नयाँ पुस्तालाई अघि बढ्न दिनु आवश्यक रहेको बताउँदै उनले आफूले चुनाव नलड्ने निर्णय गरेको बताएका छन् ।
काठमाडौँ — कांग्रेसका तत्कालीन केन्द्रीय कार्यसमितिअन्तर्गत प्रचार विभागका प्रमुख मीन विश्वकर्माले आगामी निर्वाचन नलड्ने घोषणा गरेका छन्।
बदलिँदो राजनीतिक परिस्थितिमा विभाजित भएका पार्टीका साथीहरूलाई एकै स्वर र एकै निर्वाचन चिन्ह लिएर आ–आफ्नो निर्वाचन क्षेत्रमा जान सक्ने वातावरण बनाउन गरिएको भगिरथ प्रयासका सकारात्मक संकेत देखिएको उल्लेख गर्दै उनले वर्तमान अवस्थामा नयाँ पुस्तालाई अघि बढ्न दिनु आवश्यक रहेको बताए। सोही कारण आफूले चुनाव नलड्ने निर्णय गरेको उनले बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, 'मलाई मन पराएर, माया गरेर सुनसरी–१ बाट उम्मेदवार बन्न सिफारिस गर्ने, माग गर्ने, उठ्न प्रेरित गर्ने तथा टिकट दिलाउन प्रयत्न गर्ने सबै प्रियजनप्रति धन्यवाद र आभार व्यक्त गर्दछु।'
कांग्रेस विशेष महाधिवेशनका बेला पार्टी विशेष महाधिवेशन पक्षधर र देउवा पक्षधरमा विभाजित हुँदा विश्वकर्मा देउवा पक्षमा खुलेर प्रस्तुत भएका थिए।
