रास्वपा पर्वतका संस्थापक सभापति भण्डारीद्वारा स्वतन्त्र उम्मेदवारी घोषणा

पार्टीले उम्मेदवार चयनमा एकलौटी गरेको र जिल्ला तहमा समन्वय नगरेको आरोप लगाउँदै उनले सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गरेका हुन् ।

माघ ५, २०८२

दीपक परियार

Bhandari, the founding president of the RSVP Parbat, announces his independent candidacy.

पाेखरा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्वतका संस्थापक जिल्ला सभापति नवराज भण्डारीले आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।

पार्टीले उम्मेदवार चयनमा एकलौटी गरेको र जिल्ला तहमा समन्वय नगरेको आरोप लगाउँदै उनले सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गरेका हुन् ।

सोमबार एक विज्ञप्ति जारी गर्दै भण्डारीले पार्टीको केन्द्रले जिल्लाका नेता–कार्यकर्तासँग कुनै छलफल नगरी टिकट वितरण गरेकोमा असन्तुष्टि व्यक्त गरेका छन्। उनले विगतमा पार्टीको झण्डा र 'घण्टी' चुनाव चिह्न लिएर पर्वतका विकट गाउँसम्म पुगेर संगठन विस्तार गरेको र अघिल्लो निर्वाचनमा सम्मानजनक मत ल्याउन भूमिका खेलेको स्मरण गरेका छन् ।

'पार्टीलाई जन्माउन, हुर्काउन र बलियो बनाउन ठूलो परिश्रम गरियो,' भण्डारीले विज्ञप्तिमा उल्लेख गरेका छन्, 'तर हाल प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार छनोट गर्दा पर्वत जिल्लामा कुनै छलफल नगरी केन्द्रबाटै टिकट पठाइएको जानकारी सामाजिक सञ्जालमार्फत पाएँ ।'

उनले पर्वतमा गरिब परिवार र स्वच्छ छवि भएको युवा सांसद बन्न सक्छ भन्ने आफ्नो बुझाइ रहेको तर पार्टीले त्यसलाई बेवास्ता गरेको गुनासो गरेका छन्।

पार्टीको पछिल्लो निर्णयले कार्यकर्ता र शुभचिन्तकहरूको भावनामा चोट पुगेको भन्दै उनले सबैको सल्लाहमा आफू 'स्वतन्त्र उम्मेदवार' को रूपमा चुनावी मैदानमा उत्रने निर्णयमा पुगेको बताएका छन् । रास्वपाले पर्वतमा डा‍.केशवराज भूर्तेललाई उम्मेदवार बनाएको छ । 

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully