ओली प्यानलमा नपरेपछि रघु पन्तले उपाध्यक्षमा दिए स्वतन्त्र उम्मेदवारी

'मैले दुवै पक्षमा रहेका साथीहरूको आग्रहमा उम्मेदवारी दिएको छु । मलाई दुवै पक्षका साथीहरूको समर्थन छ ।'-रघु पन्त

मंसिर २९, २०८२

कान्तिपुर संवाददाता

Raghu Pant files independent candidacy for vice-president after Oli was not included in the panel

काठमाडौँ — एमाले संस्थापन पक्षबाट उपाध्यक्ष पदमा प्यानलमा नपरेपछि रघु पन्तले स्वतन्त्र रूपले उम्मेदवारी दिएका छन् । केपी शर्मा ओली पक्षबाट उपाध्यक्षमा उम्मेदवारी दिन नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । 

यद्यपि पन्तले आफूलाई ईश्वर पोखरेल र ओली समूह दुवैतर्फका प्रतिनिधिहरूको समर्थन रहेको दाबी गरेका छन् । आफ्नो उम्मेदवारीबारे पन्तले भने, 'मैले दुवै पक्षमा रहेका साथीहरुको आग्रहमा उम्मेदवारी दिएको छु । मलाई दुवै पक्षका साथीहरूको समर्थन छ ।'

ओली पक्षबाट उपाध्यक्षहरूमा विष्णु पौडेल, रामबहादुर थापा, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीलाई उम्मेदवार बनाइएको छ। 

पन्त यसअघि १०औं महाधिवेशनमा स्थायी कमिटी सदस्यमा निर्वाचित भएका थिए । त्यसो त उनी पछिल्लो समय ओलीनिकट नै देखिन्थे । विद्या भट्टराईले राजीनमा दिएपछि ओलीले पन्तलाई नै शिक्षामन्त्री बनाएका थिए ।

एमालेभित्रको संघर्षमा उनी लामो समय तत्कालीन महासचिव माधवकुमार नेपालनिकट थिए । उनलाई नेपालले प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकारसमेत बनाएका थिए । एमाले-माओवादी एकता भई नेकपा बनेपछि उनी पुष्पकमल दाहाल-माधवकुमार नेपाल समूहमै थिए । तर सर्वोच्च अदालतको आदेशले दुई पार्टी यथावत रूपमै फर्किएपछि भने उनी ओलीतिरकै लागेका थिए । 

उनी २०६१ सालमै श्रममन्त्री बनेका थिए । कुनै समय दृष्टि, बुधबार, छलफल साप्ताहिकलगायतका पत्रिकामा सम्पादनअनुभवसमेत बटुलेका पन्त २०५२ मा पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको प्रेस सल्लाहकारसमेत बनेका थिए । 

कान्तिपुर

Link copied successfully