अर्घाखाँचीमा एमालेबाट पिताम्बर भुसाल उम्मेदवार

२०५४ सालमा २५ वर्षको उमेरमा बाँगी गाविस अध्यक्ष निर्वाचित एमाले जिल्ला अध्यक्ष भुसाल २८ वर्षपछि पहिलो पटक सांसदीय चुनावमा भिड्न लागेका छन्।

माघ ४, २०८२

वीरेन्द्र केसी

Pitambar Bhusal is the candidate from UML in Arghakhanchi.

What you should know

अर्घाखाँची — फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमालेले जिल्ला अध्यक्ष पिताम्बर भुसाललाई उम्मेदवार बनाएको छ ।

२०५४ सालमा २५ वर्षको उमेरमा बाँगी गाविस अध्यक्षमा निर्वाचित भुसाल २८ वर्षपछि पहिलो पटक सांसदको चुनावमा भिड्दैछन्।  

एमालेमा उनी गाउँ, इलाका, क्षेत्रीय, जिल्ला सदस्य हुँदै जिल्ला अध्यक्ष भएका हुन् । दुवै पटक निर्विरोध जिल्ला अध्यक्ष भएका उनको यो दोस्रो कार्यकाल हो। 

अर्घाखाँचीका सबै निर्वाचन क्षेत्रमा एमालेले एक्लै चुनाव जितेको २०७९ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा पहिलो पटक हो । ०५६ मा एमाले–राष्ट्रिय जनमोर्चाबीच तालमेल गरी तत्कालीन क्षेत्र २ बाट एमालेका डा. डिल्लीराज खनाल र ०७० मा सोही क्षेत्रबाट डा. दुमनसिंह थापाले जितेका थिए । दुवै जनाले प्रतिस्प्रर्धी कांग्रेसकी पुष्पा भुसाल गौतमलाई पराजित गरेका थिए ।  एमाले विभाजनपछि माधव नेपालतिर लागेका थापाको दुई वर्षअघि निधन भयो । अर्थशास्क्री खनाल सत्रिय राजनीतिबाट टाढा छन्। 

०७४ को चुनावमा एमाले–माओवादी तालमेल हुँदा प्रदेशसभा १ मा हालका लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्य र २ मा रामजीप्रसाद घिमिरे निर्वाचित भएका थिए । एमाले र माओवादीबीच पार्टी एकतापछि बनेको नेकपा भंग भएपछि २०६४, ०७०, ०७४ मा माओवादीबाट चुनाव जितेका टोपबहादुर रायमाझी पुष्पकमल दाहाललाई छाडेर केपी शर्मा ओलीतिर लागे । ०७९ को चुनावमा तिनै रायमाझी प्रतिनिधिसभामा, आचार्य प्रदेशसभा १ र घिमिरेले २ बाट निर्वाचित भए । 

कांग्रेस–माओवादीसहितको पाँच दलीय गठबन्धनका उम्मेदवारलाई हराउँदै एमालेले तीनवटै निर्वाचन क्षेत्रमा जिताउन भूमिका खेलेको भन्दै एमाले अध्यक्ष भुसाललाई काठमाडौंमा ओलीले कार्यक्रम गरेरै विशेष सम्मान गरेका थिए । 

२०४१ सालमा आदर्श मावि खनदहमा पढ्दै गर्दा राजनीतिक यात्रा सुरु गरेका भुसाल २०५४ मा एमाले जिल्ला कमिटी सदस्य हुँदै अध्यक्षमा रहेका उनी सामाजिक काममा सक्रिय छन् ।

यसपाली उम्मेद्वारका लागि जिल्लाबाट उनीसँगै टोपबहादुर रायमाझीसहित पाँच जनाको नाम सिफारिस भएको थियो । एमाले लुम्बिनी प्रदेश कमिटीले गोपाल खनालको नाम थपेको थियो । रायमाझी भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि दुई वर्षदेखि थुनामा छन् । मुख्यमन्त्री आचार्यले चुनाव नलड्ने भएपछि भुसाल उम्मेदवार बनेका हुन् ।  

वीरेन्द्र केसी केसी कान्तिपुरका अर्घाखाँची संवाददाता हुन् ।

Link copied successfully