन दुई महिनाअघि काठमाडौं आएका थिए । तर उनको मन थिर थिएन । देशभित्रको बेरोजगारी अनि कामकै लागि जीवनको दाउ लगाएर विदेशिनुपर्ने बाध्यताले आम युवाजस्तै उनी पनि बेचैन थिए । एक दिन कुरै कुरामा प्रकाशले आमासँग भनेका पनि थिए, ‘ममी, मलाई साह्रै चिन्ता लाग्छ । आफू जस्तोसुकै भए पनि देश बने हुन्थ्यो ।’ छोराको बचन सुनेर आमाले गहभरि आँसु पारिन् । 

त्यही बीच प्रकाशले आफूजस्तै बेचैन युवाहरू सडकमा उत्रिने खबर पाए । ‘म पनि जान्छु भनेर निर्णय लिएँ । कमसेकम मेरो भाइ पुस्ता अहिलेको जस्तो अवस्थाबाट गुज्रनु नपरोस् भनेर आन्दोलनमा गएको हुँ ।’

त्यो दिन बिहान आन्दोलनमा जान सेतो टोपी, सेतो ‘विन्डचिटर’ र सेतै जुत्ता लगाउँदै गर्दा प्रकाशको मनमा मिलिक्क एउटा शंका आएको थियो, ‘कतै मेरो यो सेतो कपडा रातो हुने त हैन ?’ तर, रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्ध युद्धमा खटिएका प्रकाश आफ्नो शंकामा धेरै घोत्लिएनन् । 

Shoes waiting for good governance

प्रकाश आन्दोलनमा गएको बा, आमा, श्रीमती कसैलाई थाहा थिएन । राधिकाले सुनाइन्, ‘छिमेकीले समाचारमा देख्नुभएछ । उहाँको नाम पनि घाइतेहरूको सूचीमा थियो । गोली लागेको खबरपछि त रुवाबासी नै भयो ।’ आमा नन्दाले छोरालाई गोली लागेको खबर सुन्दा छाँगाबाट खसेझैं भएको बताइन् । ‘दसैंका लागि बुधबार आउँछु भनेको थियो । तर दुई दिन अगाडि नै यस्तो खबर सुन्नुपर्‍यो,’ आँखाको टिलपिल आँसु पुछ्दै उनले भनिन् । 

प्रकाशकी आमा र १६ महिने छोरासहित राधिका अहिले अस्पतालमा कुरुवा छन् । कहिले प्रकाशलाई सन्चो हुन्छ र घर लिएर जान पाइन्छ भन्नेमा मात्रै उनीहरूको ध्यान छ । आमा नन्दाले सुनाइन्, ‘डाक्टरले यहाँ अझै धेरै समय बस्नुपर्छ भनेका छन् । तर कहिलेसम्म हो !’ 

राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. बद्री रिजालका अनुसार प्रकाशको स्वास्थ्य सुधारोन्मुख छ । ‘उहाँको बायाँ खुट्टाको तिघ्रामा गोली लागेको छ । गोलीले रक्तनलीको नसा र चेतना पाउने नसामा गहिरो असर छ । हामीले उपचार जारी राखेका छौं,’ उनले भने, ‘हड्डीमा पनि असर परेकाले थप अपरेसन गर्नुपर्नेछ ।’

आन्दोलनमा गोली लागे पनि प्रकाशलाई केही गुमाएझैं लागेको छैन । बरु आफूले परिवर्तनको आशा गरिरहेको उनले सुनाए । ‘जेन–जीले खाएको गोलीबाट बनेको सरकारले मृतक परिवार र घाइतेलाई राहत देओस् । भ्रष्टाचार अन्त्य गरोस्, सुशासन कायम गरोस्,’ उनको कामना यत्ति छ ।

समर्पण श्री उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

विवेक पोख्रेल विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

दया दुदराज दया कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully