'साथीहरुले पार्टीभित्र देखिएका केही समस्याहरुलाई संवादबट टुंग्याउन सकिन्छ कि भनेर संवाद पनि गरिरहनुभएको छ । त्यो छलफल पनि आवश्यक थियो । तर त्यो छलफलको कुरा यो हलबाट बाहिर कतै गएर पनि टुंगिदैन । यो विशेष महाधिवेशन हो यही हलले गर्नेछ ।'
What you should know
काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र देखिएका समस्याहरुको विषयमा निर्णय गर्ने अधिकार विशेष महाधिवेशनको हललाई मात्र भएको बताएका छन् ।
मंगलबार भृकुटीमण्डपमा महाधिवेशनको बन्दसत्रको हललाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले पार्टीभित्र देखिएको विवादको सम्बनधमा संवाद जारी रहेपनि महाधिवेशनको हल बाहिर गएर टुंगिन नसक्ने टिप्पणी गरे । उनले पार्टी निर्वाचनसम्बन्धी कार्यक्रमहरु अघि बढिसकेको उल्लेख गर्दै ती कार्यक्रमहरु स्थगित नहुने स्पष्ट पारे । उनले पार्टीभित्र टिकट वितरणको विषयमा बार्गेनिङ भइरहेको भनि फैलाइएको हल्लाप्रति आपत्ति पनि जनाए । हजारौं प्रतिनिधि दुई दिनदेखि पार्टी सुधारका विषयमा मन्थन गरिरहेको भन्दै महामन्त्री थापाले यसलाई टिकटको स्वार्थसँग जोडेर अपमान गर्ने प्रयास नगर्न चेतावनी दिए ।
‘साथीहरुले पार्टीभित्र देखिएका केही समस्याहरुलाई संवादबट टुंग्याउन सकिन्छ कि भनेर संवाद पनि गरिरहनुभएको छ । त्यो छलफल पनि आवश्यक थियो । तर त्यो छलफलको कुरा यो हलबाट बाहिर कतै गएर पनि टुंगिदैन । यो विशेष महाधिवेशन हो यही हलले गर्नेछ । भोलि बिहान पनि प्रतिनिधिहरु आएर निर्णय गर्यो भने महामन्त्रीहरुले त्यो निर्णयलाई शिरोधार्य गर्नुपर्छ । हलले जे अनुमोदन गर्छ त्यो कुरालाई मान्ने हो । हलले अनुमोदन नगरेको केही पनि मानिँदैन । आज दिनभरि तपाईंहरुले सुनिरहनुभएको छ टिकटको हल्ला चलाइदिएको छ । हजारौँ साथीहरु आएर यहाँ दुई दिनदेखि मन्थन गरिरहनुभएको छ तर यसलाई टिकटका लागि हो भनेर अपमानित गर्ने प्रयास गरिएको छ,' उनले भने, 'यो त भागबण्डाको लागि हो । अहिले पनि हाम्रो कुरा बुझ्ने कोसिस भइरहेको छैन । न गगन थापालाई सभापति चाहिएको छ न त विश्वप्रकाश शर्मालाई सभापति चाहिएको छ । हामी चक्रीमा गएर बस्न तयार छौं पार्टीलाई ठिक ठाउँमा उभ्याउँ । यसका निम्ति नेतृत्व फेरौँ, नीति पनि फेरौँ । नेतृत्व अहिलेका लागि जसले गरेपनि हुन्छ भनेर हामीले त पटक पटक भन्दै आइरहेका छौँ । यति कुरा भन्दा पनि हामी तपाईंलाई हलुकासँग नलिन आग्रह गर्न चाहन्छु । निर्वाचनको प्रक्रिया अघि बढिसकेको छ । सोहीअनुसार अगाडि बढ्छ ।’
उनले पार्टीलाई सही दिशामा लैजान नेतृत्व र नीति दुवै परिवर्तन गर्न गरिने दोहोर्याए ।
