अगुवा कार्यकर्ता भेलाको निर्णयबाट गोरखा–२ बाट बाबुराम भट्टराईलाई उम्मेदवार बनाउने निर्णय भएको प्रलोपाका जिल्ला नेता यानप्रसाद भट्टले बताए ।
गोरखा — आसन्न प्रतिनिधिसभा निर्वाचनमा नउठ्ने घोषणा गरेका बाबुराम भट्टराई गोरखा क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फको उम्मेदवार बन्ने भएका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)बाट भट्टराई उम्मेदवार बन्न लागेका हुन् ।
अगुवा कार्यकर्ता भेलाको निर्णयबाट गोरखा–२ बाट भट्टराईलाई उम्मेदवार बनाउने निर्णय भएको प्रलोपाका जिल्ला नेता यानप्रसाद भट्टले बताए ।
स्रोतका आइतबार अगुवा कार्यकर्ता भेलामा सहभागी भट्टराईलाई कार्यकर्ताले उम्मेदवार बन्न दबाब दिएका थिए । ‘उम्मेदवार बन्न उहाँ मानिरहनुभएको थिएन, हामी कार्यकर्ताबाट चर्को दबाब दियौँ, केही साथीहरूले त उम्मेदवार नबन्ने भए संगठनमा बस्न सकिँदैनसम्म भन्नुभयो,’ बैठकमा सहभागी एक कार्यकर्ताले भने,‘चर्को दबाब पछि उहाँलाई नै उम्मेदवार बनाउने निर्णय भएको छ ।’ गोरखा–१ को भने केहीबेरमा उम्मेदवार टुंगो लगाउने भट्टले जानकारी दिए ।
भट्टराईले २०६४ को संविधानसभा निर्वाचनमा पनि गोरखा–२ बाट निर्वाचित बनेका थिए भने २०७० मा गोरखा–१ बाट निर्वाचित बनेका थिए । २०७४ सालमा कांग्रेससँगको गठबन्धनबाट गोरखा–२ मा विजयी बनेका भट्टराईले २०७९ मा भने नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई सघाएका थिए ।
