एमाले केन्द्रीय सदस्यमा मकवानपुरका ६ नेताको उम्मेदवारी 

केपी शर्मा ओली टिमबाट ४ जना र ईश्वर पोखरेल टिमबाट २ जना गरी ६ जनाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन् । 

मंसिर २९, २०८२

सुवास विडारी

Six leaders from Makawanpur file candidacies for UML central membership

What you should know

मकवानपुर — काठमाडौंमा जारी एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा एमाले मकवानपुरका ६ जनाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । केपी शर्मा ओली टिमबाट ४ जना र ईश्वर पोखरेल टिमबाट २ जना गरी ६ जनाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन् । 

यसअघि केन्द्रीय सचिव बन्ने लबिइङमा रहेका एमालेका प्रमुख सचेतक महेश बर्तौलासहित ६ जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् । मकवानपुरबाट महेश बर्तौलासहित रामेश्वर राना, भारती पाठक, एकालाल श्रेष्ठ, कृष्ण दाहाल र विश्व विकलले उम्मेदवारी दिएका हुन् । 

बर्तौला, राना, पाठक र श्रेष्ठले केपी शर्मा ओली टिमबाट उम्मेदवारी दिँदा दाहाल र विकलले ईश्वर पोखरेल टिमबाट उम्मेदवारी दिएका हुन् । बर्तौला, राना, पाठक र दाहाल यसअघि नै केन्द्रीय सदस्य रहिसकेका हुन् । श्रेष्ठ र विकलले पहिलो पटक केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् । 

यीमध्ये विकलले दलित कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् । जारी एमालेको महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित चुनावी मैदानमा रहेका छन् । मकवानपुरबाट छानिएका महाधिवेशन प्रतिनिधिमध्ये अधिकांश केपी पक्षका रहेका छन् । एमाले ११औं महाधिवेशनमा उम्मेदवारी दर्ताको समय सकिएको छ । 

योसँगै आयोगले कार्यालयको ढोका समेत बन्द गरेको छ । सोमबार दिउँसो ३ बजेपछि उम्मेदवारी दर्ताको समय तोकिएको थियो । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलको उम्मेदवारी परेको छ । यी दुवै नेताले प्यानलगत प्रतिस्पर्धा गर्ने भएका छन् ।

 महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेको उम्मेदवारी परेको छ । अन्य पदाधिकारी र केन्द्रीय सदस्य सहितका पदमा उम्मेदवारी दर्ताको समय सकिएको हो । एमालेमा १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यका लागि निर्वाचन हुँदैछ ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully