एमाले महाधिवेशन : पूर्वी नवलपरासीबाट मात्रै ९ जनाले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

हाल बुलिङटार गाउँपालिकाका निर्वाचित अध्यक्षसमेत रहेका ३० वर्षीय इन्जिनियर दीपेन्द्र सुनारीले समेत जनजाति क्लस्टरतर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

मंसिर २९, २०८२

नारायण शर्मा

UML General Convention: 9 candidates filed nominations for central member positions from East Nawalparasi alone

नवलपरासी — भक्तपुरको सल्लाघारीमा जारी एमालेको ११ औं महाधिवेशनका लागि पूर्वी नवलपरासीबाट ९ जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । उनीहरूमध्ये ६ जना कावासोती नगरपालिका निवासी हुन् ।

हाल बुलिङटार गाउँपालिकाका निर्वाचित अध्यक्षसमेत रहेका इन्जिनियर दीपेन्द्र सुनारीले समेत जनजाति क्लस्टरतर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । ३० वर्षका सुनारी एमालेबाट केन्द्रीय सदस्य हुन चाहने कान्छा उम्मेदवार हुन् । उनले यो महाधिवेशनमा आफू कम  उमेरको उम्मेदवार भएको टेलिफोनमा प्रतिक्रिया दिए ।

‘देशभरिका पालिका अध्यक्षमा म नै सबैभन्दा कम उमेरको हुँ,’ उनले भने, ‘मैले गाउँपालिका अध्यक्ष जित्दा मेरो उमेर २७ वर्ष थियो ।’ त्यसैगरी जनजाति क्लस्टरबाट प्रदेश सभा सदस्य रोशनबहादुर गाहा मगरले समेत केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।

पूर्वी नवलपरासीबाट प्रदेश सभा सदस्य पद्मा जीसी श्रेष्ठले केन्द्रीय लेखा आयोगको सदस्यमा उम्मेदवारी दिएकी छन् । त्यसै गरी नेता तिलक महत, मुक्तिराम पाण्डेले गण्डकी प्रदेशबाट भूगोलतर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।

नेता कृष्ण पौडेल, भागीरथ सापकोटा, रवीन्द्र अधिकारी, दलित केन्द्रीय सदस्यका लागि जिसस प्रमुख बाबुराम विश्वकर्माले उम्मेदवारी दिएका छन् ।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully