५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको माग संस्थापनबाट अस्वीकार, सभापतिको असहमतिबीच विशेष महाधिवेशन बोलाउने तयारी
What you should know
काठमाडौँ — कांग्रेसमा पार्टी महाधिवेशनसम्बन्धी विवाद उत्कर्षमा पुगेको छ । नियमित महाधिवेशन नहुने निश्चित भएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशन बोलाउने तयारीमा लागेका छन् । २७–२८ पुसमा विशेष महाधिवेशन गर्न भृकुटीमण्डपको हल ‘बुक’ गरिएको छ ।
महामन्त्रीद्वयले विशेष महाधिवेशनको निर्णय गर्ने जानकारी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बिहीबार दिइसकेका छन्, शुक्रबार लिखित रुपमा जानकारी गराउने तयारी छ । शनिबार विज्ञप्तिमार्फत विशेष महाधिवेशन आह्वान गरिने उनीहरूले जनाएका छन् । विशेष महाधिवेशन पक्षधर अन्य नेताहरूले भने शुक्रबार नै पत्रकार सम्मेलनको तयारी गरेका छन् ।
विशेष महाधिवेशनको तयारी अघि बढेपछि सभापति देउवाले बिहीबार महामन्त्रीद्वयलाई छलफलमा बोलाएका थिए । तर उनले अन्तिम समयमा छलफल रोकेर निकटस्थ नेताहरूसँग छलफल थालेका छन् । यसैबीच कार्यसम्पादन समितिको बैठक पनि शुक्रबार ३ बजेका लागि बोलाइएको छ ।
पार्टीको संस्थागत निर्णयबिना विशेष महाधिवेशन हुन नसक्ने प्रतिक्रिया संस्थापन पक्षले दिएको छ । नेता शेखर कोइरालाले पनि संस्थागत निर्णयबिना बोलाइएको ‘भेला’ मा आफ्नो सहमति नहुने बताएका छन् ।
‘केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशन बोलाउँदा सिंगो पार्टीको सहभागिता हुन्छ । तर महामन्त्रीहरूले मात्रै बोलाउँदा त्यो भेला हुन्छ, त्यस्तो भेलाले पार्टी विभाजन गर्ने जोखिम हुन्छ । त्यसैले यसमा मेरो सहमति हुँदैन,’ उनको भनाइ छ ।
गत १५ मंसिरको केन्द्रीय कार्यसमिति बैठकले १६ पुसदेखि वडा अधिवेशन सुरु भई २६–२९ पुसमा नियमित महाधिवेशन गर्ने तालिका ल्याएको थियो । तर वडा अधिवेशन सुरु नभएकाले निर्धारित मितिमा नियमित महाधिवेशन नहुने निश्चित भएको छ । नियमित महाधिवेशन हुन नसक्ने अवस्थामा विधानको पालना गर्नुपर्ने दायित्व आफूहरूको भएको उल्लेख गर्दै विशेष महाधिवेशनको विकल्पमा लागेको महामन्त्रीद्वयको भनाइ छ ।
‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी केन्द्रीय कार्यालयमा दर्ता गराएको विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्ने प्राथमिक विकल्प नियमित महाधिवेशन नै थियो । तर नियमित महाधिवेशन निर्धारित समयमै सम्पन्न हुन नसक्ने अवस्था सिर्जना भएपछि फेरि पनि विकल्पका रूपमा विशेष महाधिवेशन नै अघि आएको छ,’ उनीहरूले संयुक्त विज्ञप्तिमा भनेका छन् ।
पार्टी विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशनसम्बन्धी मागलाई सम्बोधन गर्नॅ केन्द्रीय कार्यालयको जिम्मेवारी रहेको महामन्त्रीद्वयको भनाइ छ । उक्त जिम्मेवारीअन्तर्गतका कार्य सम्भव भएसम्म सर्वसम्मतिले अगाडि बढाइने पनि उनीहरूले जनाएका छन् । तर केन्द्रीय कार्यसमितिले निर्णय नगरेमा बहुमत महाधिवेशन प्रतिनिधिको मागअनुसार विशेष महाधिवेशन गर्ने तयारी उनीहरूको छ ।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै गत २८ असोजमा निवेदन दिएका थिए । विधानअनुसार ३ महिनाभित्र अर्थात् २८ पुसभित्र विशेष महाधिवेशन गर्नुपर्ने छ ।
विशेष महाविधेशनको माग आएमा केन्द्रीय कार्यालयले निर्णय गर्नुपर्ने र केन्द्रीय कार्यालय महामन्त्रीको मातहत रहेकाले यस्तो निर्णय गर्न आफूहरू स्वतन्त्र रहेको भन्दै महामन्त्रीहरू विशेष महाधिवेशनको निर्णयमा पुगेका हुन् । कांग्रेस विधानको धारा २७ (१) मा ‘कांग्रेसको केन्द्रीय कार्यालय महामन्त्रीको मातहत रहनेछ, महामन्त्रीले केन्द्रीय कार्यालयको रेखदेख र सञ्चालन गर्नेछ’ भनिएको छ । यस्तै धारा १७ (२) मा ‘केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यले विशेष कारण खुलाई केन्द्रसमक्ष लिखित अनुरोध गरे निवेदन परेको तीन महिनाभित्र विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्ने’ उल्लेख छ ।
महामन्त्री शर्माले विधानकै व्यवस्था पालनाका लागि विशेष महाधिवेशन बोलाउने निर्णयमा पुगेको बताए । ‘देश संविधानअनुसार नचल्ने अनि सबैभन्दा पाको र सबैभन्दा जिम्मेवार दल विधानअनुसार नचल्ने हो भने हाम्रो समाज कहाँ पुग्छ ?’ उनले कान्तिपुरसँग भने ।
पार्टी प्रवक्ता प्रकाशशरण महत भने संस्थागत निर्णयबिना विशेष महाधिवेशनका नाममा भेला बोलाउँदा पार्टी विभाजनको जोखिम निम्तिने बताउँछन् । ‘सबै दल निर्वाचनतिर लागेका बेला यस्तो निर्णय गर्नु मूर्खतापूर्ण हो । यसले पार्टीलाई बलियो होइन, कमजोर बनाउँछ । विभाजन गर्न चाहने शक्तिलाई बल पुग्छ,’ उनी भन्छन्, ‘नियमित महाधिवेशन गर्ने जिम्मेवारीमा उहाँहरू आफैं हुनुहुन्छ । हामी सबै त्यसको जिम्मेवारीमा छौं । सबैले आआफ्नो जिम्मेवारीअनुसार कमजोरी स्विकारौं । निर्वाचनपछि महाधिवेशन गरौं । अहिले विशेष भनेर पार्टीलाई कमजोर बनाउने काम नगरौं । यसो गर्नु दुर्भाग्यपूर्ण हुन्छ ।’
महामन्त्री थापा र शर्माले पछिल्लो समय केन्द्रीय कार्यसमितिको संस्थागत निर्णयबाट विशेष महाधिवेशन बोलाउनुपर्नेमा जोड दिँदै आएका थिए । उनीहरूको अर्को विकल्प वडा र क्षेत्रको अधिवेशन गरेर तोकिएकै मितिमा नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव थियो । प्रतिनिधिसभा निर्वाचन अगाडि महाधिवेशन गर्न अघि सारिएका सबै विकल्पमा सभापति देउवा र कार्यवाहक सभापति खड्का सकारात्मक नभएपछि विशेष महाधिवेशन बोलाउने निर्णय लिइएको महामन्त्रीद्वयको भनाइ छ ।
महामन्त्री शर्मा विशेष महाधिवेशनले पार्टी विभाजित नभएर थप सशक्त हुने दाबी गर्छन् । ‘विशेष महाधिवेशनले पार्टी विभाजित हुने भए विधानमा पार्टी विभाजन गर्ने धारा राखिन्थ्यो ? शर्माको भनाइ छ, ‘संयम र एकताले अघि बढ्नु हामी सबैको दायित्व हो । पार्टीलाई हरहालतमा एकढिक्का राख्नेछौं ।’
कांग्रेस नेता गुरुराज घिमिरेले विशेष महाधिवेशन नियमित महाधिवेशनकै अर्को स्वरूप भएकाले नियमितले जे–जे काम गर्छ, ती सबै अभिभारा विशेष महाधिवेशनले पूरा गर्ने बताउँछन् । ‘विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्छ । सँगै समयसापेक्ष संरचनागत फेरबदल, आवश्यकताअनुसार विधानमा संशोधन, जेन–जी विद्रोहपछि कांग्रेसले अपनाउनुपर्ने नीति र कार्यक्रम, युवाको भावना र चाहनाको सम्बोधन गर्छ, जेन–जी आन्दोलन हुनुपछिका कारणको खोजी गर्छ,’ उनले भने ।
अर्का नेता सुवास पोखरेल विशेष महाधिवेशनका लागि कार्यवाहक सभापतिले पहल नलिए महामन्त्रीहरूले आह्वान गर्न सक्ने बताउँछन् । ‘विधानको पालना गर्ने जिम्मेवारी सभापति र कार्यवाहक सभापतिलगायत केन्द्रीय कार्यसमितिका सबैको हो । ४० प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशनको माग गरे तीन महिनाभित्र बोलाउनुपर्ने व्यवस्था विधानले गरेको छ । यसको सीमा अब २८ पुससम्म छ,’ उनी भन्छन्, ‘सभापति र कार्यवाहक सभापति तयार हुनुभएन भने विधानको पालना गर्ने जिम्मेवारी महामन्त्रीहरूको हो ।’
०००
‘जोखिम लिन सक्ने नै नेता हुन्छन्’
केदारभक्त माथेमा, पूर्वउपकुलपति, त्रिवि
कांग्रेस महामन्त्रीहरूले विशेष महाधिवेशनका लागि लिएको निर्णयलाई कसरी हेर्नुभएको छ ?
गगन (थापा) को पुस्ता अथवा त्योभन्दा तलको पुस्ता पाखा लगाउने हो भने कांग्रेसलाई ठूलो घाटा पर्छ । कांग्रेसभित्र उनीहरूले बोकेको एजेन्डा एकदमै ठीक छ । उनीहरूको विचारलाई पार्टीका नेतृत्वले मर्न दिन हुँदैनथ्यो । नेतृत्वमा युवा आउन खोजिरहेका बेला सम्भावना बोकेका नेतालाई छेक्न खोज्नु राम्रो भएन ।
गगन थापा र विश्वप्रकाश शर्माले अहिले लिएको बाटो जोखिम छ जस्तो लाग्दैन ?
त्यो जोखिम लिनैपर्ने थियो । अझ अगाडि लिनुपर्थ्यो । अहिले लिएका छन्, राम्रो छ । एक वर्ष, दुई वर्ष लाग्ला तर उनीहरूले पार्टी बनाएरै छाड्छन् जस्तो लाग्छ । किनभने संसारमा समयभन्दा बलवान केही चीज छैन । गगनको पनि समय आइसकेको छ । दुई महामन्त्रीले यो कदम नउठाएको भए सायद युवाले पनि उनीहरूलाई गाली गर्थे होला । अब उनीहरू लड्नुपर्छ, पदका लागि होइन, आफ्नो सिद्धान्तका लागि । अब जुनसुकै मूल्य चुकाएर पनि कम्प्रमाइज गर्नॅ हुँदैन । त्यो ठाउँमा म भइदिएको भए लड्थें ।
सबैले एउटा सम्भावनाको नजरले हेरेका नेताको भविष्य समाप्त हुने त होइन ?
खासमा गगनको विचार लागू गर्ने बेला हो यो । अरूमा भन्दिन तर कांग्रेसमा आइसक्यो । यो कुरा नेतृत्वमा बसेकाले बुझ्नुपर्ने थियो । पुराना शक्तिले रोक्नु, बाधा दिनु पटक्कै फाइदाजनक छैन । अब त्यो रोकेर रोकिन्न । आउँछ–आउँछ । आज नआए भोलि–पर्सि आउँछ ।
भविष्यमा गगन थापाको बाटो कस्तो देख्नुहुन्छ ?
नयाँ विचारलाई रोक्नु हुँदैन । राजनीति गर्ने र नेता हुने मान्छेले जोखिम उठाउन सक्नुपर्छ । सुरक्षा मात्रै खोजियो भने कोही पनि नेता हुन सक्दैन । जनरल पनि हुँदैन, लिडर पनि हुँदैन ।
कांग्रेस सभापति शेरबहाद’र देउवाले केही समयअघि नेतृत्व छाड्न सन्देश दिनुभयो, फेरि आफैं सक्रिय ह’न’भयो । यसलाई कसरी हेर्नुभएको छ ?
नेताको वरिपरि धेरै खालका मानिस हुन्छन् । वरिपरिका मानिस नेताकै भरमा परिराखेका हुन्छन् । नेतालाई केही भयो भने वरिपरि हुनेहरू पनि सँगसँगै जाने अवस्था हुन सक्छ भन्ने हुन्छ । आफैंले आफ्नो विश्वसनीयता बनाउन नसकेकाहरू नेताकै वरिपरि घुमेर मात्रै बाँचिरहेका हुन्छन् । त्यसैले नेतालाई सकेसम्म बाहिर जान नदिने स्वार्थ हुन्छ ।
नेतालाई जाने इच्छा भएर पनि तिनैले रोक्छन् । अहिले कांग्रेसमा पनि भएको त्यही हो । सबैको समय एक पटक आउँछ । यतिबेला गगनको समय आएको छ । गगन पनि सधैं पार्टीमा बस्ने होइनन् । उनी पनि एउटा समयसम्मलाई हुन् । त्यसपछि छाड्नुपर्ने हुन्छ । शक्ति भन्ने नै यस्तो हुने रहेछ, त्यहाँ गएपछि नेताहरू लट्ठ पर्दा रहेछन् ।
कार्यकाल सकिएको पार्टीको महाधिवेशन गर्न पनि यति ठूलो मुद्दा किन हुने गर्छ ?
हामीले बाहिरबाट हेर्दा झेली खेल, गुल्चे खेल भएको जस्तो लाग्छ । म कांग्रेसको सदस्य पनि होइन । हाम्रो केही रुचि पनि छैन । तर बाहिरबाट हेर्दा झेली खेल गर्न खोजेको देखिन्छ । यो कुरा जनताले बुझेका छन् । यसले पार्टीलाई राम्रो गर्दैन ।
