पुस २७-२९ मा विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णय, भृकुटीमण्डपको हल बुक

औपचारिक जानकारी गराउन विशेष महाधिवेशन पक्षधर नेताहरूले शुक्रबार पत्रकार सम्मेलन गर्दैछन्

पुस १७, २०८२

कान्तिपुर संवाददाता

Congress General Secretaries decide to hold special general convention on Poush 10-12, Bhrikuti Mandap hall booked

What you should know

काठमाडौँ — कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टी संस्थापन पक्ष तयार नभए पनि आगामी पुस २७-२९ गते विशेष महाधिवेशन गर्ने निर्णय लिएका छन् । विशेष महाधिवेशन पक्षधरसँग बुधबार र बिहीबार भएका छलफलपछि यस्तो निर्णय गरिएको विशेष महाधिवेशन पक्षधर नेता सुवास पोखरेलले जानकारी दिए ।

विशेष महाधिवेशनका लागि भृकृटीमण्डपको हलसमेत बुक गरिएको उनले बताए । 'यसबीचमा विधानले गरेको व्यवस्था कार्यन्वयन गर्न कार्यवाहक सभापतिलाई आग्रह गर्ने कुरा हुन्छ । कार्यवाहक सभापति आफैंले बोलाउनु भएन भने महामन्त्रीहरूले विधानको पालना गर्न र गराउन बोलाउनुपर्ने बाध्यता हुन्,' उनले भने ।

यससम्बन्धी औपचारिक जानकारी गराउन विशेष महाधिवेशन पक्षधर नेताहरूले शुक्रबार पत्रकार सम्मेलन गर्दैछन् । विशेष महाधिवेशन बोलाउन कार्यवाहक सभापतिलाई आग्रह गर्ने तर नबोलाइए महामन्त्रीहरूले बोलाउने तय भएको छ । कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गरेर असोज २८ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा निवेदन दिएका छन् ।

पार्टी विधानमा चालीस प्रतिशत प्रतिनिधिहरूले हस्ताक्षरसहित विशेषको माग गरेर निवेदन दिएमा तीन महिनाभित्र बोलाउनुपर्ने बाध्यात्मक व्यवस्था छ । तर, संस्थापन पक्षले विधानको बाध्यात्मक व्यवस्थालाई समेत बेवास्ता गरेर अघि बढ्न खोजेपछि महामन्त्रीहरूले विशेष महाविधेशन बोलाउनुपर्ने बाध्यता बनेको अर्का नेता बलदेव तिमिल्सिेनाले बताए ।

विशेष महाधिवेशनलाई निस्तेज बनाउन संस्थापन पक्षको सहमतिमा पुस २६–२८ मा केन्द्रीय महाधिवेशन गर्नेगरी कार्यतालिका समेत ल्याइएको थियो । क्रियाशील सदस्यताको वितरण र नवीकरणको सूची सबै जिल्लाबाट नआएपछि कार्यतालिका प्रभावित भएको हो ।

त्यसपछि महामन्त्री थापा र शर्माले तोकिएको मितिमा केन्द्रीय महाधिवेशन गर्न वडा र क्षेत्रको अधिवेशन मात्रै गर्ने प्रस्ताव अघि सारेका थिए । वडा र क्षेत्रको अधिवेशन गरेपछि केन्द्रीय महाविधेशन गर्ने ढोका खुल्छ । तर, संस्थापनपक्ष त्यसमा तयार नभएपछि असोज २८ गते दर्ता भएको विशेष महाधिवेशनको निवदेन क्रियाशील भएको पोखरेलले बताए ।

कान्तिपुर

Link copied successfully