भूमि विधेयकमा नसघाउँदा सरकारले गौर घटना उचाल्यो : सचिव मण्डल

जसपा नेपालका सचिव सुरेशकुमार मण्डल भन्छन् : ‘सरकारले जस्तोसुकै हत्कण्डा अपनाए पनि हामी हाम्रो अडानबाट दायाँबायाँ हुँदैनौं ।’

भाद्र १७, २०८२

विनय आजाद

The government raised the Gaur incident when it was not included in the land bill: Secretary Mandal

सिरहा — जनता समाजवादी पार्टी, नेपालका सचिव सुरेशकुमार मण्डलले आफ्नो पार्टीले सरकारलाई भूमि विधेयकमा साथ नदिँदा गौर घटना उचालिएको आरोप लगाएका छन् । सिरहाको मिर्चैयामा मंगलबार आयोजित प्रेस मञ्च नेपालको मधेश प्रदेश अधिवेशनमा सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

सरकारले दलाल र विचौलियाको स्वार्थमा भूमि विधेयक ल्याएको र यसमा साथ नदिँदा तर्साउनका निम्ति गौर घटनाको अस्त्र प्रयोग गरिएको आरोप उनको छ । ‘सरकारलाई विचौलियाको सेवा गर्नुछ, हामीले स्वीकार गरेनौं, सरकारलाई दिएको समर्थन फिर्ता लियौं,’ उनले भने, ‘तर, सरकारले हामीले तर्साउन गौर घटनाको अस्त्र प्रयोग गर्यो ।’

आफ्नो पार्टीको अडान देश तथा जनताको पक्षमा रहेको भन्दै अहिलेकै अवस्थामा कुनै पनि हालतमा यो विधेयक स्वीकार गर्न नसकिने उनले स्पष्ट पारे । ‘हामी आन्दोलनकारी हौं,’ उनले भने, ‘सरकारले जस्तोसुकै हत्कण्डा अपनाए पनि हामी हाम्रो अडानबाट दायाँबायाँ हुँदैनौं ।’

गौर घटना दुःखद् भएको र घटना भएको दिन आफ्नो पार्टीका अध्यक्ष उपेन्द्र यादव काठमाडौंमा एक कार्यक्रममा रहेको दाबी उनले गरे । यस्तै, मधेश आन्दोलनले मुलुकलाई परिवर्तनको बाटोमा डोर्याएको भन्दै यसलाई अपराधिरकण गर्न खोजिएकोमा उनले दुःख व्यक्त गरे ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully