अन्तिम घडीसम्म मिलाउने कोसिस गरिरहेका छौँ : कार्यवाहक सभापति खड्का

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पक्षले विशेष महाधिवेनमा नेतृत्व चयन प्रक्रिया अगाडि बढाएमा केन्द्रीय समितिले त्यसबारे पनि निर्णय लिने खड्काले बताए । 

पुस ३०, २०८२

जयसिंह महरा

We are trying to settle it until the last minute: Acting President Khadka

काठमाडौँ — कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी केन्द्रीय समितिको बुधबारको बैठक केही न केही निर्णयमा पुग्ने बताएका छन् । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पक्षले विशेष महाधिवेनमा नेतृत्व चयन प्रक्रिया अगाडि बढाएमा केन्द्रीय समितिले निर्णय गर्ने खड्काले बताए । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा उपस्थित नेता तथा कार्यकर्ताहरूसँग खड्काले अन्तिम समयसम्म पनि विवाद मिलाउने प्रयासमा भने संस्थापन पक्ष रहेको बताए । महामन्त्री पक्षले विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन प्रक्रिया सुरु गरेमा केन्द्रीय समितिबाट आवश्यक निर्णयमा पुग्ने उनले बताए ।

'सभापतिले हस्ताक्षर छोड्छु निर्वाचन प्रक्रिया रोक्नुस् भन्दा उता उम्मेदवारी दर्ता प्रक्रिया नै अघि बढ्यो । हामी हिजोको जस्तो भेला हुने (सानेपामा केन्द्रीय समिति बैठकका लागि) मात्रै हुँदैन । आज हामी केही न केही निर्णयमा नै पुग्छौं,' खड्काले भने । 

विशेष महाधिवेशनबाट नेतृत्व चयन अगाडि बढेमा पार्टी विभाजनतिर जान्छ कि भन्ने आफूलाई चिन्ता लागेको पनि खड्काले बताए । 

प्रतिनिधिसभा निर्वाचन घोषणा भइसकेको अवस्थामा पार्टी विभाजन हुन नहुने भन्दै संस्थापन पक्ष एकताका लागि हरप्रयास गरिरहेको पनि खड्काको भनाइ छ । 'कोसिस चलिहरेको छ । हाम्रो हातमा कर्म छ, निर्णय माथि (आकाशतिर इशारा गर्दै) छ । हिसाबकिताब गरिरहेका छौं,' खड्काले धादिङका जिल्ला सभापति रामनाथ अधिकारी लगायतका नेता तथा कार्यकर्ताहरूसँग भने, 'हामीले अन्तिम समयसम्म पनि मिलाउने प्रयास गरिरहेका छौं । संस्थापनको पक्षबाट अन्तिम घडीसम्म पनि मिलाउने कोसिस गरिरहेका छौं ।'

पार्टी संस्थापन पक्ष निर्णय लिन हतार नगर्ने तर महामन्त्रीहरूले नयाँ नेतृत्व चयन प्रक्रिया अगाडि बढाए केन्द्रीय समितिले आवश्यक निर्णय गर्ने पनि खड्काको भनाइ थियो । 'हामी हतारिएको जस्तो देखिन भएन । अन्तिम समयसम्म मिलाउने कोसिस गरिरहेका छौं,' खड्काले दोहोर्‍याए । 

आम कार्यकर्ताले पार्टी एकता चाहिरहेको र त्यो भावनाअनुसार नेतृत्व अगाडि बढ्ने खड्काको भनाइ थियो । आम कार्यकर्तालाई एकताबद्ध हुनका लागि संस्थापन पक्षले आह्वान गरिरहेको पनि खड्काको भनाइ थियो ।पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठकका लागि नेता तथा कार्यकर्ताको ठूलो भीड लागेको छ । सुरक्षाकर्मी पनि थपिएको छ । 

कांग्रेस केन्द्रीय समिति बुधबार बिहान ८ बजे बोलाइएको थियो । उक्त बैठक सारेर १ बजेका लागि तय गरिएको छ । भृकुटीमण्डपमा पुस २७ देखि जारी विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन प्रक्रिया अगाडि बढाउने तयारीमा महामन्त्रीद्वय थापा र शर्मा रहेका छन् ।

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully