संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरको आ-आफ्नै अडानका कारण कांग्रेस विग्रहको बाटोमा आइपुगेको छ । दुवै पक्षले आ-आफ्नै दाबी र तर्क गरिरहेका छन् । कांग्रेस पार्टीभीत्र भइरहेको विवाद र त्यसपछिका घटनाक्रमबारे लाइभ अपडेटका लागि ekantipur.com हेर्दै गर्नुहोला ।
कांग्रेसको विशेष महाधिवेशन पक्षधरबाट उपसभापतिमा निर्वाचित विश्वप्रकाश शर्माले गगन थापाको नेतृत्वमा कांग्रेस नयाँ भएर आउने बताएका छन् ।
शर्माले जलेका मन र गुमेका विश्वास जोड्न आफूहरू लाग्नुपर्ने पनि बताएका छन् । विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरेसँगै सम्बोधन गर्दै उनले युवा नेतृत्व पार्टी सभापति गगन थापाले निर्वाचित भएको बताए। शर्माले आफुहरु नेपाल बनाउन सकिन्छ भन्ने सपना बोकेर आएको पनि बताए ।
कांग्रेसको विशेष महाधिवेशन पक्षधरबाट उपसभापतिमा निर्वाचित विश्वप्रकाश शर्माले विमतिका बीच तर विधिको माध्यमबाट नयाँ नेतृत्व चयन भएको बताएका छन्।
विशेष महाधिवेशनलाई सम्बोधन गर्दै शर्माले विधिको बाटोबाट महाधिवेशन टुंगिएको उल्लेख गरे। उनका अनुसार महाधिवेशनमा सहभागी प्रत्येक व्यक्ति इतिहास रच्ने क्रममा सहभागी भएको र इतिहासको साक्षी बनेको छ।
शर्माले भृकुटीमण्डपमा आवेग छाडेर ऊर्जा लिएर घर फर्किन प्रतिनिधिहरूलाई अनुरोध गरेका छन्। उनले भने, 'हामीले कांग्रेसलाई बदल्ने भनेको गगनलाई सभापति बनाएर मात्रै होइन। उहाँलाई कमान्डर बनाएका हौं। कमान्डर बलियो हुँदा सेना पनि बलियो भएर उभिनुपर्छ।'
कांग्रेसको विशेष महाधिवेशन पक्षधरबाट सभापतिमा निर्वाचित गगन थापाले अब कांग्रेस सबै खालको परिवारवादबाट मुक्त भएको बताएका छन्।
विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले भने, 'अब नेपाली कांग्रेस सबै गुटबाट मुक्त भयो।' उनले प्रश्नहरू मरेको पार्टीले बाहिर गएर न्याय गर्न नसक्ने बताए। थापाले कांग्रेसका सबै क्रियाशील सदस्य र सभापति बराबर रहेको उल्लेख गर्दै त्यसैको नयाँ परम्परा सुरु भएको दाबी गरे।
कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले गगन थापालाई सभापतिमा निर्वाचित गरेसँगै उनले शेरबहादुर देउवाको अध्याय टुंगिएको बताएका छन्।
विशेष महाधिवेशनलाई सम्बोधन गर्दै थापाले भने, 'कसलाई प्रधानमन्त्री र पार्टी सभापति बनाउने हो, निर्णय गर्नुस् भनेर देउवालाई भनेकै हो। आज बिहान पनि त्यही भनेको हो।'
उनले पार्टीलाई ठीक ठाउँमा उभ्याउन निर्णय लिन आग्रह गरे पनि त्यसो नभएको बताए। अन्त्यमा उनले प्रश्न गरे, 'के यति भन्नु अपराध थियो?'
पुस २७ देखि काठमाडौंको भृकुटीमण्डपमा भएको कांग्रेस विशेष महाधिवेशनले सभापतिमा गगन थापासहित १३ पदाधिकारी र १ सय २१ केन्द्रीय सदस्य निर्वाचित गरेको छ । यो सूची निर्वाचन समितिलाई दिइएको छ । उक्त सूची घोषणा गर्ने तयारी समितिले गरिरहेको छ ।
कांग्रेस देउवा पक्षले कारबाहीको निर्णय गरेसँगै विशेष महाधिवेशन पक्षधरहरूले निर्वाचन कार्यक्रम अघि बढाएका छन्। मध्यरातमा भृकुटीमण्डपस्थित महाधिवेशनस्थलमा गगन थापा र विश्वप्रकाश शर्मा आइपुगेका छन्। केही बेरमै निर्वाचित कार्यसमितिको नामावली सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।
पुस २७ देखि काठमाडौंको भृकुटीमण्डपमा भएको कांग्रेस विशेष महाधिवेशनले सभापतिमा गगन थापासहित १३ पदाधिकारी र १ सय २१ केन्द्रीय सदस्य निर्वाचित गरेको छ । यो सूची निर्वाचन समितिलाई दिइएको छ । उक्त सूची घोषणा गर्ने तयारी समितिले गरिरहेको छ ।
नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले सहमतिका आधारमा नेतृत्व चयन गरेको छ । सहमतिबाट चयन भएका नयाँ नेतृत्वको केहीबेरपछि निर्वाचन समितिले घोषणा गर्दैछ । सभापतिमा गगन थापा, उपसभापतिमा विश्वप्रकाश शर्मा, पुष्पा भुसाल, महामन्त्रीहरुमा प्रदीप पौडेल, गुरुराज घिमिरे छन् ।
वरिष्ठ अधिवक्ता तथा संविधानविद् चन्द्रकान्त ज्ञवालीले विशेष महाधिवेशन पक्षधरको कदम विधानसम्मत भएको बताएका छन्। न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले संस्थापनले महाधिवेशन नबोलाएको पृष्ठभूमिमा पुराना महाधिवेशन प्रतिनिधिमध्ये जो कोहीले विशेष महाधिवेशन बोलाउन सक्ने व्यवस्था रहेको बताए।
उनले भने, ‘विधानत ५४ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशन बोलाएको अवस्था हो। त्यसले पहिलाको केन्द्रीय समितिलाई भंग गरेको अवस्था देखाउँछ। निर्वाचन प्रक्रियामा विशेष महाधिवेशन गएको अवस्था छ। निर्वाचनका लागि कार्यतालिका पनि प्रकाशित गरिएको छ, कार्यतालिकामा उम्मेदवारको आह्वान पनि गरिएको छ। पार्टीको सभापतिदेखि अन्य मनोनयन हुन लागिरहेको अवस्थामा तीन जनालाई कारबाही गरिएको अवस्था देखिन्छ।’
ज्ञवालीले आधिकारिकताको लडाईं लम्बिएमा कांग्रेसले उम्मेदवार चयन र मनोनयन गर्न नसक्ने जोखिम रहेको पनि बताए।
कांग्रेस विशेष महाधिवेशन पक्षधर नेता विश्वप्रकाश शर्माले जिन्दगीमा पहिलो पटक कारबाही भन्ने शब्दमा परेको बताएका छन् ।
बदलिएको समय अनुसार कांग्रेस चलाऔं भन्दा कारबाहीमा पर्नुपर्ने स्थिति आएको उनले उल्लेख गरेका छन् । भृकुटीमण्डपको विशेष महाधिवेशन हलमा बोल्दै उनले कारबाही गरेर आफूलाई पुरस्कृत गरिएको बताएका छन् ।
देउवा पक्षबाट ५ वर्षका लागि कारबाहीमा परेका सहमहामन्त्री फरमुल्लाह मन्सुरले अब कुनै षडयन्त्र र कोठाको निर्णयले पार्टी चलाउन नसक्ने दाबी गरेका छन्। विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा बहुमत भएकाले सानेपामा बसेर गरिएको कारबाहीको अर्थ नभएको र स्वीकार्य नहुने दाबी गरे।
अघिल्लो महाधिवेशनमा देउवा पक्षबाटै सहमहामन्त्री भएका उनी यस पटक थापा–शर्मातिर खुलेका थिए।
विशेष महाधिवेशन स्थलमा कांग्रेस कार्यकर्ताहरूले ‘हाम्रा नेता गगन, विश्व’ को नाराबाजी गरिरहेका छन् । उनीहरूले ‘कांग्रेस कार्यकर्ता के भन्छ ? गगन–विश्व ल्याउ भन्छ’ भन्ने नारा समेत लगाएका छन् ।
विशेष महाधिवेशनको बन्द सत्रको हलमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा उपस्थित छन् । दुवै नेताले बन्द सत्रलाई सम्बोधन गरिसकेका छन् ।
केही बेरमै पार्टीको नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुने जनाइएको छ ।
कांग्रेस विशेष महाधिवेशन पक्षधर नेता गगन थापाले निर्वाचनको प्रक्रिया अघि बढाउने बताएका छन्। उनले सकेसम्म सहमतीमै उम्मेदवार छानेर अघि बढने बताए।
उनले भने, ‘विशेष महाधिवेशनले जे निर्णय गर्छ त्यसलाई नेपालको संविधानले मान्छ। कांग्रेस एक छ। एउटै रहन्छ।’
कांग्रेस विशेष महाधिवेशन पक्षधर नेताले यतिबेला आफूहरू कहाँ उभिने हो भनेर सोच्नुपर्ने बताएका छन्। उनले सत्यको पक्षमा उभिने हो कि होइन भनेर सोच्नुपर्ने बताए। भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनस्थलमा बोल्दै उनले भने, ‘हामी कोसँग डराउने हो ?’
उनले कसैलाई पनि व्यक्तिगत गालीगलौज गरेर सामाजिक सञ्जालमा नलेख्न अनुरोध गरे। उनले भने, ‘कोही साथी पनि विचलित नहुनुहोस्।’
कांग्रेस महामन्त्री गगन थापाले केन्द्रीय कार्य समिति भंग भइसकेको बताएका छन्।
विशेष महाधिवेशनस्थलमा बोल्दै उनले भने, ‘केन्द्रीय कार्य समिति भंग भइसकेको छ। नयाँ केन्द्रीय कार्य समिति गठन गर्ने प्रक्रियामा छौं। यो नेपाली कांग्रेस हो। हामी बीपी कोइराला, गणेशमान सिंहका सन्तान हौं। यही हो कांग्रेस।’
कांग्रेस विशेष अधिवेशनको बन्द सत्रमा सम्बोधन गर्दै गगन थापाले जेन–जी आन्दोलनपछि के बदलियो ? के देशले शेरबहादुर देउवा चाहियो भनेर मागेको हो ? भनेर प्रश्न गरेका छन्।
उनले भने, ‘पटक–पटक भनेको हो, आज बिहान पनि भनेको हो– हामीलाई केही चाहिएको छैन। विशेष महाधिवेशनको हलबाट एउटा अन्तरिम नेतृत्व बनाऔं। कसलाई बनाउने, तपाईं बनाउनुहोस्। एउटा टेक्ने ठाउँ दिनुहोस् भनेको छ। २१ फागुनको निर्वाचनमा जाँदा केही त नयाँ लिएर जाऔं। यो म सभापति हुने कुरासँग जोडिएको होइन। हामी त जोखिम उठाउन तयार भएका हौं।'
गगन थापाले आफूहरू बहुमत महाधिवेशन प्रतिनिधि भएको ठाउँमा रहेर पनि सहमतिको प्रयास अन्तिमसम्म जारी राखेको बताएका छन्।
उनले अबको चुनावमा हाम्रो प्रधानमन्त्रीको उम्मेदवार शेरबहादुर देउवा होइन भनेर जानुपर्छ भन्न मात्रै भन्न खोजिएको बताए। उनले विशेष महाधिवेशन नेपाली कांग्रेस बदलिएर आएको सन्देश दिनका लागि भएको पनि बताए।
गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाको घरमै पुगेर आफूहरूलाई पद होइन, पार्टीलाई बदल्न चाहिएको कुरा बारम्बार भनेको बताएका छन्। उनले आफू र महामन्त्री विश्वप्रकाश शर्मालाई केही पनि नचाहिएको स्पष्ट पारे। उनले भने, ‘म सभापति बन्ने कुरै होइन। हामीलाई केही चाहिएको छैन।’
विशेष महाधिवेशनस्थलमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सानेपामा बसेको शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फर्मुल्ला मनसुरलाई अनुशासनको कारबाही गरेपछि मीन विश्वकर्माले अब वार्ताको विषय सकिएको र पार्टी दुःखदायी अवस्थामा गएको दाबी गरेका छन्।
केन्द्रीय कार्यसमितिको बैठकका निर्णय सार्वजनिक गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। विश्वकर्माका अनुसार, थापासहित उक्त नेताहरूले नेपाली कांग्रेसको नियमावलीको धारा ३४ विपरीत कार्य गरेका छन्, पार्टीको आचार संहिता उल्लङ्घन गरेका छन् र पार्टीलाई हानी–नोक्सान पुर्याएका कारण धारा ५० अनुसार कारबाही गरिएको हो।
उनले अन्य महाधिवेशन प्रतिनिधि र कार्यकर्तालाई पनि पार्टीमा फर्कन आग्रह गरेका छन्। साथै, कारबाहीविरुद्ध कारण सहित पुनरावेदन आएमा त्यसलाई विचार गरिने जानकारी उनले दिएका छन्।
केन्द्रीय कार्यसम्पादन समिति बैठक सुनाउँदै कांग्रेस नेता मीन विश्वकर्माले कारबाहीमा परेका महामन्त्रीहरू गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरले कारबाही फुकुवाका लागि निवेदन दिनुपर्ने बताएका छन्।
उनले त्यस्तो निवेदनपछि मात्रै केन्द्रीय कार्यसम्पादन समितिले थप निर्णय गर्न सक्ने पनि बताए ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र सहमहामन्त्रीलाई कारबाही गर्ने निर्णय गरेको छ ।
आज बसेको संस्थापन पक्षको केन्द्रीय कार्यसमिति बैठकले भृकुटीमण्डपमा विशेष महाधिवेशनमा सहभागी भएका उनीहरुलाई कारबाही गर्ने निर्णय गरेको हो । कारबाहीमा पर्ने सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर रहेका छन् ।
कांग्रेस नेता अर्जुन नरसिंह केसीले सहमतीको कुनै विन्दु फेला पर्छ भने हतार नगरौं भन्नेमा आफूहरू रहेको बताएका छन्। भृकुटीमण्डपमा कान्तिपुरसँग कुरा गर्दै उनले गगन र विश्वको आवाज नयाँ पुस्ता रुपान्तरणको आवाज भएको बताए। उनले भने, 'कतिपय कुरा चित्त नबुझे पनि त्यो आवाजलाई सशक्त बनाउने हामी सबैको दायित्व हो। यसलाई संस्थापनले मध्यमार्गी बाटो अपनाएर समाधान गर्नुपर्छ।'
उनले विशेष महाधिवेशनमा भएको ५४ प्रतिशत हस्ताक्षरलाई अनादर गरेर उपलब्धि हासिल गर्न नसकिने पनि टिप्पणी गरे।
कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी केन्द्रीय समितिको बुधबारको बैठक केही न केही निर्णयमा पुग्ने बताएका छन् । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पक्षले विशेष महाधिवेनमा नेतृत्व चयन प्रक्रिया अगाडि बढाएमा केन्द्रीय समितिले निर्णय गर्ने खड्काले बताए ।
'सभापतिले हस्ताक्षर छोड्छु निर्वाचन प्रक्रिया रोक्नुस् भन्दा उता उम्मेदवारी दर्ता प्रक्रिया नै अघि बढ्यो । हामी हिजोको जस्तो भेला हुने (सानेपामा केन्द्रीय समिति बैठकका लागि) मात्रै हुँदैन । आज हामी केही न केही निर्णयमा नै पुग्छौं,' खड्काले भने ।
भृकुटीमण्डपमा जारी कांग्रेसको विशेष महाधिवेशन निर्वाचनतर्फ अघि बढेको छ। महामन्त्री पदका लागि प्रदीप पौडेल र विश्वप्रकाशको मनोनयन दर्ता भएका छन्।
अब १ बजे उम्मेदवारको नामावली सार्वजनिक हुने निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिए।
नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारको मनोनयन दर्ता सकिएको छ।
सभापतिमा गगन थापाले उम्मेदवारी दिएका छन् भने महामन्त्री विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दिएका छन्। अरू कुन पदमा कसले उम्मेदवारी दिए भन्ने विवरण सार्वजनिक भएको छैन।
मंगलबार साँझदेखि नै मनोनयन दर्ताको लागि फाराम वितरण गरिएको थियो। उम्मेदवारको मनोनयन दर्ता भइसकेकाले अब १ बजे उम्मेदवारको नामावली सार्वजनिक हुने निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिए।
भृकुटीमण्डपमा जारी कांग्रेसको विशेष महाधिवेशन निर्वाचनतर्फ उन्मुख हुँदै गर्दा सभापति पदका लागि महामन्त्री गगन थापाका प्रतिनिधिले मनोनयन दर्ता गराएका छन्।
सभापती पदमा थापाको मात्रै उम्मेदवारी परेको छ । सोमबारदेखि निरन्तर भएका छलफल आज बिहान आइपुग्दासम्म नेतृत्वकै विवादमा कुरा नमिलेपछि विशेष महाधिवेशन निर्वाचनतर्फ अघि बढेको हो ।
कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी एकताको प्रयास अब भेन्टिलेटरमा पुगिसकेको बताएका छन् । मंगलबार दिनभर र बुधबार बिहान चलेको वार्ता र छलफल पनि निष्कर्षमा पुग्न नसकेपछि महरले यस्तो बताएका हुन् । कान्तिपुरसँग कुरा गर्दै भने, ‘भेन्टिलेटरबाट फर्काउन सकिन्छ कि भन्ने अन्तिम प्रयास होला, तर धेरै आशावादी हुने ठाउँ देखिएन। यो दुर्भाग्य हो।’
सभापति शेरबहादुर देउवाले कार्यकारी भूमिका छाड्न नमानेपछि विशेष महाधिवेशन नयाँ नेतृत्व चयनतर्फ अघि बढेको छ। यता संस्थापन पक्षधर नेताहरू केन्द्रीय कार्यसमितिको बैठक बस्न सदस्यहरू सानेपा जान थालेका छन्।
विस्तृत समाचार
देउवा कार्यकारी भूमिका छाड्न नचाहेपछि कांग्रेस विभाजनतर्फ
संस्थापनसँगको वार्तामा निष्कर्ष ननिस्केपछि केन्द्रीय सदस्य प्रदीप पौडेलले नेतृत्व बदलिएको सन्देश नदिँदासम्म विशेष महाधिवेशनकै औचित्य नहुने अवस्था सिर्जना हुने भएकाले त्यसलाई कुनै न कुनै रूपमा सम्बोधन गरौँ भन्दा पनि सभापति नमानेको बताएका छन् ।
कान्तिपुरसँगको कुराकानीमा उनले भने, ‘कार्यबाहक सभापति, महामन्त्रीद्वय र शेखर कोइरालासमेत सहभागी भएको हाईकमाण्ड बनाएर पार्टी सञ्चालन गरौँ। सभापतिलाई कार्यकारी भूमिकाबाट अलग राखेर सेरेमोनियल भूमिका राखौँ भन्दा समेत नमानेपछि नयाँ नेतृत्व चयनमा अघि बढ्नको विकल्प देखिएन ।’
सभापति शेरबहादुर देउवाले कार्यकारी भूमिका छाड्न नमानेपछि विशेष महाधिवेशन नयाँ नेतृत्व चयनतर्फ अघि बढेको छ। यता संस्थापन पक्षधर नेताहरू केन्द्रीय कार्यसमितिको बैठक बस्न सदस्यहरू सानेपा जान थालेका छन्। सोमबारदेखि निरन्तर भएका छलफल आज बिहान आइपुग्दासम्म नेतृत्वकै विवादमा कुरा नमिलेपछि कांग्रेस औपचारिक रूपमा विभाजन उन्मुख भएको हो।
विस्तृत समाचार
देउवा कार्यकारी भूमिका छाड्न नचाहेपछि कांग्रेस विभाजनतर्फ
कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा चलिरहेको छलफल लम्बिँदा बिहान ८ बजे बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा ढिलाइ भएको छ। संस्थापन पक्षका नेताहरू केन्द्रीय कार्यसमिति बैठकमा भाग लिन सानेपा पुगे पनि बैठक कति बेला सुरु हुने भन्नेमा अन्योल कायमै रहेको छ।
संस्थापनका नेता एनपी साउदका अनुसार अहिलेसम्म बैठक कति बेला सुरु हुने निश्चित भएको छैन। उनले आफूहरू वार्ताको निष्कर्ष पर्खिरहेको बताए।
बिहानदेखि चलेको कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको भेट सकिएलगत्तै देउवाले शेखर कोइरालालाई थप परामर्शका लागि बोलाएका छन्।
महामन्त्रीद्वय निर्णायक वार्ता गर्ने भन्दै देउवा निवास पुगेका थिए। कांग्रेस नेता नैनसिंह महरले कोइरालाले बोलाएपछि देउवा भेटन पुगेको बताए ।
कांग्रेस बिशेष महाधिवेशनको आज चौथो दिन । मंगलबार बिहानदेखि संस्थापन पक्षसँग सुरु भएको वार्ता बुधबार बिहान अबेरसम्म चल्दा पनि निष्कर्ष ननिस्केपछि भृकुटीमण्डपस्थित महाधिवेशनस्थलमा प्रतिनिधीहरु भेला हुने क्रम बढन थालेको छ ।
महाधिवेशनस्थलनमा मनोनयन दर्ता पनि चलिरहेको छ । हिजो राती रोकिएको निर्वाचन प्रक्रिया फेरी अघि बढाइएको छ । चौरभरी स-साना समुह बनाएर प्रतिनिधीहरु छलफल गरिरहेका छन् ।
अन्तिम निर्णयका लागि भनेर कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको बैठक निष्कर्षविहीन बनेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई आफ्नो निवासमा बोलाएर छलफल गरे पनि कुनै निर्णय भने भएन ।बैठकपछि महामन्दीहरुले आ–आफ्नो समूहमा बैठकमा भएको छलफलबारे ब्रिफिङ गरेका छन् । छलफल सकारात्मक नभएको उनीहरुको भनाइ छ । नेतृत्व परिवर्तनको एउटा सन्देश दिने गरी लगिएको मध्यमार्गी मोडलमासमेत सभापति देउवा सकारात्मक नभएको महामन्त्रीहरुले आफ्नो समूहमा जानकारी गराएका छन् ।
विभाजनतिर उन्मुख कांग्रेसमा सहमति जुटाउन अहिले सभापति शेरबहादुर देउवाको निवास महाराजगञ्जमा वार्ता भइरहेको छ। महामन्त्रीहरू भने केहीबेर अघि बाहिरिएका छन्।
यस अगाडि सारिएकै विकल्पमा मध्यमार्गी सहमतिको लागि छलफल भएको र त्यसका लागि महामन्त्रीहरु आफ्नो समूहसँग छलफल गरेर फेरि बस्ने भनेर फेरि बस्ने भनेर निस्केका हुन्। दुई महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मासहित संस्थापन पक्षका नेताहरू बालकृष्ण खाड र रमेश लेखक वार्तामा सहभागी थिए।
शेखर कोइरालाका तर्फबाट मिनेन्द्र रिजाल सहभागी छन्। सभापति शेरबहादुर देउवाले तत्काल नेतृत्व छान्नुपर्ने महाधिवेशन पक्षधरको प्रस्ताव मानेका छैनन्। देउवाले आगामी १५औँ महाधिवेशनबाट आफूले नेतृत्व छाड्ने बताएका छन्।
आफ्नो सम्मानका लागि आगामी वैशाखसम्म कुरिदिन आग्रह गरेपछि महाधिवेशन पक्षधर नेताहरुले उनलाई कार्यकारी भूमिकामा निष्क्रिय बनाउने गरी अर्को विकल्प अघि सारेका छन्।
यसअन्तर्गत पार्टीको सञ्चालन कार्यवाहक सभापति दुई महामन्त्री र नेता शेखर कोइराला सम्मिलित 'हाई कमाण्ड'बाट पार्टी सञ्चालन गर्ने, संसदीय बोर्ड बोर्डमा सहमतिका आधारमा गठन गर्ने, सभापति शेरबहादुर देउवाको हस्ताक्षरबाट नभएर कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हस्ताक्षरबाट टिकट वितरण गर्ने लगायत विषयमा छलफल भएको छ। यी विषयमा सहमति जुटे त्यसलाई विशेष महाधिवेशनबाट पारित गरेर कार्यान्वयन गरिने नेताहरूको भनाइ छ।
कांग्रेसमा सहमति जुटाउन नेताहरू सभापति शेरबहादुर देउवाको निवासमा छलफलमा छन्। यता विशेष महाधिवेशन चलिरहेको स्थल भृकुटीमण्डपमा भने महाधिवेशन प्रतिनिधिहरूबीच अन्योल छाएको छ। प्रतिनिधिहरू महाधिवेशन स्थलमा जम्मा भइरहेका छन्।
विशेष महाधिवेशनको निर्वाचन समितिले मंगलबारदेखि नै उम्मेदवारको मनोनयन दर्ता गरिरहेको छ। अहिले पनि केन्द्रीय समितिका विभिन्न पदमा उम्मेदवारी दिनेक्रम चलिरहेको छ।
अब निर्वाचन गर्ने कि पार्टीको संस्थापन पक्षसँग संवाद गरेर सहमति गर्ने भन्ने अहिलेसम्म टुंगो छैन। महाधिवेशनका लागि आएका प्रतिनिधिहरू अन्योलमा परेका छन्।
महाधिवेशन लम्बिँदा प्रतिनिधिहरूबीच अन्योल छाएको गोरखाकी नेता कमला लामिछानेले बताइन्। सभापति देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित नेताहरूबीच निवासमा छलफल गरिरहेका छन्।
सहमति भए त्यहीअनुसार अघि बढ्ने, नभए निर्वाचन प्रक्रिया अघि बढाउने विशेष महाधिवेशन आयोजकको तयारी छ।
कांग्रेसभित्रको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाले बोलाएको बैठक उनको निवास महाराजगञ्जमा सुरु भएको छ ।
भृकुटीमण्डपमा दोस्रो विशेष महाधिवेशन जारी रहँदा देउवाले अन्तिम निर्णय निकाल्नका लागि बैठक बोलाएका हुन् ।
अन्तिम निर्णय निकाल्ने तयारीसहित बोलाइएको बैठकमा देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पनि बोलाएका छन् ।
संस्थापन पक्षधरका बालकृष्ण खाँण र रमेश लेखक, शेखर पक्षका मिनेन्द्र रिजालसहितका नेताहरु देउवा निवास महाराजगञ्जमा पुगेपछि बैठक सुरु भएको हो ।
मंगलबार दिनभर विभिन्न चरणमा भएका वार्ताहरु निष्कर्षविहीन भएका थिए ।
यो पनि पढ्नुहोस् :
![Congress Special General Convention: What's happening on the fourth day? [Live]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/politics/61635619612023416714865781109812814929487971n-1412026070827-1000x0.jpg&w=1001&h=0)





























