गौर हत्याकाण्डका घाइते त्रिभुवन, उनकै रिटले खुल्यो अनुसन्धानको बाटो

घाइते ४२ जनामध्येकै एक हुन्, त्रिभुवन साह । घटनाको सत्यतथ्य छानबिनका लागि आफू १८ वर्षसम्म काठमाडौं र जिल्लाका अड्डा धाएको उनी सुनाउँछन् ।

भाद्र ६, २०८२

शिव पुरी

Tribhuvan, who was injured in the Gaur massacre, opened the way for investigation with his writ

What you should know

रौतहट — रौतहट सदरमुकाम गौरको राइसमिल मैदानका दुईतिर धमाधम मञ्च तयार हुन थाले । उत्तरतिर माओवादी र दक्षिणतर्फ मधेशी जनअधिकार फोरमका नेता-कार्यकर्ता मञ्च निर्माणमा जुटिरहेका थिए । फोरमको मञ्चमा अलि सजिसजावट देखिन्थ्यो भने माओवादीको सामान्य । 

२०६३ चैत ७ को अपराह्न दुवै पार्टीले सभाका लागि मानिस भेला गराउन थाले । हातमा बाँसको लठ्ठी बोकेका फोरमका कार्यकर्ताको जुलुस बिहान ११ बजे नगर परिक्रमा गरेर कार्यक्रमस्थल पुगेको थियो । माओवादीले पनि दिउँसो २ बजे नगर परिक्रमा र र्‍याली सुरु गरेको थियो । नगर परिक्रमा सकेर मैदान प्रवेश गरेको माओवादी आफ्नो मञ्च भत्किएको देखेपछि आक्रामक बन्यो र फोरमतर्फ जाइलाग्यो । दुवैबीच भीषण झडप भयो । यही झडपमा ५ महिलासहित २७ माओवादीको ज्यान गयो । घाइते ४२ जनामध्येकै एक हुन्, त्रिभुवन साह । 

बौधीमाई नगरपालिका–८ घर भएका ५० वर्षीय साह अहिले राम्ररी एकठाउँमा उठबस गर्न सक्दैनन् । उनको ढाड र खुट्टामा चोट छ । त्यस दिनको झडपमा उनीमाथि कैयौंपटक बाँसको फराठा बर्सियो । कुदेरै ज्यान जोगाए । त्यही रफ्तारमा सिधै गौर अस्पताल पुगे । त्यहाँ उनको उपचार भयो । आँखैअगाडि साथीहरु ढलेको देख्दा आफू पनि बाँच्दिन कि भन्ने लागेको साह सुनाउँछन् । ‘त्यो कहालीलाग्दो घटना म सम्झन चाहन्नँ,’ उनले भने, ‘१८ वर्षपछि बल्ल न्यायको आशा जगाएको छ ।’ 

सर्वोच्च अदालतले जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवसहित गौर हत्याकाण्डमा जाहेरी दर्ता भएका व्यक्तिहरुमाथि छानबिन अघि बढाउन परमादेश जारी गरेपछि साहमा आशा पलाएको हो । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले गत सोमबार परमादेश दिएको हो । सर्वोच्च अदालतमा रिट दर्ता गर्ने उनै साह हुन् । 

घटनाको सत्यतथ्य छानबिनका लागि आफूले डेढ दशक अनवरत काठमाडौं र जिल्ला धाएको उनी सुनाउँछन् । अहिले पनि साह त्रिवि शिक्षण अस्पताल र र नर्भिक अस्पतालमा उपचार गराइरहेका छन् । 

Tribhuvan, who was injured in the Gaur massacre, opened the way for investigation with his writ

घटनापछि अनुसन्धानको नाममा 'भद्दा मजाक' भएको देखेपछि न्यायका लागि २०६४ सालदेखि निरन्तर काठमाडौं र गृहजिल्ला रौतहट धाएको साहले बताए । 'प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र, धर्ना जुलुस र काठमाडौंमा प्रधानमन्त्री, गृहमन्त्रीलाई गौर घटनाको सत्यतथ्य छानबिनका लागि ज्ञापनपत्र बुझाउन दौडधुप गरेँ । यहीबीच लाखौं ऋण लाग्यो,' उनी सुनाउँछन्, 'यति ठूलो घटनाको अनुसन्धान गर्नुपर्छ भन्ने राज्य पक्षले बुझ्ने कुरा हो । जिल्ला प्रहरीले जाहेरी दर्ता गरेर चुप बसेको देख्दा आश्चर्य लाग्छ ।'

प्रहरीले माथिको आदेश छैन भनेर बेइमानी गरिरहे पनि न्यायालयबाट एक दिन छानबिनको आदेश हुनेमा उनी ढुक्क थिए । गौर हत्याकाण्डपछि जिल्ला प्रहरीमा २४ जना प्रमुख (एसपी) फेरिएका छन् । तर उनीहरुले घटनामा संलग्न भनेर कर्तव्य ज्यानमुद्दा दर्ता भएको फाइलको अनुसन्धानको नामै लिन चाहेनन् । अधिकांश एसपीको एउटै स्वर थियो- माथिको आदेश छैन । 

Tribhuvan, who was injured in the Gaur massacre, opened the way for investigation with his writ

२०६० सालमा भूमिगत अवस्थामा सुरक्षाफौजले साहलाई रौतहटको सिर्सियाबाट पक्राउ गरेको थियो । उनलाई गौर हिरासतमा राखेका बेला बुवा मनोज साहको निधन भयो । उनले २०५६ सालमै आमा जमुनीदेवीलाई गुमाइसकेका छन् । आफू टुहुरो भएको र सारा जीवन राजनीतिमा व्यतीत गरेको अवस्थामा घाइते भएर न्याय माग्दा अवस्था नाजुक बन्दै गएको उनले सुनाए । आर्थिक अवस्था कमजोर रहेका साहकी एक छोरी छन् ।

यही घटनामा मारिएका रौतहटको साबिक सरमुजवा –६ का ४० वर्षीय नरधेश्वर उपाध्यायलाई न्याय दिलाउन श्रीमती रुपसागर उपाध्यायले साहलाई साथ दिइरहेकी छन् । उनी गौर हत्याकाण्ड संघर्ष समितिको संयोजकसमेत हुन् । रुपसागरले ढिलै भए पनि अनुसन्धानको ढोका बल्ल खोलेको बताइन् ।  

राजनीतिक दउपेचमा दब्दै आएको यो घटनाको छानबिन प्रतिवेदन बाहिर ल्याउन र आरोपितमाथि अनुसन्धान गर्न सर्वोच्च अदालतले परमादेश दिएपछि यतिखेर साहलगायत घटनाका घाइते र मृतकका परिवारमा झिनो आशा पलाएको छ । घटनामा तत्कालीन फोरम (हाल जसपा नेपाल) का अध्यक्ष उपेन्द्र यादवसहित १३० जनामाथि अनुसन्धान हुने भएको छ ।  

Tribhuvan, who was injured in the Gaur massacre, opened the way for investigation with his writ

सत्ता र शक्तिको प्रभावमा घटनाको अनुसन्धान नभएको भन्दै मृतक परिवारका तर्फबाट रुपसागर उपाध्याय, रुपैया खातुन, विक्रम पटेल र घाइते त्रिभुवन साह २०८० जेठ १८ गते न्याय खोज्दै सर्वोच्च पुगेका थिए । अब पीडितले दिएको जाहेरी तथा राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनअनुसार उनीहरुमाथि अनुसन्धान अघि बढ्नेछ । 

गौर हत्याकाण्डमा मृतकका परिवारले राज्यबाट १० लाखका दरले क्षतिपूर्ति पाएका छन् । तर अनुसन्धान नभएको र दोषीमाथि कारबाही नभएको भन्दै परिवारजन सर्वोच्च पुगेका हुन् । घटनामा संलग्न भन्दै १ सय १३ जनाविरुद्ध  कारबाहीको माग राख्दै जिल्ला प्रहरीमा दिएको जाहेरी ५१ दिनपछि २८ वैशाख २०६४ मा दर्ता भएको थियो । जिल्ला प्रहरीले कर्तव्य ज्यानमुद्दामा जाहेरी दर्ता गरेर माथिको आदेश छैन भन्दै १८ वर्षदेखि त्यत्तिकै थन्काएर राखेको छ । 

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully