देउवा कार्यकारी भूमिका छाड्न नचाहेपछि कांग्रेस विभाजनतर्फ

विशेष महाधिवेशनपक्षधर नेताहरू नयाँ नेतृत्व चयनतर्फ र संस्थापन पक्ष कारबाहीतर्फ अघि बढ्न थाले

पुस ३०, २०८२

कुलचन्द्र न्यौपाने

Congress on the verge of split as Deuba refuses to give up executive role

What you should know

काठमाडौँ — सभापति शेरबहादुर देउवाले कार्यकारी भूमिका छाड्न नमानेपछि विशेष महाधिवेशन नयाँ नेतृत्व चयनतर्फ अघि बढेको छ।

यता संस्थापन पक्षधर नेताहरू केन्द्रीय कार्यसमितिको बैठक बस्न सदस्यहरू सानेपा जान थालेका छन्। सोमबारदेखि निरन्तर भएका छलफल आज बिहान आइपुग्दासम्म नेतृत्वकै विवादमा कुरा नमिलेपछि कांग्रेस औपचारिक रूपमा विभाजन उन्मुख भएको हो।

 सभापति शेरबहादुर देउवासँग आज बिहान महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँगको छलफलसमेत सहमतिमा नपुगेपछि भृकुटीमण्डपमा निर्वाचनका कार्यक्रम अघि बढाइएको छ। उता केन्द्रीय कार्यसमिति बसेर महामन्त्रीहरूको कारबाही गर्ने तयारी संस्थापन पक्षले गरेको छ।

महामन्त्रीद्वयले विशेष महाधिवेशन नीतिका विषयमा मात्रै नभई नेतृत्व बदल्नका लागि समेत भएको भन्दै त्यसको सम्मानका लागि पार्टी हाईकमाण्डबाट चलाउन सहमत हुनुपर्ने प्रस्ताव गरेका थिए। ‘अहिलेको समयलाई बुझ्नुस्। जेन–जी आन्दोलनको भावनालाई बुझ्नुस्। निर्वाचनमा कोसँग प्रतिस्पर्धा गर्नुपर्ने छ, त्यसलाई बुझेर निर्णय लिनुस्। तपाईंको सम्मान पनि हुने र नेतृत्व बदलिएको सन्देश पनि जाने गरी हाईकमाण्डबाट पार्टी सञ्चालन गर्ने प्रस्ताव ल्याइएको,’ महामन्त्रीको भनाइ थियो, ‘निर्वाचन नभएको भए यो अवस्था सिर्जना हुन्थेन। धेरै कुरा निर्वाचनसँग जोडिएको छ। जनताको भावना किन नबुझ्नुभएको? बाहिरको परिस्थिति अर्को खालको छ। यसलाई बुझेर निर्णय लिनुस्।’

Congress on the verge of split as Deuba refuses to give up executive role

दुई महामन्त्रीसँगको छलफलमा संस्थापन पक्षका नेताहरू बालकृष्ण खाण र रमेश लेखक सहभागी थिए। देउवाले तीन महिनापछि आफू १५औँ महाधिवेशनबाट नेतृत्व छाड्न तयारै भएकाले अहिल्यै नेतृत्व छाड्ने विषयमा सहमति हुन नसकिने बताएपछि महामन्त्रीहरू त्यहाँबाट निस्किएका थिए।

नेता लेखकले हाईकमाण्ड बनाउने र निर्वाचन नलड्ने विषय मंगलबारकै बैठकमा विशेष महाधिवेशनपक्षधर नेताहरूले छाडिसकेको दाबी गरे। ‘प्रमुख कुरा टिकटमा सभापतिले हस्ताक्षर नगर्ने भन्ने विषय थियो। त्यसमा पनि निर्वाचन आयोगलाई सोध्यौँ। कानुन र नियमले हुने रहेछ भने म हस्ताक्षर फिर्ता लिन तयार छु भनेर सभापतिज्यूले भन्नुभयो। तर, उहाँहरू मान्नुभएन।’

विशेष महाधिवेशनलाई स्वीकार्ने, त्यसले गरेको निर्णयको स्वामित्व लिने तथा संसदीय समिति सहमतिमा बनाउने विषयमा पनि समझदारी जुटेको लेखकले बताए। ‘दुई महिनापछि छोड्दै हुनुहुन्छ भने अहिल्यै अपमानपूर्वक हटाउनु राम्रो सन्देश जाँदैन। त्यसले राम्रो पनि गर्दैन भन्ने हो।’

केन्द्रीय सदस्य प्रदीप पौडेलले नेतृत्व बदलिएको सन्देश नदिँदासम्म विशेष महाधिवेशनकै औचित्य नहुने अवस्था सिर्जना हुने भएकाले त्यसलाई कुनै न कुनै रूपमा सम्बोधन गरौँ भन्दा पनि सभापति नमानेको बताए। ‘कार्यबाहक सभापति, महामन्त्रीद्वय र शेखर कोइरालासमेत सहभागी भएको हाईकमाण्ड बनाएर पार्टी सञ्चालन गरौँ। सभापतिलाई कार्यकारी भूमिकाबाट अलग राखेर सेरेमोनियल भूमिका राखौँ भन्दा समेत नमानेपछि नयाँ नेतृत्व चयनमा अघि बढ्नको विकल्प देखिएन,’ उनले भने।

यता केन्द्रीय कार्यसमितिमा महामन्त्रीहरूमाथि कारबाहीको प्रस्ताव लैजाने मनस्थितिमा संस्थापन पक्ष अघि बढेको छ। केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी एकताको प्रयास अब भेन्टिलेटरमा पुगिसकेको प्रतिक्रिया दिए। ‘भेन्टिलेटरबाट फर्काउन सकिन्छ कि भन्ने अन्तिम प्रयास होला, तर धेरै आशावादी हुने ठाउँ देखिएन। यो दुर्भाग्य हो।’ 

कुलचन्द्र न्यौपाने

Link copied successfully