भृकुटीमण्डपको पार्टी महाधिवेशन स्थलमा १६ स्थानमा उम्मेदवारी दर्ताको व्यवस्था गरिएको छ।
काठमाडौँ — नेकपा एमालेको महाधिवेशनमा विभिन्न पदका प्रत्याशीहरूले धमाधम उम्मेदवारी दर्ता गरिरहेका छन्। निर्वाचन आयोगका अनुसार अहिलेसम्म २२ सय ६२ प्रतिनिधि छान्नका लागि १३ सय फारम वितरण भइसकेको छ र यो प्रक्रिया जारी छ।
निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलका अनुसार भृकुटीमण्डपको पार्टी महाधिवेशन स्थलमा १६ स्थानमा उम्मेदवारी दर्ताको व्यवस्था गरिएको छ। उनले बताए, विभिन्न क्लस्टरबाट प्यानल तथा व्यक्तिगत रूपमा उम्मेदवारी दर्ता भइरहेका छन्।
अध्यक्ष पदका लागि केपी शर्मा ओली र इश्वर पोखरेलले पनि उम्मेदवारी दर्ता गरिसकेका छन्।
संशोधित कार्यतालिकाअनुसार दरखास्त दर्ता सम्पन्न भएपछि आजै दिउँसो ४ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ । प्रारम्भिक नामावलीप्रति उजुरी दिने समय दिउँसो ४ देखि ४:३० बजेसम्म तोकिएको छ ।
उजुरी उपर छानबिन र निर्णय साँझ ५ बजेसम्म सम्पन्न गरिनेछ भने उम्मेदवारको नाम फिर्ता साँझ ५ देखि ६ बजेसम्म गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारको अन्तिम नामावली बेलुका ६:३० बजेसम्म प्रकाशन गरिनेछ ।
