ओली पक्षबाट पृथ्वीसुब्बा गुरुङ र ज्ञवालीले समेत महासचिवमा दाबी गरेका थिए । तर दुवै जनालाई ओलीले उपाध्यक्षमा 'एडजस्ट' गर्न खोजेका हुन् । तर ज्ञवालीले भने उपाध्यक्षमा उम्मेदवारी नदिने बताउँदै महाधिवेशनस्थल भृकुटीमण्डपबाटै निस्किएका छन् ।
काठमाडौँ — केपी शर्मा ओलीले आफूलाई महासचिवको उम्मेदवार नबनाएपछि प्रदीप ज्ञवाली बिच्किएका छन् । ओलीले शंकर पोखरेललाई नै महासचिवमा दोहोर्याउन चाहेपछि ज्ञवाली असन्तुष्ट बनेका हुन् ।
ओली पक्षबाट पृथ्वीसुब्बा गुरुङ र ज्ञवालीले समेत महासचिवमा दाबी गरेका थिए । तर दुवै जनालाई ओलीले उपाध्यक्षमा 'एडजस्ट' गर्न खोजेका हुन् । तर ज्ञवालीले भने उपाध्यक्षमा उम्मेदवारी नदिने बताउँदै महाधिवेशनस्थल भृकुटीमण्डपबाटै निस्किएका छन् ।
उनले आफूले केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिने बताएका छन् । उपाध्यक्षमा उम्मेदवार नदिने अडानमा कायमै रहेको उनीनिकट एक नेताले कान्तिपुरलाई जानकारी दिए ।
अहिले पनि ओलीले सम्पर्क गरेर उनलाई फकाउने प्रयास गरिरहेका छन् । शंकर पोखरेलले महासचिवमा उम्मेदवारी दर्ता गराइसकेका छन् । ओली पक्षबाट विष्णु पौडेल, रामबहादुर थापा, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीलाई उपाध्यक्षको उम्मेदवार बनाइएको छ । ज्ञवालीले प्रतिनिधिसभा विघटनलगायतका मुद्दामा ओलीलाई साथ दिएका थिए ।
पर्यटन र परराष्ट्रमन्त्रीसमेत बनेका ज्ञवाली २०७८ को १०औं महाधिवेशनमा एमाले उपमहासचिवमा निर्वाचित भएका थिए । त्यसअघि २०७१ को बुटवल महाधिवेशनमा पार्टी केन्द्रीय सचिव बनेका थिए । २०३० सालमा उनले अखिल नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका थिए ।