विशेष महाधिवेशनबाट विद्रोह गरेको गगन थापाको भनाइ, दुवै महामन्त्रीका प्रतिवेदन पारित

उनीहरुले सोमबार विशेष महाधिवेशनमा प्रतिवेदन पेस गरेका थिए ।

पुस २९, २०८२

कान्तिपुर संवाददाता

Gagan Thapa's statement that he rebelled from the special general convention, reports of both general secretaries passed

काठमाडौँ — महामन्त्री गगन थापाले विशेष महाधिवेशन आयोजना गरेर आफूहरूले विद्रोह गरेको बताएका छन् । भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रको समापन समारोहमा मंगलबार साँझ बोल्दै उनले यस्तो बताएका हुन् । उनले पार्टीको आन्तरिक लोकतन्त्रमा प्रश्न गर्नु आफैंमा एउटा विद्रोह भएको जिकिर गरे ।

उनले भने, 'यो विद्रोह हो । प्रश्न गर्नु आफैँमा एउटा विद्रोह हो । मौनता साँध्नु भनेको मृत्युलाई अंगाल्नु जस्तै हो ।'

आफूलाई पद चाहिएर विशेष महाधिवेशन आयोजना नगरेको थापाको भनाइ छ । 'हामी केही बन्नलाई आतुर भएर प्रश्न गरेको पनि होइन, आयोजना गरेको पनि होइन,' उनले भने । 

तर कांग्रेसभित्र गिरोहका गुटहरू बनेका कारण कांग्रेस बदल्न जरूरी रहेको उनको भनाइ छ । उनले अहिलेको आवश्यकता नै पार्टी समानताको लागि, देशको लागि र बाहिर गाउँमा बसेका आम मानिसका लागि भएको उल्लेख गरे ।

महामन्त्री थापाले बाहिरको हल्लाको पछि आफू नलागेको र प्रतिनिधिहरूलाई पनि नलाग्न आग्रह गरे । उनले भने, 'अहिले बाहिर अनेक हल्ला चलाइएको छ । कोही टिकटका लागि कोही भागबण्डाको लागि भनेका छन् तर म हल्लाको पछि लागेको छैन । तपाईंहरू पनि नलाग्नुस् । हलले गरेको अनुमोदन मात्रै हामीले मान्छौँ, बाहिरको होइन । विशेष महाधिवेशनबाट विश्व गगनलाई सभापति चाहिएको छैन । नीति र नेतृत्व परिवर्तन चाहिएको छ ।'

उनले यो विशेष महाधिवशेनलाई उपलब्धिपूर्ण तरिकाले टुंग्याउनुपर्नेमा उनले जोड दिए । उनले भने, 'तपाईं हामी यति धेरै टाढाबाट आएका छौं । अब हलले एउटा उपलब्धिपूर्ण तरिकारले आफ्नो अधिकार सुनिश्चित गर्न म आग्रह गर्छु ।'

उनले हलभित्र रहेका प्रतिनिधिहरूलाई आफ्नो र अर्का महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको प्रतिवेदन ताली बजाएर बहुमतका साथ पास गरिदिनसमेत आग्रह गरेका थिए । सोअनुसार बहुमतका साथ प्रतिवेदन पारित भएको छ । योसँगै बन्द सत्र पनि सकिएको छ ।

कान्तिपुर

Link copied successfully